श्रावण ३, २०८२ शनिबार July 19, 2025

बाँकेमा तीन सय उद्योग तथा फर्म खारेज

उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जानकी (बाँके), १० माघ : चालु आर्थिक वर्ष २०८१-८२ को पुस मसान्तसम्म ६ महिनाको समय अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत रमेशबहादुर बुढाथोकीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ दुई सय ३८ उद्योग तथा फर्म खारेज भएका छन् ।

“चालु आर्थिक वर्षको छ महिनामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटनमूलक, सेवामूलकलगायत उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ प्राइभेट र साझेदारी फर्म दुई सय ३८ गरी जम्मा तीन सय ४६ उद्योग तथा फर्महरु खारेज भएका छन्”, प्रमुख बुढाथोकीले भन्नुभयो, “लगतकट्टा (खारेजी) का साथसाथै नयाँ उद्योग तथा फर्महरु दर्ता पनि हुँदै आएका छन् । तर पछिल्ला केही वर्षदेखि लगातार खारेजी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै आएको छ ।”

प्रमुख उद्योग अधिकृत बुढाथोकीका अनुसार छ महिनाको समय अवधिमा विभिन्न प्रकृतिका तीन सय ६८ नयाँ उद्योग र वाणिज्यतर्फ चार सय १० नयाँ फर्म दर्ता भएका छन् । “कार्यालयको तथ्याङ्कमा विगत चार÷पाँच वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्नेको सङ्ख्या घटिरहेको छ भने खारेज गर्नेको सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो, “आर्थिक मन्दी, बैङ्कको चर्को ब्याज, खुला सिमानालगायत कारण भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग तथा फर्म बन्द गर्नुपरेको उद्योगी व्यापारीहरुले गुनासो गर्नुहुन्छ ।”

युवाहरुले उद्योग सञ्चालन गर्नका लागि ऋणधन गरेर उद्योग स्थापना गरे पनि विविध कारणले गर्दा उद्योग टिकाइराख्न र निरन्तर सञ्चालन गर्न नसकेका कारण खारेज गर्नु परेको उहाँले भन्नुुभयो । प्रमुख बुढाथोकीले भन्नुभयो, “युवाहरुले केही गर्छु भनेर उद्योग स्थापना गरे पनि उद्योग टिकाइराख्न र निरन्तर सञ्चालन गर्न नसक्दा खारेज गरेर वैदेशिक रोजगारीका लागि विदेश जाने गर्नुहुन्छ ।”

कार्यालयका प्रशासन अधिकृत सुशील ढकालका अनुसार चालु आवको छ महिनाको समयमा उद्योगतर्फ ६ सय २७ र वाणिज्यतर्फ एक हजार दुई सय ५६ फर्म नवीकरण भएका छन् । त्यसैगरी, पुँजी वृद्धि, ठाउँसारी, नाम परिवर्तन, नामसारी, ठेगाना परिवर्तनलगायत उद्योगतर्फ तीन सय ४० र वाणिज्यतर्फ चार सय ७७ संशोधन गरिएको छ ।

त्यसैगरी, वाणिज्यतर्फ नयाँ फर्म दर्ता हुनेभन्दा खारेज गर्नेकै सङ्ख्या बढिरहेको छ । उद्योग अधिकृत बुढाथोकीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा प्राइभेट फर्म ६ सय ३४ र साझेदारी फर्म १४ गरी कुल ६ सय४८ नयाँ फर्म दर्ता भएका थिए । आर्थिक वर्ष ०७९/८० मा प्राइभेट फर्म आठ सय ५८ र साझेदारी फर्म १६ ढाथोकीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष ०८०/८१ मा प्राइभेट फर्म चार सय ५० र साझेदारी फर्म १२ गरी चार सय ६२ फर्म खारेजी भएका थिए भने आर्थिक वर्ष ०७९÷८० मा तीन सय १२ प्राइभेट फर्म खारेजीमा परेका थिए । केही वर्षयता अघिल्लो आवमा भन्दा नयाँ आवमा क्रमशः दर्ता हुने क्रम घट्दै गएको हो भने खारेजी गर्ने क्रम बढ्दै गएको हो । कार्यालयको तथ्याङ्कले विगत चार वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्ने क्रम घटिरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको देखाएको हो ।

नयाँ दर्ता÷स्थापना भएका उद्योगहरुमा एक सय सात महिला र दुई सय ८६ जना पुरुष गरी जम्मा तीन सय ९३ जना उद्यमी छन् भने ६ सय २० जना महिला र आठ सय ८१ पुरुष गरी कुल एक हजार पाँच सय एकजनाले रोजगारी पाए छन् । नयाँ उद्योग दर्ता, नवीकरण, संशोधन लगायतबाट यस चालु आवको पुससम्ममा उद्योगतर्फ रु ४० लाख ४४ हजार र वाणिज्यतर्फ ७६ लाख ६१ हजार पाँच सय ८५ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयको गत आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार विगत चार वर्षदेखि लगातार कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गइरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको हो । गत आवमा विभिन्न प्रकृतिका सात सय ६० नयाँ उद्योग दर्ता भएका थिए भने दुई सय ३० उद्योग खारेज भएका थिए । आर्थिक वर्ष २०७९÷८० मा आठ सय ७६ उद्योग दर्ता भएका थिए भने एक सय ६० उद्योग खारेजी भएका थिए ।

त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा एक हजार सात सय १२ उद्योग दर्ता भएका थिए सो वर्षमा एक सय ३८ उद्योग खारेज भएका थिए । आर्थिक वर्ष २०७७/७८ मा दुई हजार तीन सय ४१ उद्योग दर्ता भएकामा ९६ उद्योग खारेज भएका थिए । कार्यालयका अनुसार नयाँ दर्ता गरिएका उद्योगमा रु ८१ करोड ६५ लाख ७५ हजार र वाणिज्यतर्फ रु ५७ करोड ९५ लाख ३१ हजार बराबरको पुँजी लगानी छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार