माघ ४, २०८१ शुक्रबार January 17, 2025

आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष पर्यटकको संख्या बढेको भन्दै हरेक वर्ष पुसदेखि फागुनसम्म पर्यटक आगमन निकै कम हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मंसिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्सेनि पर्यटक बढ्दै गएका छन् ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यहाँको मनमोहक दृश्यको प्रचार हुँदै गएपछि पर्यटकको आकर्षण बढेको हो । जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ । पर्यटकको आगामन कम भएपछि यहाँ सञ्चालित होटल व्यवसायी पनि फुर्सदिला बनेका छन् ।

ढोरपाटनमा हिउँ परे घुम्न आउने पर्यटक बढ्ने भए पनि अहिले सुनसान भएको ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन अदैले बताए । ढोरपाटनमा घुम्ती बसाई हुने हुँदा यति बेला धेरै स्थानीय बेँसी झरेको उनको भनाइ छ । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष पर्यटकको संख्या बढेको भन्दै हरेक वर्ष पुसदेखि फागुनसम्म पर्यटक आगमन निकै कम हुने अध्यक्ष अदैले बताए ।

अध्यक्ष भण्डारीले भने, ‘यो याम नै ढोरपाटनमा कम चहलपहल हुने गर्छ, चिसो बढेको छ, चिसोका कारण कम मात्रमा पर्यटक आउने गरेका छन्, मंसिरसम्म दैनिक एक सय ५० जना पर्यटक घुमफिरका लागि आउने गर्थे भने अहिले घटेर ३०-४० जना मात्रै आउने गरेका छन्, प्रचारप्रसार निकै भएर होला पहिलेका वर्षहरूमा भन्दा अहिले पर्यटकको संख्या बढ्दै गएका छन् ।’

पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए । तर अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल सञ्चालनमा छन् । चिसोका कारण पाहुन आउन कम भऐपछि केही दिनका लागि आफू पनि बेसी झरेको होटल व्यवसायी श्यामलाल घिमिरेले बताए । पछिल्लो समय ढोरपाटनमा बास बस्ने र खाना खाने सुविधा बढ्दै गएपछि पर्यटकको आकर्षण बढ्दै गए पनि यो सिजनमा कम भएको उनको भनाइ छ ।

अहिले शुक्रबार र शनिबार फाट्टफुट्ट पाहुन ढोरपाटन पुग्ने घिमिरे बताउँछन् । पश्चिम बागलुङको ठूलो व्यापारी केन्द्र बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनसम्म कच्ची सडक पुगेको छ । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकले ढोरपाटन जोडिएपछि थप चर्चा पाएको छ । तर उक्त सडक स्तरोन्नति नहुँदा पर्यटकले सास्ती खेप्नु परेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया