काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलेको कुम्भमेलामा बुधबार बिहान सबेरै एउटा घाटमा घातक भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु र ६० जना घाइते भएका छन् । उत्तर प्रदेश प्रहरीले प्रत्यक्षदर्शी तथा अस्पतालस्थित स्रोतहरूको भनाइ उद्धृत गर्दै जनाएअनुसार भीडले किचेर तीर्थयात्रीको मृत्यु भएको हो ।
बुधबार (हिजो) मौनी अमावश्या अर्थात् माघ कृष्ण औंसीका अवसरमा ‘अमृतस्नान’ हुन लागेका बेला सो घटना भएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार भीडले त्यहाँ लगाइएका बार तथा अवरोध तोडेर ठेलमठेल गर्दा सो अवस्था निम्तिएको हो ।
भारतीय धार्मिक उत्सवहरूमा घातक भीडभाड एक कुख्यात विशेषता हो र अकल्पनीय भक्तजनहरूको भीड हुने कुम्भ मेलामा बिहानै भएको यस घटनाअघि नै दुःखद इतिहास थियो । ६ साता लाग्ने यो उत्सव हिन्दू धार्मिक पात्रोको सबैभन्दा ठूलो मिलनबिन्दु हो र बुधबार पवित्र स्नानको दिनमा लाखौं मानिसको सहभागिता हुने अपेक्षा गरिएको थियो ।
सो घटनापछि उद्धार टोलीहरूले तीर्थयात्रीहरूसँग मिलेर कपडा, जुत्ता र अन्य छरिएका सामानहरूले भरिएको स्थलबाट पीडितहरूलाई बोकेर लैजाँदै गरेको देखिएको थियो । प्रहरी अधिकारीहरूले बाक्लो कम्बलले ढाकिएका मृतकहरूको शव स्ट्रेचरमा बोकेर हिँडेको देखिन्थ्यो । दर्जनौं आफन्तहरू दुर्घटनास्थलबाट करिब १ किलोमिटर टाढा उत्सवका लागि बनाइएको अस्थायी अस्पतालको ठूलो पालबाहिर चिन्तित भएर समाचारको प्रतीक्षा गरिरहेका थिए ।
बुधबार उत्सवको सबैभन्दा पवित्र दिनहरूमध्ये एक हो । उत्सवमा भगवा वस्त्रधारी साधुहरूले लाखौं भक्तजनलाई गंगा र यमुना नदीको संगमस्थलमा पाप–मुक्तिका लागि पवित्र स्नान गराउने कार्यक्रम थियो । तर, यसको सट्टा अधिकारीहरूले तीर्थयात्रीहरूलाई जलमार्गबाट टाढा रहन आग्रह गर्दै लाउडस्पिकर लिएर उत्सव स्थलमा घुमिरहेका थिए ।
स्थानीय सरकारी अधिकारी आकांक्षा राणाले प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) समाचार एजेन्सीलाई केही भीड नियन्त्रण अवरोधहरू ढलेपछि भागदौड सुरु भएको जानकारी दिइन्् । तीर्थयात्री मालती पाण्डेले उनी ब्यारिकेड गरिएको पैदल मार्गमा नदीमा नुहाउन जाँदै गर्दा भागदौड सुरु भएको बताइन् । ‘अचानक भीडले धक्का दिन थालेपछि धेरै मानिस लडे र एकले अर्कोलाई कुल्चिए,’ ४२ वर्षीया पाण्डेले भनिन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका अनुसार केही तीर्थयात्रीले प्रहरीद्वारा स्थापित छेकबार नाघेर संगमतिर जान खोजेपछि बिहान १ देखि २ बजेका बीचमा सो घटना भएको थियो ।
एकाबिहानै यो दुःखद् घटना भए पनि ठूलो संख्यामा तीर्थालुहरू गंगा, यमुना र गुप्त सरस्वती नदीको त्रिवेणीमा स्नान गर्न जानेक्रम भने रोकिएन ।
समाचार एजेन्सीहरूका अनुसार भागदौड भएपछि विभिन्न अखाडाहरूले औंसीका दिन आयोजना गर्न लागेको विशेष स्नानको कार्यक्रम स्थगित गर्ने निर्णय गरेका थिए । तर, गंगा र यमुना नदीका किनारमा करोडौं मानिसले स्नान गरेका थिए । भागदौडका क्रममा हताहतीका घटना भएपछि मेला लागेको ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने सुरक्षाकर्मीहरूले भक्तजनलाई संगमतिर नभई नदीको किनारमै स्नान गर्न आग्रह गरेका थिए ।
आयोजकहरूले यस वर्षको उत्सवको आकारलाई एक अस्थायी देशसँग तुलना गरेका छन् । २६ फेब्रुअरीको अन्तिम दिनसम्म ४० करोड तीर्थयात्री स्थानका लागि सो स्थानमा आउने अनुमान गरिएको छ ।
सो स्थानमा १३ जनवरीदेखि कुम्भ मेला सुरु भएको थियो । त्यस दिनदेखि बुधबारसम्म २५ करोडभन्दा बढी मानिसले स्नान गरिसकेको अनुमान गरिएको छ । सो कुम्भ मेलालाई संसारकै सबैभन्दा ठूलो भेला मानिन्छ ।
घटनास्थलबाट बीबीसी संवाददाता समिरा हुसेनले दिएको जानकारीअनुसार नदीतटमा बिहानीपख ‘पुरै अस्तव्यस्त र कोलाहलको स्थिति’ थियो भने भुइँमा लुगाफाटा, जुत्ता, कम्बल र झोलाहरू छरपस्ट थिए ।
सो घटनापछि नागा साधुहरूले गर्ने शाहीस्नान भनिने विशेष स्नान केही ढिलो गरी सुरु भएको थियो । शरीरभरि विभूति घसेका दिगम्बर नागा साधुहरूको समूह स्नान गर्न गएको हेर्न र उनीहरूबाट आशीर्वाद लिन मानिसहरूको भीड सडकछेउछाउ उभिएको देखिएको थियो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार बिहान ‘परिस्थिति नियन्त्रणमा’ आइसकेको दाबी गर्दै मेला हुने स्थानमा ८ देखि १० करोड श्रद्धालु रहेको भन्दै उनीहरूलाई संगमतिर नजान बरु आफू भएको स्थाननजिकैको नदीतटमा स्थान गर्न आग्रह गरेका थिए । उनले भनेका थिए, ‘यो विशेष दिनमा गंगामा जहाँ स्नान गरे पनि उही फल पाइन्छ ।’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने मानिसका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । ‘प्रयागराज महाकुम्भमा भएको दुर्घटना निकै दुःखद् छ, यसमा आफ्ना प्रियजन गुमाउने श्रद्धालुहरूप्रति म गहिरो समवेदना व्यक्त गर्छु,’ सामाजिक सञ्जाल ‘एक्स’मा भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन् । उनले आफू राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र बिहान भएको घटनाका विषयमा योगी आदित्यनाथसँग कुरा गरेको जानकारी दिएका छन् ।
के हो कुम्भ मेला ?
कुम्भ मेला हिन्दू पौराणिक कथामा आधारित छ, जसमा अमृत कलश नियन्त्रणका लागि देवता र दानवहरूबीच युद्ध भएको थियो ।
पौराणिक मान्यतानुसार कुम्भ मेलाको आरम्भको कथा समुद्र मन्थन गर्दा उत्पन्न अमृतको घडा (कुम्भ)का लागि देवता र दानवहरूबीच युद्ध भएको प्रसंगसँग जोडिएको देखिन्छ । अमृत पिएर अमर हुन पाउने लोभमा देवता र असुरबीच संग्राम हुँदा सो कुम्भबाट केही थोपा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक गरी चार स्थानमा खसेको किंवदन्ती छ ।
सो युद्ध १२ देववर्षसम्म चलेको थियो र प्रत्येक देववर्षको अवधि पृथ्वीमा १२ वर्षसम्म हुने गर्छ । कुम्भ मेला चार सहरमा प्रत्येक १२ वर्षमा मनाइने गरिन्छ । दुईवटा कुम्भ मेलाको बीचमा अर्धकुम्भ मेला पनि आयोजना गरिन्छ ।
चारवटै सहरमा कुम्भ मेलाको आयोजना गर्ने गरिएको भए पनि प्रयागराजमा आयोजित हुनेलाई मेलालाई महाकुम्भ मानिन्छ । त्यहाँ पुग्ने श्रद्धालु र पर्यटकको संख्या प्रत्येकपटक बढ्दै गएको पाइन्छ ।
अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले मेला सुरु हुनुअघि यसपालिको कुम्भ ‘अझ विशेष’ हुने बताएका थिए । ‘घडाबाट अमृत छचल्किएर पोखिँदाको समय जसरी नै अहिले ग्रह र नक्षत्रहरू मिलेर बसेका छन्,’ उनले बीबीसीसँग भनेका थिए, ‘यस्तो उत्तम अवस्था १२ वटा कुम्भ पर्वपछि अर्थात् १ सय ४४ वर्षपछि आएको छ ।’
भारतमा बारम्बार घातक भागदौडका घटनाहरू हुने गरेका छन् । यही महिना आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरमा भीडले कुल्चिँदा ६ जनाको मृत्यु भएको थियो । गत वर्ष उत्तर प्रदेशको हाथरसमा आयोजित एउटा धार्मिक प्रवचनस्थलमा भागदौड मच्चिँदा कम्तीमा १ सय २० जनाको ज्यान गएको थियो ।
सरकारी तथ्यांकअनुसार भारतमा सन् २०२१ र २०२२ मा ४७ वटा भागदौडका घटना भएका थिए । यी घटनामा कति मानिसको मृत्यु भयो भन्ने यकिन तथ्यांक छैन ।
उत्तरी सहर प्रयागराजमा अन्तिमपटक सन् २०१३ मा आयोजित उत्सवमा अन्य ३६ जनाको कुल्चिएर मृत्यु भएका थियो ।
यस्तै, सन् १९५४ मा कुम्भ मेलाको एकै दिन कुल्चिएर र डुबेर ४ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । यो विश्वव्यापी रूपमा भीडसँग सम्बन्धित विपत्तिमा सबैभन्दा ठूलो मृत्यु संख्यामध्ये एक हो । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया