असार २६, २०८२ बिहिबार July 10, 2025

रवि लामिछानेका काण्ड : अमेरिकामा कर छलीको मुद्दादेखि नेपालमा सहकारी ठगीसम्म

लामिछानेलाई सहकारी ठगी र संगठित अपराध गरी ६० दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अमेरिकादेखि नेपालसम्म काण्डैकाण्डको बीचमा देखिएका छन् । संयुक्त राज्य अमेरिकामा लामिछानेविरुद्धका आठवटा मुद्दामा तीनवटा अझै विचाराधीन छन् । मेरिल्यान्ड राज्यमा सन् २०१८ देखि २०२० बीच परेका आर्थिक अपराधसँग सम्बन्धित मुद्दा छन् । स्टेट ज्युडिसियरी केस रेकर्ड्सबाट प्राप्त प्रमाणमा आठवटा मुद्दामध्ये एउटा मेरिल्यान्ड सरकारलाई करछली (ट्याक्स इभेजन) गरेको र बाँकी सातवटा विभिन्न वित्तीय संस्था एवं कम्पनीहरूलाई रकम भुक्तानी नगरेका मुद्दा छन् ।

दुईवटा मुद्दाको प्रकारमा ‘सीएन’ अर्थात् क्रिमिनल नन–ट्राफिक उल्लेख छ । जुन आपराधिक प्रकृतिको रहेको कानुनका जानकारहरू बताउँछन् । दुई मुद्दामध्ये एक रेइनहार्ट फुड सर्भिसले १९ जुन २०१८ मा टावसन जिल्ला अदालतमा दायर गरेको पाइन्छ । दर्ता नम्बर ०८०४००१९१६५२०१८ को मुद्दामा कम्पनीले लामिछानेसँग ४ हजार २ सय ६६ अमेरिकी डलर क्षतिपूर्ति मागदाबी गरेको छ । अर्को मुद्दा डिस्कभरी बैंकले २५ जनवरी २०१९ मा दायर गरेको थियो । हाल दुई मुद्दा अझै अमेरिकामा बिचाराधीन छन् ।

अमेरिकामा मुद्दा चलिरहेकै बेला लामिछाने नेपाल फर्किए । नेपाल आएलगतै लामिछानेले नेपाल टेलिभिजनमा सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम चलाउने मौका पाए । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सो कार्यक्रम चलाउने मौका दिएका थिए । ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए ।

प्रचण्डले भने सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमबाट लामिछानेलाई हटाए । त्यसपछि लामिछानेले एक टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम चलाएका थिए । सो कार्यक्रम चलाइरहेका बेला ५ वर्षअघि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा संलग्न भएको आरोपमा लामिछाने पक्राउ परे । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले ३० साउन २०७६ मा उनलाई पक्राउ गरेको थियो ।

पत्रकार पुडासैनी ३२ साउन २०७६ मा चितवनको नारायणगढ बसपार्कमा रहेको कंगारु होटलमा मृत भेटिएका थिए । पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो सञ्चारमाध्ममा सार्वजनिक भयो । त्यसकै आधारमा लामिछानेलाई पक्राउ गरिएको थियो । पुडासैनीले आत्महत्यापूर्व मोबाइलमा भिडियो बनाएर आफूलाई रवि लामिछानेले आत्महत्या गर्न बाध्य बनाएको गम्भीर आरोप लगाएका थिए ।

चितवन जिल्ला अदालतको आदेशमा लामिछाने त्यतिबेला ५ लाख धरौटी बुझाएर रिहा भएका थिए । अर्का पत्रकार युवराज कँडेल ३ लाख धरौटी राखेर रिहा भएका थिए । रिहा भएलगतै लामिछानेले न्युज २४ च्यानलमा पुनः सिधा कुरा कार्यक्रम चलाए । त्यसको केही समयपछि लामिछाने जीबी राईसँग मिलेर गोर्खा मिडिया नेटवर्कमा जोडिए । अध्यक्षमा गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशक लामिछाने बने । पछिल्लो समय सो टेलिभिजनमा सर्वसाधारणले बचत गरेको करोडौं रकम प्रयोग गरेर चलाइएको सार्वजनिक भइसकेको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाबाट स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले नगरप्रमुखमा निर्वाचन जितेपछि लामिछानेले पनि प्रतिनिधिसभाको निर्वाचन लड्न राजनीतिक यात्रा सुरु गरे । आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी निर्वाचनमा भाग लिए । उनको दल निर्वाचनबाट प्रतिनिधिसभामा २० सिट हासिल गर्न सफल भयो ।

लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचनमा भाग लिँदा नागरिकताको विषयमा प्रश्न उठे पनि निर्वाचन आयोगले कुनै सुुनवाइ गरेन । अमेरिकी नागरिकता हुँदाहुँदै निष्क्रिय भइसकेको नेपाली नागरिकता लिएर निर्वाचनमा होमिएपछि उनीमाथि गम्भीर प्रश्न उठ्यो । निर्वाचन जितेपछि सो विषय अदालतमा प्रवेश ग¥यो । अदालतमा मुद्दा विचाराधीन रहकै बेला लामिछाने गृहमन्त्री बने ।

सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुनबमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति पद पनि गुमाए ।

उनले ९ फागुन २०७० मा अमेरिकाको नागरिकता पाएका थिए । अमेरिकी पासपोर्टमै नेपाल आए र सञ्चारकर्ममा जोडिएका थिए । त्यसक्रममा नागरिकता विवाद उठेपछि उनले ४ जेठ २०७५ मा काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत नागरिकता त्याग्ने प्रक्रिया सुरु गरे, जसले १४ असारमा पूर्णता पायो । त्यसपछि उनले पुरानै नेपाली नागरिकता चलाएका थिए ।

उनले नागरिकता मात्रै होइन, नेपाली राहदानी पनि दुरुपयोग गरेका छन् । राहदानीका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ । राहदानी दुरुपयोगको विषयमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउन नपर्ने निर्णय गरे पनि सो विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

सर्वोच्च अदालतले नेपाली राहदानी दुरुपयोगको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णयको कारण खुलाउन सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयलाई आदेश दिएको छ । यो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । लामिछानेले अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नेपाली नागरिकताकै आधारमा १३ जेठ २०७३ मा नेपाली राहदानी लिएका थिए । उनले त्यसपश्चात् अमेरिकी राहदानी र नेपाली राहदानी एकसाथ प्रयोगमा ल्याएका थिए । सर्वोच्च अदालतको फैसलाप्रश्चात लामिछानेको राहदानी दुरुपयोगको विषयमा छानबिन भएर मुद्दा चल्नसक्छ ।

पछिल्लो समय अर्को काण्डका रूपमा सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सहकारी ठगी, किर्ते र संगठित अपराधमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर पुनः अनुसन्धान गर्ने तयारी गरेको छ । पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय ५० जना सर्वसाधारणले बचत गरेर राखेको रकम हिनामिना भएपछि जिल्ला अदालत कास्कीले १४ जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति दिएको थियो । जसमध्ये गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने पनि एक हुन् ।

सहकारीमा सर्वसाधारणले बचत गरेको रकम गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशी र कुमार रम्तेलले हिनामिना गरेको प्रहरीले निष्कर्ष निकालेको थियो । सोही निष्कर्षकै आधारमा प्रहरीले लामिछानेमाथि थप अनुसन्धान गर्नका लागि अदालतबाट अनुमति लिएर पक्राउ गरेको हो । हिनामिना गरेको आरोप लागेका राई फरार छन् भने सञ्चालक जोशी एक महिनादेखि कास्की प्रहरीको हिरासतमा छन् । साथै, गोर्खा मिडियाका अर्का सञ्चालक रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् ।

लामिछानेमाथि सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुर र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि प्रहरीले ६ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । सूर्यदर्शन सरकारीमा संगठित रूपमा ठगी गरेकाले ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनेछ ।

लामिछानेलाई सहकारी ठगी र संगठित अपराध गरी ६० दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न सक्नेछ । सहकारी छानबिन समितिको अध्ययनका क्रममा (लामिछानेको नामको ७५ लाखसहित) ५ करोड रुपैयाँ सहकारीको बचत अपचलन गरेर ल्याएको पाइएको छ । लामिछाने सूर्यदर्शन सहकारीका बचतकर्ता थिएनन् ।

त्यसैले सिर्जनाचोक पोखरा ठेगाना राखेर लामिछानेको नाममा ७५ लाख ऋण प्रवाह भएको देखाइयो । लामिछानेले पाएको १५ प्रतिशत सेयरबापतको रकम सहकारीबाट ल्याइएको थियो । सोही सेयर पछि हस्तान्तरण गर्दा कागज किर्ते गरिएको थियो । रकम खातामा जम्मा नै नगर्ने उद्देश्यका साथ झुटा विवरण उपलब्ध गराएर राईको नाममा सेयर हस्तान्तरण गरिएको हो ।

लामिछानेले केही समयअघि सामाजिक सञ्जालमा आफ्नो खातामा १ करोड ८० लाख जम्मा भएको भौचर देखाएपछि मात्र कम्पनी रजिस्ट्रारको कार्यालयबाट राईका नाममा सेयर नामसारी हुने भएकाले त्यस्तो गरिएको भन्दै झुटो विवरण उपलब्ध गराएर सेयर हस्तान्तरण गरिएको स्वीकार गरिसकेका छन् । राजधानी दैनिक 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार