असार ३२, २०८२ बुधबार July 16, 2025

बाढी र पहिरो प्रभावितको उद्दार तथा राहतका लागि जुट्ने स्थायी समितिको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आधा घन्टा बसेर स्थगित भएको छ । पटक पटक स्थगित हुँदै आएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १:१५ मा सुरु भएर १:४५ मा बैठक सकिएको हो ।

नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बाढी र पहिरो प्रभावितको उद्दार तथा राहतका लागि पार्टीले विशेष प्रस्ताव पारित गरेको जानकारी दिए । अब अर्को बैठक १३ गते बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक स्थगित भएको उनले बताए ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने बाढी र पहिरोका कारण हाल देशभरको जनजीवन प्रभावित भएको छ भने कतिपय स्थानमा राजमार्ग र पुल समेत भत्किएको छ ।

प्रधानमन्त्री निवासमै बैठक बसेको भएपनि आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । उनी सहभागी नहुनुको कारण खुल्न सकेको छैन ।

यद्यपि स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक बसेको दावी गरे । सो बैठकमा अन्य एजेण्डालाई थाती राखेर कार्यकारी अध्यक्ष प्रचण्डले बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा पार्टी पंक्ति लाग्ने प्रस्ताव लगेका थिए । सो प्रस्तावलाई पार्टीले एकमतले पारित गरेको हो ।

नेकपाभित्रको आन्तरिक राजनीतिक विषयमा भने विवाद कायमै छ । विवादकै कारण पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको थियो । प्रधानमन्त्रीको राजीनामाको माग भएपछि नेकपाभित्र विवाद चर्किँदै गएको हो । बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास हुँदै आएपनि हालसम्म सहमति जुट्न सकेको छैन भने ओली राजीनामा नदिने अडानमा टसमस छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया