माघ ४, २०८१ शुक्रबार January 17, 2025

चार महिनामा दुई सय ६३ वटा उद्योग–व्यवसाय बन्द

नयाँ दर्ता हुने उद्योग तथा व्यवसायको सङ्ख्या बढे पनि बन्द हुने उद्योग व्यवसायको अवस्था पनि उस्तै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घोराही (दाङ), २१ मङ्सिर : चालु आर्थिक वर्षको चार महिनामा दाङमा दुई सय ६३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बन्द हुनेमा एक सय नौ उद्योग र एक सय ५४ वटा व्यावसायिक फर्म रहेका छन् ।

कार्यालयका अनुसार कात्तिकमा उद्योग १७ र वाणिज्यतर्फ २५ वटा गरेर ४२ वटा, असोजमा उद्योगतर्फ ३० र वाणिज्यतर्फ ३१ गरी ६१, भदौमा उद्योगतर्फ ३० र वाणिज्यतर्फ ३७ गरी ६७ वटा र साउनमा उद्योगतर्फ ३२ र वाणिज्यतर्फ ६१ वटा गरेर ९३ घरेलु तथा साना उद्योगको लगत कट्टा गरिएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गोपाल पौडेलले बताउनुभयो । उहाँका अनुसार जिल्लामा बन्द हुनेमा धेरै वाणिज्यतर्फका व्यवसाय छन् ।

नयाँ दर्ता हुने उद्योग तथा व्यवसायको सङ्ख्या बढे पनि बन्द हुने उद्योग व्यवसायको अवस्था पनि उस्तै रहेको भन्दै सूचना अधिकारी पौडेलले भन्नुभयो, “आर्थिक मन्दीसँगै विदेश जानलाई र व्यवसाय चलाउन नसक्ने अवस्था देखाउँदै उद्योग बन्द गर्नेको सङ्ख्या धेरै छ ।” उहाँका अनुसार बन्द हुनेमा अधिकांश व्यवसाय ऋण खानका लागि खोलिएका हुने गरेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता हुँदै आएका छन् । जिल्लामा चालु आर्थिक वर्षको चार महिनामा तीन सय ५० भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आव २०८१÷८२ को साउनदेखि कात्तिकसम्म तीन सय ६६ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।

दर्ता हुनेमा उद्योगतर्फ एक सय ४२ र वाणिज्यतर्फ दुई सय २४ वटा रहेका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कात्तिकमा उद्योगतर्फ २४ र वाणिज्यतर्फ ३७ गरी ६१ वटा, असोजमा उद्योग २६ र वाणिज्यतर्फ ४२ गरी ६९ वटा, भदौमा उद्योगतर्फ ४१ र वाणिज्यतर्फ ५६ गरी ९७ वटा र साउनमा उद्योगतर्फ ५१ र वाणिज्यतर्फ ८८ गरी एक सय ३९ वटा व्यावसायिक फर्म दर्ता भएका छन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया