असार २८, २०८२ शनिबार July 12, 2025

महिला साफ च्याम्पियनसिपमा भाग लिन बङ्गलादेश र श्रीलङ्का टोली काठमाडौँमा

दुवै टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले गरे स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज २९ गते । कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन बङ्गलादेश र श्रीलङ्का टोली मङ्गलबार काठमाडौँ आइपुगेको छ । दुवै टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गरे ।

च्याम्पियनसिपमा भाग लिन यसअघि पाकिस्तान टोली आइतबार र माल्दिभ्स सोमबार काठमाडौँ आइपुगेको छ । एन्फाका अनुसार भारत र भुटान टोली बुधबार आउने बताइएको छ । दक्षिण एसियाका सात देशबिच हुने प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको पाकिस्तान र भारतबिच प्रतिस्पर्धा हुनेछ ।

यस समूहमा अर्को टोली बङ्गलादेश रहेको छ । समूह ‘बी’ मा नेपालसहित माल्दिभ्स, भुटान र श्रीलङ्का रहेको छ । नेपालले कात्तिक २ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

नेपालले साफका लागि  एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय खेलाडी टोली घोषणा गरिसकेको छ । टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेका तथा देश बाहिर रहेका सावित्री भण्डारी ‘साम्बा’ र रेखा पौडेललाई समेट्दै टोली घोषणा गर्नुभएको हो ।

घरेलु मैदानमा हुने साफको उपाधि चुम्ने लक्ष्य राखेको नेपाली टोलीमा कप्तान एन्जिलासँगै अन्जना रानामगर, उषा नाथ, गीता राना, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्री भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ, अनिता केसी र सजनी थोकर हुनुहुन्छ ।

नेपालले लगातार तेस्रो पटक महिला साफ आयोजना गर्न लागेको हो । नेपालले यसअघि सन् २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडौँमा महिला साफआयोजना गरेको थियो । यसअघिका ६ संस्करणमा पाँच पटक फाइनल पुगेको नेपालले उपाधि भने जित्न सकेको छैन । सन् २०१० देखि सुरु भएको महिला साफमा नेपाल सन् २०१६ को चौथो संस्करण बाहेक सबैमा फाइनल पुगेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया