चैत्र १२, २०८१ मंगलबार March 25, 2025

ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै

जयमेरुकोटको विशिष्ट कलाकृति र निर्माणशैली कर्णाली नदी पूर्वका देवल भन्दा फरक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यहाँको अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन सुरु गरिएको छ। पुरातत्व विभागको टोलीद्वारा उक्त कोटको उत्खनन सुरु गरिएको हो।

उत्खननका लागि गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको थियो। सो बजेटको सहयोगमा पुरातत्व विभागको टोलीले २३ दिनदेखि उत्खनन गरिरहेको छ।

अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद् भाष्कर ज्ञवालीले बताए। पहिलो पटक उत्खनन गरी अध्ययन, अनुसन्धान सुरु गरिएको यहाँको कलाकृति र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र रहेको उनले बताए।

अधिकृत ज्ञवालीका अनुसार उत्खननका क्रममा भग्नावशेषको ‘नम्बरिङ’ गर्ने काम भइरहेको छ। उनले भने, ‘अजयमेरुकोटको विशिष्ट कलाकृति र निर्माणशैली कर्णाली नदी पूर्वका देवल भन्दा फरक छ।’

उत्खननमा प्राप्त विवरण अनुसार बिचमा मण्डप बनाएर दायाँबायाँ देवल बनाउने शैली छ। बैठक कक्ष र नाउला विशिष्ट किसिमका छन्। अजयमेरुकोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयासस्वरूप पुरातत्व विभागको अर्को टोलीले थप अध्ययन गर्ने उनले बताए।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले अजयमेरुकोट जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनमा तीनै तहका सरकारको ध्यान जानुपर्ने बताइन‍्। उनले प्रदेश सरकार यस्ता कार्यक्रममा आवश्यक सहयोग गर्न तयार रहेको बताइन‍्।

अजयमेरुकोट संरक्षणको महत्व अझ बढ्दै गएकाले स्थानीय तहले सङ्घ र प्रदेश सरकारबाट थप बजेट तथा आवश्यक सहयोग माग गरेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्टले बताए।

अजयमेरुकोटको स्थापना १३औँ शताब्दीको उत्तरार्धमा कत्युरी वंशका दुई भाइ राजकुमार सहस्त्रपाल र निरयदेव पालले सिञ्जा राज्यसँग लडाइँ गरी जितेर स्वतन्त्र राज्य घोषणा गरी कोट स्थापना गरेको किम्बदन्ती छ।

एकथरिले यस कोटलाई राजा नागी मल्लद्वारा निर्माण गरिएको पनि भन्ने गरेका छन्। यद्यपि प्रमाणहरूले यो कोट कत्युरी वंशजका पाल राजाले निर्माण गरेको पुष्टि भएका छन्। रैका राजवंशका नागी मल्लले विसं १४४१ मा अजयमेरुलाई कब्जा गरेपछि मात्रै अजयमेरुकोट नागी मल्लको कोटका रूपमा चिनिएको बताइन्छ। यस ठाउँमा राजा निरयपालदेवका ताम्रपत्र र विसं १४१९ सम्मका शिलालेखहरू पाइन्छन्।

अजयमेरुकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठकस्थलसहितका ऐतिहासिक वस्तु छरिएर रहेका छन्। हाल अजयमेरुमा रहेका तीन नाउलामध्ये दुई नाउलाको भग्नावशेष मात्र छन्। एक नाउला पानी खान प्रयोग भइरहेको छ। ढुङ्गे देवल र नाउलामा कुँदिएका कलात्मक मूर्तिले प्राचीन वास्तुकला झल्काउँछ।

अजमेरुकोटको मुख्य दरबार भएको स्थानको डाँडालाई गाड (खोला)ले घेरेको छ। तल गाडदेखि माथि कोट भएको स्थानमा पुग्न १५–२० मिनेट उकालो उक्लनुपर्छ। कोट भएको डाँडामाथि दरबार र राजाका भाइभारदार बस्ने हवेली भग्नावशेषका रूपमा देखिन्छन्।

दरबारको संरचना सबै भत्केको अवस्थामा छ। बन्ने बेलामा मुख्य दरबार सात तलाको थियो भनिन्छ। सबैभन्दा माथिल्लो तलाबाट उत्तराखण्डमा कत्युरी राजाबाट निर्माण गरिएको कत्युरी राजवंशको कुलदेवी जगदम्बा भगवतीको मन्दिरको दर्शन गर्ने र जल चढाउने गरिन्थ्यो।

यही छेउतिर राजाका घोडा बाँध्ने स्थान छ। यसलाई स्थानीयवासी ‘घोलिडाँस’ (घोडाको तबेला) भन्ने गर्छन्। दरबार स्थलको पूर्व–दक्षिणबाट तल गाड (खोला) भएको स्थानसम्म रानीले पानी भर्न र नुहाउन जाने जमिन भित्रबाट कोरेर ढुङ्गाले चिनेर माथिबाट बन्द भएको कोटदेखि गाडसम्म जाँदा अँध्यारो नहोस् भन्ने उद्देश्यले बनाएका २५ वटा झ्यालसहितको प्राचीन सुरुङ छन्।

कोट स्थलदेखि गाडको किनारमा दरबारका मान्छेको बैठक स्थल छ। यसलाई स्थानीयवासी ‘ओखडेकी माँडौ’ भन्छन्। गाडको केहीमाथि दुईवटा देवल छन् यसै करपुटार खेतको सिरानमा पानी खाने तीन वटा प्राचीन नाउला छन्। यो स्थल ऐतिहासिक मल्लकालको दरबार अवलोकनका लागि प्रसिद्ध छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया