असार २८, २०८२ शनिबार July 12, 2025

छिन्नमस्तामा तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिता शुरु

आठ वटा टिमको सहभागिता रहेको प्रतियोगिता आगामी असोज २६ गतेसम्म सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सप्तरीको छिन्नमस्ता गाउँपालिकामा तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिता शुरु भएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ स्थित सखडा बजारमा शनिबारदेखि शुरु भएको प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले संयुक्त रुपमा रिबन काटेर तथा भलिबल उचालेर उद्घाटन गरेका छन् ।

त्यस अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी मंग्रातीले खेलकुद पनि विकासको अङ्ग भएकाले सबैले यसलाई प्राथमिकता दिनुपर्ने बताए । युवालाई खेलकुदमा सहभागी गराइराख्नुपर्ने बताउँदै उनले यसले शारीरिक र मानसिक दुवै स्वस्थ रहने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले आफू निर्वाचित भएर आएपछि प्रत्येक बर्ष यो प्रतियोगिताको आयोजना गर्न थालिएको बताउनुभयो । उहाँले खेलकुदको विकासलाई पनि अन्य विकास सँगसँगै अघि बढाउन गाउँपालिका लागिपरेको बताउँदै यसमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले भलिबल सँगसँगै अन्य खेलको प्रतियोगिता आयोजना गर्न पनि सुझाव दिनुभयो ।

गाउँपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रममा छिन्नमस्ता मन्दिरका पिठाधीश महाकान्त ठाकुर, मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश झासहितकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आठ वटा टिमको सहभागिता रहेको प्रतियोगिता आगामी असोज २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजयी टिमलाई रु १ लाख एक हजार र उप विजेता टिमलाई रु ५१ हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाण पत्र वितरण गरिने आयोजक छिन्नमस्ता गाउँपालिकाले जनाएको छ ।

उद्घाटन खेलमा प्रहरी तालिम केन्द्र राजबिराज र छिन्नमस्ताबिच भएको प्रतिस्पर्धामा प्रहरी तालिम केन्द्र विजयी भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया