असार २६, २०८२ बिहिबार July 10, 2025

दल-दलमा सहकारी ठगीको जालो

रकम अपचलनमा पक्राउ पर्ने र फरारमध्ये धेरैजसो राजनीतिक पहुँच भएका व्यक्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा सहकारी ठगी कति भयावह छ भन्ने यसमा संलग्न आरोपितहरू पक्राउ परेको तथ्यांकबाटै प्रस्ट हुन्छ । प्रहरीले करिब एक दशकमा ६ सय ६९ जनालाई पक्राउ गरेको छ भने १ हजार ५ सय ४० जना फरार छन् । रकम अपचलनमा पक्राउ पर्ने र फरारमध्ये धेरैजसो राजनीतिक पहुँच भएका व्यक्ति छन् । तर, पक्राउ परेका सबैजसो पुर्पक्षका लागि जेलमा छन् ।

सहकारी बचत हिनामिनामा पक्राउ पर्ने पछिल्लो व्यक्ति हुन्– पूर्वगृहमन्त्रीसमेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत जीबी राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा ल्याएर हिनामिना गरिएको थियो । गोर्खा मिडियाका अध्यक्ष राई फरार छन् भने सञ्चालक कुमार रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् । त्यस्तै कम्पनीकै तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी एक महिनादेखि कास्की प्रहरीको हिरासतमा छन् ।

जोशीलाई पक्राउ गरेको २६ दिनपछि शुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक तथा गोर्खा मिडिया प्रालिका सञ्चालक कुमार रम्तेल पनि अहिले कास्की कारागारमा छन् । उनले बुटवलको सुप्रिम सहकारीबाट रकम निकालेर लामिछानेका नाममा रहेको कर्जाको किस्तासमेत तिरिदिएका थिए । ‘मैले चिनेका र सहकारीबाट ऋण लिएका रवि लामिछाने पूर्वगृहमन्त्री नै हुन्, उनीबाहेक मैले अरू रवि लामिछाने चिनेको छैन,’ उनले संसदीय समितिलाई दिएको बयानमा भनेका छन् । लामिछाने राजनीतिमा जान गोर्खा मिडियाबाट बिदा भएपछि रम्तेल कम्पनीको सञ्चालकका रूपमा भित्रिएका थिए ।

बचत अपचलनमा पक्राउ परेका सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ हाल भैरहवा कारागारमा छन् । सहकारी छानबिन समितिले उनलाई कारागारबाटै काठमाडौं झिकाएर बयान लिएको थियो । ‘सुप्रिम सहकारीबाट गोर्खा मिडियामा पैसा लग्ने जीबी राई सोही सहकारीको समेत सञ्चालक हुन् र रवि लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री नै हुन्,’ उनले पनि बयानमा भनेका छन् । सुप्रिमबाट मात्रै १ अर्ब ३ करोड ५९ लाख हिनामिना भएको छ ।

लामिछानेको खातामा पैसा पठाउन बैंक पठाइएकी सुप्रिम बचत तथा ऋण सहकारीकी क्यासियर रोशनी गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनलाई रूपन्देही जिल्ला अदालतले २ लाख धरौटीमा छाडेको छ, उनी मुद्दा धाइरहेकी छन् ।

सूर्यदर्शन सहकारी बचत ठगीको आरोपमा कास्की प्रहरीले असोज १३ मा लीला पछाईलाई पनि पक्राउ गरेको छ । ८ वर्षअघि बजार प्रतिनिधिका रूपमा सहकारीमा प्रवेश गरेकी उनका नाममा तीन करोड रुपैयाँ ऋण प्रवाह भएको भेटिएको पोखरा महानगरपालिकाले तयार गरेको अध्ययन प्रतिवेदनमा छ । यद्यपि लामिछानेको जस्तै पछाईले रकम लिँदा पनि कुनै प्रक्रिया पूरा गरिएको छैन, ऋण दिँदा धितो राखिएको छैन, तमसुक पनि गरिएको छैन । तर, सहकारीको बचतबाटै पोखराको तालचोकस्थित हाउजिङमा एउटा र ललितपुरको खुमलटारमा अर्को घर तथा विभिन्न कम्पनीमा सेयर उनका नाममा खरिद गरेको पाइएको छ । पछाई सहकारीमा बजार प्रतिनिधि हुँदा तलब भने आठ हजार रुपैयाँ मात्र थियो ।

सहकारी ठगीकै आरोपमा तीन साताअघि पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । एमालेबाट दुई पटक मेयरमा निर्वाचित उनी इमेल सहकारीको बचत डुबाएर ०८० जेठदेखि फरार थिए । ०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो । नेपाल प्रहरीको अनुरोधमा भारतीय प्रहरीले उनलाई नयाँदिल्लीबाट पक्राउ गरेको थियो ।

बागलुङ र पोखरामा इमेज सहकारी खोलेर उनको समूहले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ । नेपालीसहित ११ जनाविरुद्ध ०८० असार २५ मा सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र वीरगन्जको सानो पाइला सहकारीको जस्तै उदाहरण छ नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारीको पनि । छिपछिपे, सनराइज र नमस्ते सहकारीको बचत गैरकानुनी रूपमा बर्दियाको कृष्णसार रिसोर्टमा लगेर हिनामिना गरिएको थियो । तर, अनुसन्धान गरेको प्रहरीले सहकारी सञ्चालकहरूसँगै रिसोर्टकी सञ्चालक तथा राप्रपा सांसद गीता बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ । पक्राउ पुर्जी जारी भएपछि पाँच महिनादेखि उनी फरार छिन् ।

राप्रपा सांसद बस्नेत र रास्वपा सभापति लामिछानेको विषय उस्तै छ । सहकारीको सदस्य वा बचतकर्ता नरहेको र ऋण लग्न फाराम नभरेको दाबी बस्नेतको छ । प्रहरीले उनले ऋण लिँदा पूरा गर्नुपर्ने कागज बुझाएको भेटाएको छैन । तर पनि उनीविरुद्ध गत १४ वैशाखमा पक्राउ पुर्जी जारी भयो जुन बेला लामिछाने गृहमन्त्री थिए । अदालतले पक्राउ पुर्जी जारी गर्‍यो किनकि सहकारीको पैसा बस्नेत सञ्चालक रहेको रिसोर्टमा लगेर खर्च गरिएको थियो ।

बस्नेत फरार छिन् भने उनका छोरीज्वाइँसमेत रहेका सहकारीका सञ्चालक नगेन्द्रप्रसाद रिमाल पुर्पक्षका लागि चितवन कारागारमा छन् । सहकारी बचत अपचलन छानबिन संसदीय विशेष समितिले काठमाडौं झिकाएर रिमालसँग बयान लिएको थियो । उनले पनि आफ्नी सासू सहकारीमा आबद्ध नरहेको बयान दिएका छन् ।

‘गीतादेवी बस्नेत मेरी सासू हुनुहुन्छ । उहाँ म आबद्ध रहेका तीन वटै सहकारी संस्थाको सेयर सदस्य र बचतकर्ता हुनुहुन्न । उहाँका नाममा ऋण लगानी पनि भएको छैन,’ रिमालले भनेका छन्, ‘सञ्जीवकुमार महतोले बर्दियाको गुलरियामा सञ्चालन गर्ने गरी दर्ता गर्नुभएको कृष्णसार रिसोर्ट प्रालिमा म, गीतादेवी बस्नेत र योगेन्द्र पाण्डे मिलेर सञ्चालन गर्दै आएका छौं, जसमा गीतादेवी बस्नेत अध्यक्ष हुनुहुन्छ ।’

सहकारीको सदस्य, बचतकर्ता वा सञ्चालक नरहे पनि सहकारीको बचत कम्पनीमा लगानी गरेर अपचलन गरेको अभियोगमा बस्नेतविरुद्ध मुद्दा दायर भएको हो । सहकारीको रकम कुनै कम्पनीमा लगानी गर्नु नै गैरकानुनी हो । त्यसैका आधारमा रिसोर्टको अध्यक्ष रहेकी सांसद बस्नेतविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

नवलपरासीको छिपछिपे सहकारीमा २ हजार ३ सय बचतकर्ताको १६ करोड ५८ लाख हिनामिनाको हिसाब खोज्ने क्रममा बस्नेत सञ्चालक रहेको बर्दियाको रिसोर्टमा ९६ लाख ऋण लगानी गरेको खुलेको थियो । त्यस्तै चितवनको सनराइज सहकारीबाट रिमाल, ढुण्डीराज गौतम र कृष्ण ज्ञवालीका नाममा करिब ९ करोड लगेर रिसोर्टमा लगानी भएको छ । त्यस्तै बर्दियाको नमस्ते सहकारीबाट सञ्जीवकुमार महतोका नाममा २५ लाख निकालेर रिसोर्टमा लगानी भएको छ ।

सहकारी मात्र होइन, सिभिल बैंक नै सञ्चालन गरेका पूर्वसांसद इच्छाराज तामाङ डिल्लीबजार कारागारमा छन् । एमालेको पूर्वसांसदसमेत रहेका तामाङले सिभिल सहकारीको करिब ८ अर्ब बचत अपचलन गरेका थिए, सम्पत्ति शुद्धीकरणमा समेत दोषी ठहर भएका उनी अदालतले तोकेको सजाय भुक्तान गरिरहेका छन् ।

काठमाडौंको कुनै बेलाको चर्चित कान्तिपुर सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था) का अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी र सञ्चालक चन्द्रबहादुर (सीबी) लामा अहिले डिल्लीबजार कारागारमा छन् । २०७० को निर्वाचनमा काभ्रेबाट कांग्रेसको उम्मेदवार रहेका सीबी नेतृत्वको सहकारीमा करिब ८ अर्ब रुपैयाँ हिनामिना भएको छ । लामा पशुपति सहकारीको बचत अपचलनमा पनि जोडिएका छन् ।

राष्ट्रिय सहकारी बैंक र आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेती डिल्लीबजार कारागारमा छन् । उनी एमालेको केन्द्रीय सहकारी विभागमा थिए । उनी नेतृत्वको संस्थाबाट बचतकर्ताको ६ अर्ब २६ करोड ८५ लाख बचत अपचलन भएको छ ।

सहकारीको बचत हिनामिना गरेको आरोपमा पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेल कास्की कारागारमा छन् । यो सहकारीबाट बचतकर्ताको १८ करोड दुरुपयोग भएको छ । सहकारीको बचत दुरुपयोग गरेको आरोपमा पोखराको बलिदानी बचत तथा ऋण सहकारी संस्था र ललितपुरको सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ पनि कास्की कारागारमा छन् ।

बचत हिनामिनामा संलग्न भएको आरोपमा पोखराको प्राइम सहकारी अध्यक्ष शंकर कार्की र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रमणि पौडेललाई अदालतले कास्की कारागार पठाएको छ । यो सहकारीबाट बचतकर्ताको ५९ करोड ७२ लाख हिनामिना भएको छ ।

नागरिक विकास सहकारीका अध्यक्ष नुनम सुब्बा ललितपुरको नख्खु जेलमा छन् । तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा र शिवशिखर सहकारी संस्थाकी सञ्चालक गीता शर्मा केन्द्रीय कारागार जगन्नाथ देवलमा छन् । शिवशिखरका बचतकर्ताको ९ अर्ब ५८ करोड ७४ लाख र तुलसी सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ४३ करोड ५४ लाख हिनामिना भएको छ ।

भक्तपुरको कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापा नख्खु जेलमा छन् । यो सहकारीबाट २ अर्ब ७८ करोड ७५ लाख बचत हिनामिना भएको छ । सहकारीको बचत दुरुपयोग आरोपमा कल्याण उपकार सहकारीका अध्यक्ष लीलाबहादुर (एलबी) गुरुङ र देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पनि नख्खु कारागारमा छन् । आर्जन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दलबहादुर आले केन्द्रीय कारागारमा छन् ।

सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेका सूर्यदर्शन सहकारीका जीबी राई, सुप्रिमका सागर केसी, सुमेरुका भरत महर्जन र उनको परिवार, सूर्यदर्शन सहकारीकै ज्ञानबहादुर बमजनलगायत व्यक्ति देशबाहिर रहेको अनुमान छ ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा सहकारी ठगिएको रकम, हाल चलिरहेका मुद्दा र भएका फैसलाको विश्लेषण गरिएको छ । यसअनुसार २४ हजार २ सय २४ जना पीडित सर्वसाधारणले दिएका २ सय ५८ उजुरीका आधारमा प्रहरीले ६ सय ६९ जनालाई पक्राउ गरेको हो । यही बीचमा १ हजार ५ सय ४० भने फरार छन् । यी उजुरीमा प्रहरी अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि १ सय ११ मुद्दा दर्ता भएका छन् । यी मुद्दामा १ हजार ३ सय ९१ जनालाई अभियुक्त बनाइएको छ ।

अदालत पुगेका मुद्दामा १ अर्ब ९० करोड ४६ लाख बिगो कायम गरिएको छ । सहकारी ठगीमा ३५ मुद्दामा सजाय तोकिएको छ भने ५८ मुद्दा विचाराधीन छन् । कतिपय मुद्दा पुनरावेदनका लागि सरकारी वकिलको कार्यालयमा छन् ।

उता, पोखराको सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक शिवकुमार गुरुङ (महेन्द्र भोटे) र सो सहकारीका सफ्टवेयर डेभलपर भवीश्वर अर्याल पनि थुनामा छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको १ अर्ब ३५ करोड ४९ लाख हिनामिना भएको छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार