असार २६, २०८२ बिहिबार July 10, 2025

धनराजले पनि लिएका थिए मीनबहादुरबाट ९१ लाख

मितेरी सहकारीको झन्डै १५ करोड हिनामिनामा सत्तारूढ कांग्रेसका उपसभापति धनराज प्रत्यक्ष जोडिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ललितपुरस्थित मितेरी सहकारीको रकम हिनामिनामा मुछिएका सत्तारूढ कांग्रेसका उपसभापति धनराज गुरुङले विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट झन्डै करोड रकम लिएको खुलेको छ । जुन रकम उनले सहकारीमा बुझाएका थिए ।

कानुनमन्त्री हुँदा न्यायाधीश नियुक्तिमा ‘आर्थिक चलखेल’ गरेको आरोप धनराजमाथि थियो, त्यसलगत्तै उनले सहकारीमा ९१ लाखभन्दा बढी बुझाएका थिए । मीनबहादुरको नामबाट काटिएका ८२ लाखका चेक त उनले एकै दिन ‘डिपोजिट’ गरेका थिए । एकमस्ट यत्रो रकम ल्याएको विषयमा धनराजमाथि छुट्टै छानबिन हुनुपर्ने सांसदहरूको माग छ ।

यसअघि धनराजले मितेरीबाट घर निर्माण गर्न ऋण लिएको र पछि उक्त ऋण सोही घर बेचेर तिरेको दाबी गर्दै आएका थिए । तर, उनले मीनबहादुरले काटेका चेक सहकारीमा डिपोजिट गरेको सार्वजनिक भएको छ । उनले १७ वैशाखमा र ६ जेठ ०८१ मा सातवटा चेकमार्फत ९१ लाख बुझाएका छन् । सहकारीको विवरणअनुसार १४–१४ लाखका पाँचवटा चेक १७ वैशाखमा डिपोजिट भएका छन् । त्यस्तै, १२ लाख २६ हजार ९१४ रुपैयाँको चेक पनि १७ वैशाखमै डिपोजिट भएको छ । आठ लाख ९८ हजार ७२० रुपैयाँको चेक भने ६ जेठ ०८१ मा डिपोजिट भएको छ ।

धनराजले मितेरीबाट ०७७ मा ऋण लिएका थिए । जसमा हकवाला भनी ज्योति गुरुङको नाम उल्लेख छ । जब कि धनराजले ज्योतिसँग २९ फागुन ०७६ मै कागजी रूपमा सम्बन्धविच्छेद गरेका थिए । ऋण प्रवाह गर्दा मितेरीमा प्रबन्धक ज्योति थिइन् । ३ फागुन ०७७ मा मितेरी सहकारीबाटै उनले थप १२ लाख ऋण लिएका थिए । त्यसमा पनि हकवाला ज्योति नै उल्लेख गरिएको थियो । मितेरीको १४ करोड ८१ लाख रुपैयाँ हिनामिना गरेपछि ज्योति अहिले फरार छिन् ।

धनराज र उनकी पत्नी ज्योतिसहित पाँचजनाले करिब १४ करोड ८१ लख हिनामिना गरेको भन्दै सहकारीले बागमती प्रदेश सहकारी रजिस्ट्रार र प्रहरीमा पनि उजुरी दिएको थियो । तर, राजनीतिक दबाबमा रजिस्ट्रार कार्यालयले धनराजको नाम काटेर प्रहरीमा सिफारिस गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङको भनाइ छ । प्रहरीले अहिले सहकारीबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

ललितपुरस्थित मितेरी सहकारीको झन्डै १५ करोड हिनामिनामा सत्तारूढ कांग्रेसका उपसभापति धनराज प्रत्यक्ष जोडिएका छन् । तर, उनलाई उन्मुक्ति दिने गरी काम भइरहेको स्रोतको दाबी छ ।केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)मा एक महिनाअघि नै जाहेरी परे पनि सो सहकारीका कोही पनि पक्राउ परेका छैनन् । धनराजसँग सोधपुछसमेत गरिएको छैन । कांग्रेसकै गृहमन्त्री भएकाले राज्य संयन्त्र उल्टै धनराजको संरक्षणमा लागेको आरोप छ ।

धनराजले सहकारीको ऋण तिर्न मीनबहादुरसँग ऋण लिएको दाबी गरे ।  ‘मीनबहादुर मेरा आफन्त हुन् । मितेरीले ऋण तिर भनेर साह्रो किचकिच गर्‍यो । मसँग रकम थिएन । मैले मीनबहादुरसँग ऋण मागेँ । बकाइदा कागज बनाका छौँ । ऋण लिन त पाइयो नि । त्यही ऋण लगेर मैले मितेरीमा बुझाएको हुँ,’ उनले भने ।

व्यवसायी मीनबहादुर गुरुङले धनराजलाई कागजै गराएर एक करोड ऋण दिएको बताए । ‘धनराज गुरुङ मेरो १३ दिने दाजुभाइ नै हो । उसले पैसा चाहियो दिनुपर्‍यो भनेर माग्यो, चाहियो चाहियो भनेर मागेपछि दिनै पर्‍यो । उसलाई एक करोड लोन (ऋण) दिएका हौँ । कागज नै गरेर ऋण दिएका हौँ, चाहिए कागज पनि दिउँला । अरूले पनि ऋण माग्छन्, लेनदेन त चलिरहन्छ नि, अझ दाजुभाइलाई त दिनै पर्‍यो । अब हामीले दिएको ऋण उसले के गर्‍यो, कहाँ बुझायो त्यो जानकारी छैन । सहकारीको कुरा थाहा छैन,’ उनले भने, ‘मन्त्री हुँदा दिएको, राजनीतिक लाभको लागि दिएको भन्नेजस्ता विवाद र आरोप सत्य होइनन् । दाजुभाइको नाताले दिएको हो । यसमा विवाद गर्नुपर्ने कुरो छैन ।’ नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार