काठमाण्डौं, १७ असोज । काठमाडौं जिल्लाको किर्तिपुरका विनोद खड्गीले हनीट्रयापमा परेर आफ्नो ज्यान गुमाएको पुष्टि भएको छ । २१ वर्षीया युवतीले उनलाई ट्रयापमा पारेकी थिइन् ।
खड्गीको शव यही असोज ६ गते काभ्रेको पाँचखाल नगरपालिका–८ को ४९ किलोमा फेला परेको थियो । काभ्रे प्रहरीको अनुसन्धानले विनोदको भक्तपुरमा हत्या भएको र काभ्रेमा ल्याएर शव फालिएको पत्ता लगाएको छ । उनको अपहरण र हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न दुईजना भारतीय नागरिक फरार रहेका छन् ।
खड्गीको हत्याको मुख्य योजनाकार थिइन् सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएकी २१ वर्षीया मनिषा महत । उनी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ मा डेरा लिएर बस्थिन् त्यही खड्गीको हत्या भएको थियो ।
प्रहरीका अनुसार मनिषा पटके अपराधी भएको देखिएको छैन । तर, उनले हालसालै भारतमा पनि हनीट्रयापमा पारी एक व्यक्तिसँग १ लाख ५० हजार रुपैयाँ लिएर नेपाल आएको पाइएको छ ।
यसरी भयो हत्या :
करिव ३ महिना अगाडी मनिषा, भारतीय भन्ने बुझिएका अन्सु र शिवम भारतको ग्रेटर नोइडा भन्ने ठाउँमा तुसार भन्ने व्यक्तिलाई कुटपिट गरी फिरौती रकम १ लाख ५० हजार लिई नेपाल फर्किएका थिए । सो क्रममा मनिषामार्फत नेपालमा पनि त्यसरी नै कुनै धनी व्यक्तिलाई यौन कुण्ठामा पारी पैसा–रकम लुट्ने योजना बनेको थियो ।
यही असोज ४ गते साँझ मनिषाको महतको भक्तपुर स्थित राधेराधेमा रहेको डेरा कोठामा मनिषा, अन्सु, शिवम, सरिन र रिकेश मिली ‘भोली एक जना पैसावाला गाडी भएको व्यवसायी आउँछ सुरुमा रक्सी खुवाउने, तत्पश्चात खाना खाई सकेपछि कुटपिट गरी हातखुट्टा बाँधेर डर त्रास देखाई फिरौती रकम माग्ने’ भनी योजना बनाइएको थियो ।
भोलीपल्ट भारतीय नागरिक अन्सु खानले बानेश्वरमा बागलुङको गलकोट ७ घर भई कोटेश्वरमा बस्ने प्रतिक गौतमलाई भेटी योजना’bout जानकारी दिन्छन् र दुवै जना अन्सु खानको घरमा पुग्छन् । यसबीचमा अन्सु खानले महोत्तरी घर भई कौशलटार बस्ने आशिष पासवानको फलफुल पसलमा गई योजना’bout जानकारी दिई मनिषाको डेरा जाने हिमालय गेटमा भेला हुने योजना बनाएका थिए ।
असोज ५ गते नै मनिषाले आफ्नो नागरिकताको प्रतिलिपी बनाउन जान सहयोग गर्नु पर्यो भन्दै बोलाएपछि खड्गी मनिषाको डेरामा पुगेका थिए । मनिषाको कोठामा पुगेका विनोदले रक्सी र अण्डा खाइरहेको बेला मनिषा खुर्सानी किन्ने बहानामा बाहिर निस्केर अन्य व्यक्तिलाई बोलाएको अनुसन्धानबाट खुलेको छ ।
त्यसपछि हिमालय गेटमा जम्मा भएका अन्सु, शिवम, सरिन, रिकेश, प्रतिक र आशिष मनिषाको कोठामा पुगेर विनोदमाथि आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका विनोदसँग पैसाको बार्गेनिङ त्यहीँ सुरु भएको थियो । सुरुमा सबैले ३० लाख माग्ने कुरा भएकोमा मनिषाले ३० लाख बढी भयो १० लाखसम्म मागौ भनेर माग गर्छिन् ।
विनोदले मसँग त्यति पैसा छैन ५ लाखसम्म हुन्छ भने म दिन तयार छु भनेपछि विनोदले आफ्नै मोबाइलबाट फोन गर्न खोज्दा उनको मोबाइल ह्याङ भएपछि अन्सुको मोबाइलमा सिम हालेर विनोदको बधशालामा काम गर्ने कर्मचारी प्रदिप थापा मगरलाई फोन गरिएको थियो ।
फोनमा विनोदले ‘मलाई तुरुन्त ५ लाख रुपैंया चाहियो एक जना मानिस भक्तपुर स्थित राधेराधे भाटभटिनी अगाडी आरवनफाइभ मोटरसाईकलमा आउने व्यक्तिलाई सो पैसा दिनु’ भनेका थिए । साँझ सवा ५ बजेतिर प्रदिपले विनोदलाई फोन गरेर कन्फर्म गरी आशिष पासवानलाई पैसा बुझाएका थिए ।
१५–२० मिनेटमा आशिष पैसा लिई मनिसाको कोठामा आई अन्सुलाई पैसा दिएपछि उनीहरुले विनोदलाई मार्ने योजना बनाएर राती १० बजे सुर्यविनायक गणेश मन्दिर हुँदै गुन्डु तर्फ जाने पक्की सडक खण्डमा लगेर ढुङ्गाले छातिमा हानी हत्या गरेको र साँगा धुलिखेल हुँदै पाँचखाल स्थित ४९ किलो स्थित अरनिको राजमार्गबाट ८ मिटर तल झाडीमा लाश फालेका थिए ।
हत्याको भोलीपल्ट असोज ६ गते विभिन्न स्थानमा भेटी अन्सुले मनिसालाई १ लाख, प्रतिकलाई १० हजार आशिषलाई २० हजार र अन्सुले आफ्नो दिदी रोश्नी महत समेतलाई ५० हजार गरी जम्मा १ लाख ८० हजार दिएका थिए ।
घटनापछि अनुसन्धानमा जुटेको काभ्रे प्रहरीले मनिषासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाण्डौ शंकरापुर नगरपालिका–५ बस्ने वर्ष २२ को सरिन घिमिरे, महोत्तरी गौशला नगरपालिका–६ घर भई हाल जिल्ला भक्तपुर कौशलटार बस्ने वर्ष २० को आशिष पासवान, काठमाडौ शंखरापुर नगरपालिका–५ बस्ने वर्ष २१ को रिकेश पौडेल र बागलुङ गलकोट नगरपालिका–७ घर भई हाल जिल्ला काठमाडौं कोटेश्वर महादेवस्थान बस्ने वर्ष १९ को प्रतिक गौतम रहेका छन् ।
उनीहरुलाई जिल्ला अदालत काभ्रेमा पटकपटक गरी १७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन् ।राजधानी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया