काठमाण्डौंः काठमाण्डौंका लागि भोजपुरबाट सोमबार मध्याह्न १२ बजे गाडी चढेका गगन तामाङ मंगलबार साढे ४ बजे झ्याप्ले खोलाको पहिरोमा थिए । ट्राफिक जामका कारण उनी सवार गाडी रोकिएको थियो । निन्याउरो अनुहार लगाएर उनी घरि पहिरो झरेको पहरो नियाल्थे त घरि हातमा बाँधेको घडी हेर्थे । केहीबेरमा गाडीको झ्यालबाट आधा शरीर निकालेर भने, ‘कति बेर जाममा बस्नु ! पहिरो खस्ने पो हो कि !’
तामाङ चढेको गाडी करिब १५ मिनेट रोकिएर काठमाडौंतर्फ हुइँकियो । ट्राफिक जाम भएको ठाउँ त्यही हो, जहाँ शनिबार बिहान खसेको पहिरोले दुई वटा माइक्रोबस र एउटा बस पुरेको थियो । उक्त दुर्घटनामा ३५ यात्रुको मृत्यु भयो । अहिले यस खण्डको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । यही सडक भएर मुग्लिनतर्फ अघि बढ्दा जताततै पहिरो खसेको भेटिन्छ । नागढुंगादेखि मलेखुसम्म सानाठूला ५ सयभन्दा बढी स्थानमा पहिरो छ ।
सवारी आवागमन खुलाउने गरी सडकको पहिरो पन्छाइएको छ । कतिपय ठाउँमा पहिरो पूरै नपन्छाइएकाले सडक साँघुरिएको छ । नागढुंगा सुरुङको मुखनेर पुगेपछि भने पहिरोका कारण सहजै दुईतर्फी सवारीसाधन गुडाउन कष्ट छ । कतै लेदो माटोले सडक ढाकेको छ, कतै धूलैधूलो छ । पक्की पुलहरूमै दुईतर्फी यातायात सञ्चालनमा समस्या छ । नागढुंगादेखि मुग्लिनसम्मै सडक अस्तव्यस्त छ ।
ट्राफिक जामको सास्ती उस्तै छ । कतै सडकको लेन मिचेर चलाइनाले त कतै बीचैमा बिग्रिने सवारीसाधनले ट्राफिक जाम थपेको छ । जामले चालक र यात्रु हैरान देखिन्छन् । कुन बेला कहाँ जाम हुने हो, पत्तो हुँदैन ।
नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड भासिएपछि वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौं आउनुपरेको दाङका चालक हेमराज उप्रेतीले सुनाए । ‘दाउन्नेको बाटो बन्द भएपछि स्याङ्जा, पोखरा हुँदै यात्रु बोकेर आएको हुँ,’ लप्सीखोला, धादिङमा मंगलबार साँझ सवा ५ बजे भेटिएका उनले भने ।
गत बिहीबार साँझदेखि नागढुंगा–मुग्लिन खण्डमा ट्राफिक जाम नभएको दिन छैन । लप्सीखोलाका होटल व्यवसायी शिव दुवाडीका अनुसार केही दिनअघि पोखराबाट हिँडेको गाडी दुई दिनमा आइपुगेको थियो । ‘अझै सडक राम्रोसँग खुलिसकेको छैन,’ उनले भने । स्तरोन्नतिका नाममा जथाभावी सडक भत्काइएपछि पहिरो खस्ने र ट्राफिक जाम हुने समस्या बढेको दुवाडीले बताए । बाढीपहिरोका कारण बीपी राजमार्ग, भीमफेदी–सिस्नेरी–दक्षिणकाली, कान्ति राजमार्ग बन्द भएपछि नागढुंगा–मुग्लिन सडकमा सवारी चाप बढेको छ । दिनमा २० हजारभन्दा बढी सवारीसाधन यो खण्ड भएर ओहोरदोहोर गर्छन् । मालवाहक, कन्टेनर, ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन पनि यही खण्ड भएर उपत्यका भित्रिन्छन् ।
सवारी चाप उच्च भए पनि त्यसअनुसार सडक पूर्वाधारमा सरकारले ध्यान दिन सकेको छैन । काठमाडौं पुग्न सडक यात्रा सधैं सास्तीपूर्ण हुने गरेको सल्यानबाट काठमाडौं आएका विशाल केसीले बताए । ‘सदरमुकामबाट मंगलबार दिउँसो ३ बजे हिँडेको गाडी बल्ल (बुधबार बिहान १० बजे) फिस्लिङको पहिरोमा आइपुगेको छ,’ उनले भने, ‘सडकको समस्या नभए यतिबेलासम्म काठमाडौं पुगिसकिन्थ्यो ।’ उनका अनुसार गाडी नारायणगढ–बुटवल सडकखण्डको दाउन्नेमा मंगलबार राति २ बजे नै आइपुगेको थियो तर बाटो बिहान ५ बजे मात्र खुल्यो । ‘हिजोआज कहिल्यै समयमा काठमाडौं पुग्न सकिएको छैन,’ उनले भने, ‘सधैं कष्टको यात्रा छ ।’ झ्याप्ले खोलाको पहिरोमा परी मृत्यु भएका २७ वर्षीय सुकबहादुर गुरुङको शव उनको गाउँ गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पुर्याउन झन्डै १३ घण्टा लाग्यो ।
राजमार्गमा खसेको पहिरो सडक विभागसँगको समन्वयमा पन्छाउने काम भइरहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका वरिष्ठ सई अशोक बस्नेतले बताए । ‘लेन मिचेर सवारीसाधन चलाउँदा जाम बढी भएको छ, लेन मिच्नेलाई पनि सम्झाउनेबुझाउने गरेका छौं,’ उनले भने । उनका अनुसार कहिले हिलो र लेदोसहितको त कहिले सुक्खा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ । पहिरो खस्नासाथ दुईतर्फी यातायात बन्द भइहाल्छ ।
जल तथा मौसम विज्ञान विभागले भारी र अति भारी मनसुनी वर्षा हुने पूर्वानुमान गरेका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ११ र १२ मा हिमाली र पहाडी जिल्लामा रात्रिकालीन बस नचलाउन सूचना जारी गरे पनि सतर्कता नअपनाइएको गुनासो बढेपछि गृह मन्त्रालयले गत सोमबार धादिङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख हेरफेर गरेको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई मन्त्रालय तानेर उनको ठाउँमा सुमन घिमिरेलाई पठाइएको छ । जिल्ला प्रहरी प्रमुख गौतम केसीलाई प्रहरी प्रधान कार्यालय तानेर उनको ठाउँमा दीपेन्द्र शाहीलाई पठाइएको छ ।
प्रजिअ र प्रहरी प्रमुख फेर्ने गृहले अस्तव्यस्त बनिरहेको नागढुंगा–मुग्लिन सडकलाई सहज बनाउन पर्याप्त प्रहरी भने खटाउन सकेको छैन । पहिरो खस्नासाथ पन्छाउने, सवारीसाधनलाई लेन मिच्न नदिने, सवारीसाधन बिग्रिनासाथ निकाल्ने कार्यमा ढिला हुने गरेको यात्रु तथा सवारी चालकको गुनासो छ । वैकल्पिक मार्गका रूपमा गल्छीबाट विदुर गएर टोखा हुँदै काठमाडौं आउन मिल्छ । धार्के–सीतापाइला हुँदै काठमाडौं निस्कन पनि मिल्छ । तर यी सडकमा ठूला सवारीसाधन चलाउन गाह्रो हुन्छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी घिमिरेले सडक व्यवस्थित गर्न प्रयास भइरहेको बताए । ‘स्थानीय प्रशासनको उपस्थिति कम छैन । दिनरात लागेर सडक खुलाइरहेका छौं,’ उनले भने, ‘थप प्रहरी परिचालन गरेका छौं ।’
नागढुंगा–मुग्लिन सडक योजना, पूर्वी खण्डका योजना प्रमुख केशवप्रसाद ओझाले दसैंअघि सवारीसाधन राम्ररी चल्न सक्ने अवस्थामा सडक नपुग्ने बताए । ‘कतिपय ठाउँमा झरेको पहिरो उठाएर फाल्न समस्या छ । सडक स्तरोन्नतिकै क्रममा छ,’ उनले भने, ‘दसैंपछि सडक कालोपत्र गर्न थालिन्छ ।’ उनले सवारी चाप धेरै भएकाले ट्राफिक व्यवस्थापन गरेर काम गर्नुपर्ने बाध्यता रहेको बताए । ‘अहिले धूलो उड्ने समस्या छ, त्यसमा ट्यांकरबाट पानी हाल्ने र हिलो भएको ठाउँमा ग्राभेल राखेर सडक सहज बनाउने काम गरिरहेका छौं ।’ ट्राफिक जाम खुलाउन सबै स्रोतसाधन परिचालन गरिएको ओझाले दाबी गरे । ‘१५/२० ठाउँमा मेसिन तयारी अवस्थामा राखेका छौं,’ उनले भने ।
नागढुंगा–मलेखु सडकअन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रमा फुर्के खोला, झ्याप्ले खोला, १३ किमि, चारकिलो, नागढुंगा सुरुङको मुख, खत्रीपौवा आसपास हुन् । ‘प्रारम्भिक विवरणअनुसार ५ सयभन्दा बढी ठाउँमा पहिरो खस्ने र सडक भासिने समस्या छ,’ ओझाले भने ।
कृष्णभीरमा सडक केही भासिएकाले एकतर्फी यातायात चलाइएको नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले बताए । ‘करिब ५० मिटर सडक भासिएको छ,’ उनले भने । दसैंअघिसम्म यस खण्डमा दुईतर्फी यातायात चल्नेछैन ।
पहिरो बढी खस्ने ठाउँमा रातमाटे, शीतलबजार नजिक, मलिंगा, विशाल बजार नजिक, ज्यामिरेघाट, जवाङ खोला, मौवा खोला र घोप्टेभीर रहेका छन् । यी ठाउँमा पहिरो पन्छाउन एक दर्जन मात्र मेसिन व्यवस्थापन गरिएको छ, जुन पर्याप्त छैन ।कान्तिपुर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया