असार २८, २०८२ शनिबार July 12, 2025

छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ

साना सुन्तलाको प्रतिकेजी न्यूनतम मूल्य रु २५ देखि ठूला सुन्तलाका मूल्य रु ९० मा अहिले फार्मबाट बिक्री हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वालिङ (स्याङ्जा), १९ मङ्सिरः सुन्तला ग्रेडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो ।

नेपालमा पहिलोपटक २०७५ सालदेखि सुन्तलाको गे्रडिङ मेसिन जडान गरी काम सुरु भएसँगै सहज भएको बागवानी सञ्चालक एवं अगुवा किसान फणिनारायण अर्यालले बताउनुभयो । पोष्ट हार्भेष्ट निर्देशनालय काठमाडौँ र बागवानी फार्मबीच सम्झौता भएर ८५ प्रतिशत अनुदानमा रु ५६ लाख लागतमा भारतबाट मेसिन ल्याई जडान गरिएको हो ।

“निर्देशनालयको ८५ प्रतिशत अनुदान र फार्मको १५ प्रतिशत लागत साझेदारीमा सुन्तलाका क्षेत्रमा ग्रेडिङ प्रविधि नेपालमा पहिलोपटक भित्रिएको हो”, उहाँले भन्नुभयो, “मेसिन जडान भएसँगै सुन्तलाको ग्रेडिङ तथा सफा गर्न सहज भएको छ ।” प्रतिघण्टा पाँच टनसम्म सुन्तला ग्रेडिङ गर्ने क्षमताको मेसिनले फोहरमैला, कालो टीका सफा गर्ने सञ्चालक अर्यालले बताउनुभयो ।

सञ्चालक अर्यालले बगैँचामा उत्पादन भएका सुन्तला तथा अन्य किसानबाट खरिद गरेका सुन्तला मेसिनमार्फत ग्रेडिङ गरी बजार पठाउँदै आउनुभएको छ । “मेसिनबाट विभिन्न आठवटा आकारमा सुन्तलाको वर्गीकरण गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “मान्छे लगाएर काम गर्दा झण्झटिलो, धेरै कामदार लाग्ने, दाग लाग्ने, थिच्चिनेजस्ता समस्या हुुन्थ्यो, मेसिनको प्रयोगले सहज भएको छ ।”

आठवटा आकारमा सुन्तला ग्रेडिङ गरेर छुट्याइए पनि बजार मागका आधारमा चारवटा आकारमा पठाउने गरिएको उहाँले बताउनुभयो । साना सुन्तलाको प्रतिकेजी न्यूनतम मूल्य रु २५ देखि ठूला सुन्तलाका मूल्य रु ९० मा अहिले फार्मबाट बिक्री हुने गरेको छ ।

फार्मले सुन्तलाको बजारीकरणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालकसँग सम्झौता गरेको छ । उक्त कम्पनीसँग गत वर्षदेखि ५० टन सुन्तला उपलब्ध गराउनेगरी सम्झौता भएको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया