असार २६, २०८२ बिहिबार July 10, 2025

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

जलवायु परिवर्तन र तापक्रम वृद्धिको कारण डेंगु सार्ने लामखुट्टे सक्रिय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण हुने दर भने अझै घटेको छैन । विगतमा चिसो बढ्न थालेसँगै डेंगु संक्रमण घट्ने गथ्र्यो, तर विगत ३ वर्षयता भने चिसो मौसममा डेंगु संक्रमण दर बढिरहेको देखिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शंकास्पद बिरामी दैनिक १५ देखि २० जना पुग्ने गरेका छन् । चिकित्सकहरूका अनुसार चिसो मौसम सुरु हुँदा पनि डेंगु संक्रमण घटेको छैन । चिसो बढ्दा पनि डेंगुको संक्रमण देखिइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकले पनि देखाँउछ । वर्षा सकिएसँगै लामखुट्टे हुर्कने वातावरण अनुकूल बन्दै जाँदा पछिल्लो समय डेंगु संक्रमण बढिरहेको चिकित्सकहरूको भनाइ छ ।

यस वर्ष पानी पर्न छाडेपछि अक्टोबर महिनामा मात्रै देशभर ४ हजार ३० जना डेंगुबाट प्रभावित भएको तथ्यांकले देखाएको छ । गत वर्ष पनि अक्टोबरमा मात्रै १२ हजार ६ सय ९९ जनालाई डेंगु संक्रमण देखिएको थियो । गत वर्ष नोभेम्बरमा मात्रै डेंगु संक्रमण दर २ हजार ८ सय ५ जनामा देखिएको थियो । यस वर्ष डेंगुको संक्रमण अझै दुई सातासम्म देखिनसक्ने चिकित्सकहरूको भनाइ छ ।

पछिल्लो वर्षको तथ्यांक हेर्दा डेंगु संक्रमण १२ महिना नै देखिएको छ । सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ । तर, पछिल्लो समय यसभन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय रहेको पाइएको छ । जलवायु परिवर्तन र तापक्रम वृद्धिको कारण डेंगु सार्ने लामखुट्टे सक्रिय भएको पाइएको हो ।

जनस्वास्थ्यविद् कृष्णप्रसाद रिजालका अनुसार तराईका जिल्लामा विगतका वर्षमा प्रकोपको रूपमा देखिएको डेंगु संक्रमण घटेको पाइएको थियो । डेंगु संक्रमण गराउने लामखुट्टे ३५ डिग्री सेल्सियस नाघेपछि बाँच्न नसक्ने भएकाले पनि विगतमा गर्मी बढेसँगै संक्रमण दर घटेको थियो । पहाड र हिमालमा भने संक्रमण बढ्नुमा डेंगु गराउने लामखुट्टे १३ डिग्री सेल्सियससम्ममा बाँच्नसक्ने विज्ञको भनाइ छ ।

जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा लामखुट्टे उच्च क्षेत्रमा विस्तार हुने दर बढेको छ । नेपालको हकमा डेंगु गराउने लामखुट्टे २ हजार मिटरसम्म फैलिसकेको छ । एक अध्ययनले न्यूनतम तापक्रम १ डिग्री मात्रै बढ्दा पनि २७ प्रतिशत मलेरिया बढ्ने जनाएको छ । यसै कारण नेपालमा मात्र नभएर विश्वभरि नै लामखुट्टेजन्य रोग महामारी बन्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।

जलवायु परिवर्तनका कारण उच्च स्थानमा फैलिएका लामखुट्टेका कारण मलेरियाको उच्च जोखिम देखिएको जर्ज टाउन युनिभर्सिटी मेडिकल सेन्टरको अध्ययनले निष्कर्ष निकालेको छ । सो विश्वविद्यालयका वैज्ञानिकहरूले उच्च स्थानतिर मलेरिया सार्ने मुख्य भूमिका लामखुट्टेको भएको जनाएका छन् । सो अध्ययनअनुसार अफ्रिकातिर औसतमा प्रत्येक वर्ष ६ दशमलव ५ मिटर (२१) फिटमाथि लामखुट्टे सर्दै गएको छ । त्यसैगरी, भूमध्य रेखाको दक्षिणी भागतिर प्रतिवर्ष ४ दशमलव ७ किलोमिटर सर्दैगएको छ । पछिल्लो ४० वर्षको तथ्यांक हेर्दा १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढीले पहाड र हिमालको तापक्रम बढिरहेको छ ।

यही कारणले ती क्षेत्रमा लामखुट्टेका लागि उपयुक्त वातावरण बनिरहेको छ । नेपालको तापमान सन् १९६८ देखि १९९० को दाँजोमा सन् २०३० मा १ दशमलव ४ डिग्री सेल्सियस, सन् २०६० मा २ दशमलव ८ डिग्री सेल्सियस र सन् २०९० मा ४ दशमलव ७ डिग्री सेल्सियसले वृद्धि हुने वैज्ञानिकहरूको अनुमान छ ।

नेपालमा पहिलोपटक डेंगु संक्रमण सन् २००४ मा चितवनमा फेलापरेको थियो । त्यसपछि बर्सेनि नेपालमा डेंगुका समस्या देखिँदै आएको छ । सन् २००६ मा तराईका नौ जिल्लामा डेंगु संक्रमण फैलिइसकेको थियो । सन् २००६ मा ३२ जनामा संक्रमण देखिएको थियो भने सन् २००७ मा २७ जना, सन् २००८ मा १० जनामा संक्रमण देखिएको थियो । सन् २००९ मा डेंगु सार्ने लामखुट्टेको पहिचान काठमाडौंमा भएको थियो । जसको १ वर्षपछि राजधानीमा एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसपछि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै, सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो । पछिल्लो समय जलवायु परिवर्तनसँगै तापक्रममा वृद्धि हुँदा डेंगुलाई उपयुक्त मौसम बन्न पुगेको र सन् २०२२ यता बाह्रै महिना डेंगु संक्रमण देखिएको छ । सन् २०२२ र २०२३ मा क्रमशः जनवरीमा ११ र १ सय ३३, फेबु्रअरीमा ३ र १ सय ३०, मार्चमा १५ र १ सय ९५, अप्रिलमा १८ र १ सय ५८, मेमा २५ र १ सय ६३ तथा जुनमा ९३ र १ हजार २६ नयाँ केस देखिएको महाशाखाको तथ्यांक छ ।

त्यस्तै, जुलाईमा ७ सय २० र ६ हजार ४ सय ५९, अगस्टमा ३ हजार ७ सय ८ र १४ हजार ५ सय ३४, सेप्टेम्बरमा २७ हजार ५ सय २९ र १३ हजार ९ सय १२, अक्टोबरमा १७ हजार ८ सय ८९ र १२ हजार ६ सय ९९, नोभेम्बरमा ४ हजार २ सय ९० र २ हजार ८ सय ५ तथा डिसेम्बरमा ४ सय ८३ र ५ सय ७६ नयाँ केस देखिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो तथ्यांकनुसार डेंगु संक्रमणको संख्या १९ हजार ५ सय ९९ पुगेको छ । डेंगु संक्रमणबाट हालसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल सबैभन्दा धेरै काठमाडौंमा ३ हजार १ सय ३ जना संक्रमित पुगेका छन् । त्यस्तै, कास्कीमा २ हजार ८ सय ४७, तनहुँमा २ हजार १ सय ७, पर्वतमा १ हजार ५ सय ६२ जनालाई डेंगु संक्रमण भएको छ । चितवनमा ९ सय ७१, ललितपुरमा ८ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३ सय ५५ तथा स्याङ्जामा ३ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार