कार्तिक २५, २०८३ बुधबार November 11, 2026

पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

पाक्ने बेलाको सुन्तलामा औँसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पर्वत I सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२ देउपुर,  फलेवास नगरपालिका–१० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयू गाउँपालिका–३ त्रिवेणीमा एक सातादेखि औँसा कीराको प्रकोप फैलिएको छ ।

पाक्ने बेलाको सुन्तलामा औँसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । देउपुरका किसान भूमिराज शर्माले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर केही आम्दानी गर्ने बेलामा कीराको प्रकोपले क्षति पुगेको बताउनुभयो ।

देउपुरमा मात्रै तीन सय बढी किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । यो गाउँबाट गत वर्ष रु पाँच करोडको सुन्तला बिक्री भएको स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष ५० प्रतिशत बढी बोटमा प्रकोप फैलिसकेको छ ।

गत वर्ष पनि यस्तै समस्या भएपछि कृषि ज्ञान केन्द्रले अभियानकै रुपमा तालिम र विषादी वितरण गरेको थियो । अर्का किसान लालु चापागाईँले कीरा लागेर धमाधम सुन्तला नष्ट भएको बताउनुभयो । पर्वतमा उत्पादित सुन्तला पोखरा, काठमाडाँै, नारायणगढ र बुटवलसम्म बिक्रीका लागि लगिन्छ । यसवर्ष अहिलेसम्म व्यापारी आइपुगेका छैनन् ।

कृषि ज्ञान केन्द्रले देउपुरलगायत विभिन्न स्थानमा औँसा कीराको प्रकोप देखिएको जनाएको छ । केन्द्रका बाली संरक्षण अधिकृत शङ्कर पौडेलले सुन्तलाका पकेट क्षेत्रमा सुन्तला झर्ने र हाँगा सुक्ने समस्या देखिएको बताउनुभयो ।

“मुख्य गरी सुन्तला झर्ने समस्या फलमा आउने औँसा कीराको कारणले हो,” उहाँले भन्नुभयो, “अघिल्लो वर्ष अभियानकै रूपमा तालिम र विषादी बाँडिएको थियो । अघिल्लो पटक बाँडिएको विषादी सही रूपमा प्रयोग नगर्ने किसानको बगैँचामा समस्या देखिएको छ । समग्रमा अघिल्लो पटक भन्दा यस वर्ष उत्पादन घटेको छ ।” ग्रिनिङ रोगको समस्या, सूक्ष्म खाद्य तत्त्वको कमी, उपयुक्त व्यवस्थापनको कमी, अन्य रोग कीराले पनि यो समस्या आउने पौडेलले बताउनुभयो ।

पहिले सुन्तला उत्पादन हुने समुद्री सतहदेखि एक हजार तीन सय मिटर उचाइ भन्दा तल उत्पादन हुन छाडेको स्थानीय किसान भुमिराज शर्माले बताउनुभयो । थप क्षति हुन नदिन जतिसक्दो छिटो सुन्तला टिपेर बजार पठाउन कृषि ज्ञान केन्द्रले आग्रह गरेको छ । झरेका सुन्तलालाई प्लास्टिकमा जम्मा गर्ने र नष्ट गर्ने प्रक्रियाले कीराको चक्र ‘ब्रेक’ गर्न सकिने भएकाले किसानलाई प्लास्टिकमा जम्मा गरेर नष्ट गर्न लगाइएको बाली संरक्षण अधिकृत पौडेलले बताउनुभयो ।

सुन्तला पर्वतमा उत्पादन हुने मुख्य फल हो । गतवर्ष सुन्तला बिक्रीबाट रु २५ करोड जिल्लाका किसानले भित्र्याएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार