असार २३, २०८२ सोमबार July 7, 2025

पत्रकारका लागि आपतकालीन राहत कोषको स्थापना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रमजीवी पत्रकारलाई आपतकालीन राहतका लागि नेपाल पत्रकार महासंघले पत्रकार आपतकालीन राहत कोषको स्थापना गर्ने निर्णय गरेको छ ।

कोभिड- १९ सङ्क्रमणका कारण जागिर गुमाएका तथा बेतलवी विदामा बसेका पत्रकारको जीवनयापनमा समस्या भएकोभन्दै महासंघले सो आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको हो ।

पत्रकार महासङ्घका विभिन्न शाखा, प्रदेश समितिहरू र केन्द्रीय समितिको पहलमा समस्यामा परेका पत्रकारलाई राहत तथा उपचार खर्च उपलब्ध गराउन सो कोषको स्थापना गर्न लागिएको महासंघका महासचिव रमेश विष्टले बताए ।

“पत्रकारको दैनिक जीवनयापनमा समस्याका कारण पत्रकार पेसाबाटै पलायन हुनुपर्ने बाध्यात्मक अवस्था आउन नदिन अति सङ्कटमा परेका श्रमजीवी पत्रकारलाई राहतका लागि महासङ्घ केन्द्रीय कार्यालयले केन्द्रीय समिति मातहत रहने गरी पत्रकार आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय गरेको छ” महासचिव विष्टले बताए ।

महासंघले बुधबार जारी गरेको विज्ञप्तिअनुसार महासंघ केन्द्रीय समितिबाट ३० लाख रुपियाँ जम्मा गरेर कोष सुरुआत गरेको छ । कोषमा महासंघका बेलायत, युरोप, जापान, युएई, कोरिया, कुवेत, भारत, कतार शाखा तथा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) र नेपालिज जर्नालिष्ट एशोसिएसन अष्ट्रेलियाबाट रकम उपलब्ध गराउने प्रतिबद्धता आएको महासंघले जनाएको छ ।

त्यस्तै, महासंघका प्रदेश र जिल्ला शाखा, एसोसिएट र प्रतिष्ठानको पहलमा समेत कोषमा रकम जम्मा गरिने महासंघले जनाएको छ । कोषमा जम्मा भएको रकम नमासिने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्याबाट पीडित पत्रकारलाई राहत उपलब्ध गराइने महासङ्घले जनाएको छ ।

कोष सञ्चालन निर्देशिका र मापदण्ड तयार गर्ने निर्णय गरिएको जानकारी गराउँदै महासंघ इच्छुक सङ्घ, संस्था र व्यक्तिलाई समेत आह्वान गरिएको महासचिव विष्टले बताए ।
उनकाअनुसार कोषमा रकम जम्मा गर्नेहरूको नाम र जम्मा भएको रकमको विवरण एक महिनापछि सार्वजनिक गरिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया