फागुण ५, २०८१ सोमबार February 17, 2025

चीनको लगानीबाट तर्सिंदै युरोप

चीनबाटको आयात बढ्ने र निर्यात घट्दै जाँदा युरोपेलीहरूले चीनको विकल्प खोज्न थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सन् २०२३ मा युरोपेली संघको सबैभन्दा ठुलो व्यापार साझेदारका रूपमा रहेको चीनबाट संघ तर्सिन थालेको छ। अमेरिकापछि सबैभन्दा बढी व्यापार चीनबाट गरिरहेको संघले सन् २०२३ मा सात सय ३९ बिलियन युरो सामानको आयात गरेको थियो। युरोपले चीनलाई जम्माजम्मी दुई सय ३० बिलियन युरोका सामग्री निर्यात गर्ने गर्छ।

चीनबाटको आयात बढ्ने र निर्यात घट्दै जाँदा युरोपेलीहरूले चीनको विकल्प खोज्न थालेका छन्। उनीहरूको विकल्पका रूपमा दक्षिण पूर्वी एसियाली मुलुकहरू रहेका छन् तर ती मुलुक छिर्न चीनले विभिन्न ठाउँमा साँध लगाउन थालेको एउटा रिपोर्टले देखाएको छ।

संसारकै प्रख्यात अडिट कम्पनी प्राइस वाटर हाउस कूपरले हालै जारी गरेको ट्रान्सपोर्ट एन्ड लजिस्टिक ब्यारोमिटर नामको रिपोर्ट अनुसार चीनले इच्छाबेगर वा उसको सहयोग बिना युरोपेली कम्पनीले पूर्वी एसियाको कुनै पनि बजारसम्म पहुँच पाउन नसक्ने देखिएको छ।

मूलतः ठूला अधिकांश पानी जहाजका बन्दरगाहमा चीनको लगानी रहेका कारण उसको अनुमति बिना एसियाली बजारमा अन्य मुलुकको प्रभाव र पहुँच सीमित भइरहेको रिपोर्टले देखाएको छ। रिपोर्टले चीनको सहयोग बिना युरोपले आफ्नो बजार विस्तार गर्न नसक्नुको मूल कारण बन्दरगाहमा उसको बढ्दो नियन्त्रणलाई मानेको छ। वैश्विक परिवहनको क्षेत्रमा बेग्लाबेग्लै देशमा भएका व्यवसाय र कम्पनीको अधिग्रहण र कम्पनीको विलयजस्ता कुरामा अनुसन्धान गर्दा यसको खुलासा भएको हो।

दक्षिणपूर्वी एसियामा लगानी बढाउँदै जाँदा चीनबाट युरोपेलीहरूले छुटकारा पाउने केही पश्चिमा मुलुकहरूको भ्रम छ। त्यो भ्रमको खुलासा गर्दै रिपोर्टले भनेको छ, ‘कैयौँ कम्पनीहरूलाई चिनियाँ कम्पनीले सिधा लगानी गर्ने गरेको छ। केहीलाई विलय र अधिग्रहण गर्ने गरेको छ। यसरी लगानी, विलय र अधिग्रणबाट चीनले दक्षिण पूर्वी एसियाका कैयौं रणनीतिक स्थानमा आफूलाई बलियो बनाउँदै लैजान थालेको छ।

रिपोर्टले एउटा उदाहरण पेश गरेको छ। जसमा म्यानमारको सामुद्रिक क्षेत्रमा चीनले बन्दरगाह बनाउँदैछ। यहाँ बनाइएको बन्दरगाहबापत चीनले त्यस क्षेत्रको सामुद्रिक क्षेत्रमा आफ्नो नियन्त्रण कायम गर्ने देखिन्छ। क्याउकफ्युमा बनाइन लागेको प्रस्तावित बन्दरगाह चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ र लगानीको रणनीतिक अंग हो। यो लगानीमार्फत हिन्द महासागरमा चीनको पहुँच वृद्धि हुने छ। यस्तै ब्रुनाईको मुआराको बन्दरगाह पनि चीनको नियन्त्रणमा छ।

यी त भए ठूलो लगानी गरिएका बन्दरगाहहरू। चीनले सानातिना लगानी गरेर आफूलाई रणनीतिक तवरले सशक्त रूपमा उभ्याउने काम पनि गरेको छ। यस्तो काम उसले सिंगापुर, मलेसिया र थाइल्यान्डका बन्दरगाहमा पनि गरेको छ। ती बन्दरगाहमा ऊ सानो लगानीकर्ताका रूपमा रहेको छ।

यसैगरी चीनले भियतनाम, कम्बोडिया, इन्डोनेसिया र फिलिपिन्सका बन्दरगाहमा पनि लगानी गरिरहेको छ। पिडब्लुसी जर्मनीले गरेको अनुसन्धानमा पछिल्लो समय पश्चिमा मुलुकले दक्षिण पूर्वी एसियामा भएका विकासबारे ध्यान दिएका छैनन् भन्ने प्रस्ट भएको बताएको छ।

संसारभर सामग्रीहरू ढुवानी तथा परिवहन गर्नका लागि आवश्यक संस्था, कम्पनी, बन्दरगाह लगायतका एक सय ९९ वटा संस्थाको विलय र अधिग्रहण यसबीचमा भएको देखिन्छ। यी सबै गएका केही वर्षमा भएका थिए। ती सबैको मोल कम्तीमा पाँच करोड अमेरिकी डलर रहेको देखिन्छ।

गएको वर्षभन्दा सन् २०२४ मा यस्ता सम्झौताहरू बढी भएको देखिन्छ। यस्ता सम्झौताको संख्या ज्यादै कम देखिन्छ। हुन त यस्ता कम्पनीको क्रय, विक्रय, अधिग्रहण तथा विलय सन् २०१८ देखि २०२२ सम्म दुई सय २३ वटासम्म देखिएका थिए। सन् २०२५ मा यस्ता गतिविधि अझ बढ्ने अनुमान गरिएको छ।

संसारका हरेक कुनामा चीनले लगानी गरिरहेको छ। खासगरी विकास निर्माण, सडक, हवाई अड्डादेखि बन्दरगाहसम्म उसले बनाउने कुरामा रुचि राखेको छ। विशेषज्ञहरूले धेरै पहिलेदेखि यसको परिणामबारे पश्चिमा मुलुकलाई सचेत बनाउँदै आइरहेका थिए। गत वर्ष मात्र जर्मनीको ह्याम्बर्गस्थित एउटा प्रमुख बन्दरगाह चिनियाँ कम्पनीलाई अधिकार दिने सम्झौतालाई सरकारले अस्वीकार गरेको थियो। चिनियाँ कम्पनीले युरोपका कयौं बन्दरगाहमा लगानी बढाएका छन्।

युरोपेली मुलुकहरू चीनप्रतिको निर्भरता घटाउन चाहन्छन् तर लगानीका मामिलामा आक्रमक रूपमा अघि बढेको चीनलाई रोक्न युरोपेली देशलाई सहज भने छैन। पछिल्ला समय चीनको लगानी युरोपेली मुलुकहरूमा यति बढी छ कि तिनले आफूलाई निकै फैलाएका छन् र तिनको प्रभावलाई निस्तेज पार्नु लगभग असम्भव हुने तहमा पुगिसकेको छ। त्यसैले पनि केही देशले चीनलाई नयाँ परियोजनामा स्वीकृति दिन हिच्किचाउन थालेका छन् । उसलाई नयाँ परियोजनामा रोके पनि चीन र युरोपबीच बढ्दो आर्थिक असमानताले भविष्यमा अझ अप्ठेरो पार्दै लैजाने देखिन्छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया