असार २६, २०८२ बिहिबार July 10, 2025

सहकारी ठगीमा रविभन्दा अघि ६ सय जना पक्राउ

एमाले निकट कृष्णबहादुर (केबी) उप्रेती पनि सहकारीको करिब सात अर्ब रूपैयाँ ठगी गरेको आरोपमा डिल्लीबजार जेलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सहकारी ठगी प्रकरणमा प्रहरीले रवि लामिछानेभन्दा अघि ६ सय जनाभन्दा बढीलाई पक्राउ गरेको छ। सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना र ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउमध्ये कतिपयले सजाय काटिरहेका छन्। सहकारी ठगीमा पछिल्लोपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने पक्राउ परेका हुन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो दुई वर्षमा मात्रै तीन सय ४६ जना पक्राउ परेका छन्। दुई सय ५८ उजुरीका आधारमा तीन सय ४६ जनालाई पक्राउ गरिएको हो। हालसम्म २४ हजार दुई सय २४ बचतकर्ताले आफूहरू पीडित भएको भन्दै उजुरी दिएका छन्। ती उजुरीका आधारमा प्रहरीले ६ सयभन्दा बढीलाई अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ।

प्रहरीले विभिन्न देशमा गई लुकेर बसेका सहकारी ठगी आरोपितलाई पनि पक्राउ गरेर ल्याएको छ। ‘प्रहरीले कति आरोपित पक्राउ परेका छन्, कति फरार छन् भन्ने तथ्यांक संकलन गरिरहेको छ। पक्राउको संख्या ६ सय जनाभन्दा माथि नै छ। सबै तथ्यांक निकाल्ने क्रममा छौं’, नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीले भने।

पछिल्लो पटक पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले कास्की प्रहरीलाई अनुमति दिएको छ।

सहकारी ठगी आरोपमा गत असोजमा पक्राउ परेका लामिछानेका व्यापारिक साझेदार छविलाल जोशीलाई कास्की जिल्ला अदालतले गत शुक्रबार थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ।

जोशी पनि लामिछाने जस्तै गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक थिए। अहिले दुवैजना कास्की प्रहरीको हिरासतमा छन्। सहकारी ठगीको आरोपमा गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक कुमार रम्तेल लामो समयदेखि कास्की कारागारमा छन्।

रम्तेलले बुटवलस्थित सुप्रिम सहकारीबाट रकम निकालेर लामिछानेका नाममा रहेको कर्जाको किस्तासमेत तिरिदिएका थिए। संघीय सांसद सूर्य थापाको नेतृत्वमा बनेको उच्चस्तरीय छानबिन समितिसँग रम्तलेले लामछिानेको नाममा रहेको ऋणको किस्ता आफूले तिरिदिएको बयान दिएका थिए। लामिछाने गोर्खा मिडियाबाट बिदा भएपछि रम्तेल सञ्चालकका रूपमा भित्रिएका थिए।

सहकारीको रकम ठगी आरोपमा यतिबेला पोखरास्थित सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक शिवकुमार गुरुङ (महेन्द्र भोटे) र सोही सहकारीका सफ्टवेयर डेभलपर भविश्वर अर्याल पनि थुनामा छन्।

लामिछाने र उनका समर्थकले भने जस्तै सहकारी ठगीमा लामिछानेबाहेक कोही पनि पक्राउ नपरेका भने होइनन्। विगतमा एमालेका तर्फबाट सांसद बनेका इच्छाराज तामाङले पनि सहकारी र बैंक ठगी मुद्दामा डिल्लीबजार कारागारमा सजाय भोगिरहेका छन्।

सांसद थापा नेतृत्वको समितिसँग तामाङले आफ्नो सम्पत्ति बेचेर सर्वसाधरणको बचत रकम फिर्ता गर्ने बताएका थिए। तामाङमाथि सहकारीको करिब आठ अर्ब रूपैयाँ अपचलन गरेको अभियोग छ। सहकारी ठगी अभियोगमा उनी पत्नी पनि पक्राउ परेकी थिइन्।

एमाले निकट कृष्णबहादुर (केबी) उप्रेती पनि सहकारीको करिब सात अर्ब रूपैयाँ ठगी गरेको आरोपमा डिल्लीबजार जेलमा छन्। सहकारीमार्फत बैक नै डुबाउने देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रविन्द्र चौलागाईं पनि जेलमा छन्। लालीगुराँस बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत पनि अहिले बचत हिनामिना मुद्दामा थुनामा छन्।

त्यसैगरी कान्तिपुर सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था) का अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी र सञ्चालक चन्द्रबहादुर (सिबी) लामा पनि रकम हिनामिना अभियोगमा जेलमा छन्। उनीहरूमाथि सहकारीको आठ अर्ब रूपैयाँ हिनामिना गरेको आरोप छ।

दसैंअघि मात्रै प्रहरीले सहकारी ठगीको आरोपमा बाग्लुङको ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीलाई दिल्लीबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको थियो। बचतकर्ताको एक अर्ब ८० करोड रूपैयाँ फिर्ता गर्न बाँकी रहेको अवस्थामा उनी पक्राउ परेका हुन्। नेपालीले आफू र पत्नीका नाममा भएको घरजग्गाको मूल्यांकन गर्दा करिब तीन अर्ब रूपैयाँ हुन आउने र उक्त सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्न पाउनुपर्ने माग गरेका छन्।

कास्की जिल्ला अदालतले सहकारी ठगी मुद्दामा शुक्रबार लामिछानेसँगै १४ जनालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। लामिछाने पक्राउ परिसकेका छन् भने अन्यलाई प्रहरीले खोजिरहेको छ। लामिछानेलाई शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरी कास्कीको पोखरा लगिएको हो।

लामिछाने पक्राउ परेपछि रास्वपाका कार्यकर्ता प्रहरी अनुसन्धान र न्यायालयलाई प्रभावित पार्न सडकमा उत्रिएका छन्। लामिछाने स्वयंले पनि केपी ओली नेतृत्वको सरकार ढाल्न आन्दोलन आवश्यक रहेको बताउँदै त्यसका लागि कार्यकर्तालाई आह्वान गरेका छन्।

विगतमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्न पटक पटक ओली निवास बालकोट पुगेका लामिछानेले आइतबार कास्की जिल्ला अदालत परिसरमा तिनै ओलीलाई भ्रष्टचारीको आरोप लगाउँदै उनी नेतृत्वको सरकार ढाल्न आन्दोलनमा उत्रिन कार्यकर्तालाई आग्रह गरेका हुन्।

उनको आग्रहपछि कार्यकर्ता उत्तेजित भएका थिए। लामिछानेले अदालतबाहिरबाट यस्तो भनिरहँदा प्रहरी मूकदर्शक बनेको थियो। प्रहरीले उनलाई भनाइ राख्न दिएको थियो। प्रहरीले लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न सोमबार अदालतमा पेस गरेको थियो। पक्राउको विरोधमा रास्वपाले आइतबार पोखरामा शक्ति प्रदर्शन गरेको थियो।

लामिछाने पक्राउको विरोधमा रास्वपाका नेता–कार्यकर्ताले आँखामा कालोपट्टी बाँधेर पोखरामा धर्ना दिए। रास्वपाका डिपी अर्याल, स्वर्णिम वाग्लेलगायत अधिकांश सांसद शुक्रबार राति नै पोखरा पुगेका थिए। रास्वपाले शनिबार पनि पोखरामा विरोध प्रदर्शन गरेको थियो। रास्वपाका सुमना श्रेष्ठ, चन्दा कार्की, शिव नेपाली, विन्दावासिनी कशांकारलगायतका सांसद, नेता र कार्यकर्ताले आइतबार आँखामा कालो पट्टी बाँधेर पोखरामा प्रर्दशन गरेका हुन्।

कास्की प्रहरीले सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम लीला पछाईको खातामा गएको भन्दै उनलाई अनुसन्धानका लागि असोज १४ गते नियन्त्रणमा लिएको थियो। उनी पनि अहिले कास्की प्रहरीको हिरासतमा छिन्।

पछाईको पक्राउबारे लामिछाने मौन छन्। लामिछाने सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिले सहकारीको रकम अपचलन गरेको प्रमाणित भइसकेको छ। लामिछाने स्वयंले गोर्खा मिडिया नेटवर्कमा गएको रकमको हिस्साको जिम्मेवारी लिने बताइरहे पनि अनुसन्धानलाई प्रभावित पार्न भने उनी लागिपरेका छन्। प्रहरीले लामिछानेमाथि ठगी, किर्ते, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान गर्ने जनाएको छ । नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार