काठमाडौं, २८ कार्तिक । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले अध्ययन निरन्तरता गर्न चाहेका विद्यार्थीलाई शिक्षालय स्थानान्तरण गर्न दिने भएको छ । डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन निरन्तरता गर्न चाहेका विद्यार्थीलाई स्थानान्तरण गर्न दिने भएको हो ।
परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा सम्बन्धन/स्वीकृति प्राप्त शिक्षालयहरूमा डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूले आवेदन दिन सक्ने छन् ।
शिक्षालय स्थानान्तरण गरी अध्ययनलाई निरन्तरता दिन चाहेका विद्यार्थीले उपयुक्त कारण खुलाई मंसिर ९ गते आइतबार कार्यालय समयभित्र परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दर्ता गराउन सक्ने छन् । तोकिएका सर्तहरू पूरा कागजातहरू अनिवार्य रूपमा संलग्न गरेर निवेदन दिनुपर्नेछ ।
विद्यार्थीले निम्न सर्त पुरा गर्नुपर्छ
(क) परिषद्मा रजिस्ट्रेसन कायम भएको विद्यार्थी विशेष कारणवश अध्ययन गर्न छुटेमा पाठ्यक्रमले तोकेको समयावधिभित्र सोही कार्यक्रममा अध्ययन निरन्तरताका लागि स्वीकृति लिन निवेदन पेश गर्न सक्नेछ ।
(ख) रजिस्ट्रेसन कायम गरिएको कार्डको प्रतिलिपि ।
(ग) अध्ययन निरन्तरता दिने शिक्षालयको कोटा (छात्रवृत्ति वा पूर्ण शुल्कीय) खुलेको सहमति पत्र ।
(घ) जुन शिक्षालयमा अध्ययन टुटेको हो सोही शिक्षालयमा मात्र अध्ययन निरन्तरताका लागि निवेदन दिन
सक्नेछन् ।
(ङ) अध्ययन निरन्तरता गर्न चाहेको शिक्षालयमा कोटा रिक्त रहेको सक्कल पत्र र अघिल्लो वर्ष / सेमेस्टरको अन्तिम परीक्षाको आन्तरिक मूल्याङ्कनको समष्टिगत शिक्षालयबाट प्रमाणित भएको पेश गर्नुपर्नेछ ।
(च) शिक्षालयहरूले अध्ययन निरन्तरताका लागि सहमति दिँदा आफ्नो शिक्षालयमा रिक्त कोटाको सङ्ख्यामा मात्र सिफारिस दिनुपर्नेछ ।
(छ) अध्ययन निरन्तरताको सहमति पत्र नलिई प्रशिक्षार्थीलाई अध्ययन गराएमा सो प्रशिक्षार्थीलाई अन्तिम परीक्षामा सामेल गराइने छैन र यसको जिम्मेवार सम्बन्धित शिक्षण संस्था हुनेछ । खबर एजुकेशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया