असार २८, २०८२ शनिबार July 12, 2025

बसाइँसराइलाई रोक्दै सुन्तलाखेती

वर्षमा रु ६० हजार बराबरको १८ मुरी धान फलाउने थापाले १४ रोपनीमा गरेको सुन्तलाखेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी, १६ पुस । बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो । सदरमुकाम बेनीमा घर बनाइसकेका उहाँलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी र आफन्तले दुःख नगर्न सुझाव दिन्थे ।

“तत्कालीन कृषि विकास कार्यालयबाट एक हजार पाँच सय सुन्तलाका बिरुवा बोकेर गाउँमा पुग्दा धेरैले लगाउन मान्नुभएन”, उनले भने, “केही छिमेकीले हामी धान, मकै, कोदो खाने मान्छे हो, कहाँ सुन्तला खाने हो र ? भन्दै प्रश्न पनि गर्नुभयो ।”

करिब पाँच सय बोट सुन्तलाका बिरुवा लगाएर खत्रीले आफन्त र छिमेकीलाई एक हजार बिरुवा बाँड्नुभएको थियो । गत वर्ष रु १३ लाखको सुन्तला बेचेका खत्रीले बगैँचामा फलेका तीन सय बोटमध्ये आधा सुन्तला बेच्दा रु १० लाख आम्दानी गरिसके । “बगैँचामा अझै आधा सुन्तला बाँकी छ”, उनले भने, “यसपालि उत्पादन बढेकाले रु १७ देखि २० लाखसम्मको सुन्तला बिक्री हुने अनुमान गरेको छु ।”

उत्तरपूर्व फर्किएको भिरालो पाखामा रहेको मरेकका बासिन्दा दुई दशक अघिसम्म परम्परागत खाद्यबाली खेती गर्दथे । वर्षभरि दुःख गरेर उब्जाएको खाद्यबालीले छ महिना पनि पुग्दैनथ्यो । रोजगारी नहुनेहरू काम र आम्दानीका लागि विदेश र सहरबजार जाने चलन थियो । सुन्तलाखेती हुन थालेपछि मरेकबाट बसाइँसराइ रोकिएको र विदेशिने क्रम घटेको स्थानीय अगुवा किसान इन्द्रबहादुर थापाले बताए ।

वर्षमा रु ६० हजार बराबरको १८ मुरी धान फलाउने थापाले १४ रोपनीमा गरेको सुन्तलाखेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी हुने बताए । तीन वर्ष कतारमा काम गरेर फर्किएका मरेकका ४९ वर्षीय कृष्णबहादुर घर्तीले यसपालि सुन्तला बेचेर रु छ लाख आम्दानी भएको बताए । “सुन्तलाखेती गरेपछि घरव्यवहार चलाउन विदेश जानुपरेको छैन”, उनले भने, “जीवनस्तरमा परिवर्तन ल्याएको छ ।”

मरेक र बालम गाउँमा २१ घरपरिवारको बसोबास छ । बीस घरले सुन्तलाखेती गरेका छन् । प्रतिघर रु एकदेखि २० लाखसम्म सुन्तलाबाट आम्दानी गर्छन् । बेनी नगरपालिकाको विकट र दुर्गम बस्ती भए पनि मरेकका घर खाली र जग्गा बाँझो नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्षसमेत रहेका मरेकका बासिन्दा वीरबहादुर थापाले बताए ।

“बेनीबजारमा घर र व्यवसाय भए पनि सुन्तलाखेतीले गर्दा मैले पनि गाउँ छाड्न सकेको छैन”, उनले भने, “सुन्तलाखेतीले रोजगारी, आम्दानीको अवसर सृजना गरेकाले मरेकबाट बसाइँसराइ रोकिएको छ ।” बेनीमा फलफूल तथा तरकारी व्यवसाय गर्ने मरेकका काजी थापाले विदेशबाट फर्केपछि गाउँको खेतबारीमा सुन्तलाखेती गरेको बताए ।

गत वर्ष रु ८० लाखको सुन्तला बिक्री भएको मरेकमा यसपालि उत्पादन दोब्बरले बढेकाले रु एक करोड ५० लाख भित्रिने अनुमान गरिएको हालै त्यहाँको बगैँचा निरीक्षण गरेका कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र बेनी नगरपालिकाको कृषि शाखाले मरेकमा सुन्तलाखेतीको विस्तारमा सहयोग गर्दै आएका छन् ।

अनुदानमा नयाँ बिरुवा वितरण, बगैँचा व्यवस्थापन, साना सिँचाइ कार्यक्रममार्फत किसानलाई सहयोग गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताए । उनका अनुसार अनुकूल मौसम, उत्पादन दिने नयाँ बिरुवा थपिएको, दाना झर्ने समस्या कम भएको र फल धेरै लागेकाले जिल्लाभर गत वर्षको तुलनामा एकतिहाइले सुन्तला उत्पादन वृद्धि भएको अनुमान गरिएको छ ।

मरेकको छिमेकी छेपारेका बासिन्दाले पनि व्यावसायिक सुन्तलाखेती गर्न थालेका छन् । कच्ची सडकको सुविधा भएको मरेकमा उत्पादन भएको सुन्तलालाई बजारको समस्या छैन । व्यापारीले बगैँचाबाट प्रतिकिलो रु ७५ मा सुन्तला खरिद गरेका छन् ।

अन्य ठाउँको तुलनामा रसिलो र स्वादिलो भएकाले मरेकका सुन्तला बजारमा सहजै बिक्री हुने व्यापारी राजन तामाङले बताउनुभयो । पोखरा, काठमाडौँ, हेटौँडाको बजारमा यहाँको सुन्तला लैजाने गरिएको उनले बताए ।

मरेकको भिरालो पाखा सुन्तला बगैँचाले भरिएको छ । बगैँचा पहेँलपुर सुन्तलाले रङ्गिएर मनमोहक बनेको छ । बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले साविक भकिम्ली गाविसको मरेक, राखु, हल्लेगौडा र पानीस्वाँरालाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गरिएको बताए।

सुन्तला बजारीकरणका लागि सडक स्तरोन्नति गरेर यातायातलाई सहज बनाउने, सिँचाइ र प्रविधि सहयोगका लागि सङ्घीय तथा प्रदेश सरकारका निकायमा समन्वय तथा पहल गरेको बताए । आयआर्जनका लागि गाउँ छाड्नुपर्ने समस्या घटाउन सुन्तलाखेती प्रभावकारी भएको वडाध्यक्ष पुनले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार