काठमाण्डौंः मुगु जिल्लामा कोदाेको माग दिन प्रतिदिन बढ्दै गएको छ। कोदो खरिदका लागि व्यापारी कृषकहरूको घरमै पुगेर कोदो खरिद गर्न थालेपछि एक्कासी कोदोको माग बढेको हो।
छायाँनाथ नगरपालिका वडा नं ३ माथितुमका कृषक प्रकाश भण्डारीका अनुसार कोदाेको उत्पादन घट्दै गए पनि माग भने बढेको छ । अहिले प्रति पाथी कोदाे ७० रुपैयाँमा बिक्री भइरहेको भण्डारीले बताउनु भयो ।
पहिले बिक्री नहुने तर बिक्री भइहाले सस्तो मूल्यमा बेच्नु पर्दा घाटा हुने भएकाले कृषकहरू निरास हुँदै आएका थिए । अहिले गाउँघर बाटै कोदो बिक्री हुन थालेपछि स्थानीय कृषकहरू उत्साहित देखिन थालेका छन्
पछिल्ला वर्षहरूमा कोदाेको माग बढेपनि उत्पादन घट्दो क्रममा रहेको छ । कोदो खेती गर्दा लागतको तुलनामा उत्पादनमा कम हुँदा यहाँका कृषकहरू अन्य नगदे बालीतर्फ आकर्षण बढेको छ।
बिगत वर्षहरूको तुलनामा कोदो खेती कम गर्ने र आलु,पाखेधान, मकै,सिमी लगायत तरकारी खेती तर्फ कृषकहरू आकर्षित हुन थालेपछि कोदो उत्पादन घट्दो क्रममा रहेको छ ।
मुगुसहित साबिक कर्णालीका सबै जिल्लामा कोदाेको खेती गरिँदै आएको छ। कर्णालीबाट खरिद गरिएको कोदो नेपालगन्ज, काठमाडौं र पोखरामा व्यापारीहरूले बिक्री गर्ने गरेका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया