काठमाण्डौः विश्व महामारी कोरोना भाईरसका कारण मोरङ र पर्सामा दुई-दुई, काठमाडौं र सप्तरीमा एक-एक गरी ६ जनाको ज्यान गएको छ । राजधानी काठमाण्डौंको बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पतालमा उपचाररत सर्लाही मलंगवा–६ की ६५ वर्षीयाको बुधबार मृत्यु भएको छ ।
एपीएफ अस्पतालका प्रवक्ता डा. प्रवीन नेपालका अनुसार ज्वरो र निमोनियाबाट ग्रस्त भएकी ती महिलालाई सर्लाहीबाट साउन १६ मा रेफर गरेर स्वयम्भूस्थित मनमोहन अस्पताल भर्ना गरेर भेन्टिलेटरमा राखिएको थियो । दुईदिन पश्चात उनलाई कोरोना रहेको पुष्टि भएपछि भोलिपल्ट बलम्बुको एपीएफ अस्पताल भर्ना गराइएको थियो ।
पर्षाको वीरगन्ज–१५ भिस्वाका ४६ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ । यस्तै सोमबार ज्यान गुमाएकी पोखरिया नगरपालिका–९ की १८ वर्षीया किशोरीमा संक्रमण रहेको पुष्टि भएको छ ।
भिस्वाका पुरुषको वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी मधुमेहका बिरामी थिए । अस्पतालमा उनलाई श्वासप्रश्वासको समस्या देखिएको थियो । युवतीको भने पखाला लागेपछि सोमबार उपचारका लागि वीरगन्जको नेसनल मेडिकल कलेजतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । उनको मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमण देखिएको हो ।
परीक्षणको नतिजा मंगलबार राति आएको हो । पोखरिया–८ स्थायी घर भएकी उनी पोखरिया–९ स्थित मामाघरमा बस्दै आएकी थिइन् । पर्सामा साउन यता मात्र संक्रमणले १४ जनाको मृत्यु भइसकेको छ ।
मोरङ संवाददाताका अनुसार कोसी अस्पतालको आइसोलेसनमा उपचाररत २ जनाको कोरोना संक्रमणका कारण बुधबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका ९ र रंगेली नगरपालिका ८ का ४५–४५ वर्षीय पुरुषको मृत्यु भएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।
विराटनगरका पुरुष मंगलबार राति श्वास फेर्न गाह्रो भएर अस्पताल पुगेका थिएन । उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । रंगेलीका पुरुषको भने बुधबार बिहान साढे ९ बजे अस्पताल आइपुग्दा मृत्यु भएको डा. यादवको भनाइ छ । ‘दुवै जनाको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ,’ उनले भने ।
यस्तै सप्तरीको रुपनी गाउँपालिका–५ गढियामा बुधबार होम क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि भएको छ । उनी डेढ महिनाअघि मलेसियाबाट घर फर्किएका थिए । कोरोना संक्रमणको आशंकामा जिल्ला स्वास्थ्य कार्यालयले उनको शवको अन्तिम संस्कार गर्न रोक लगाएर बुधबार स्वाब संकलन गरेको थियो ।
राजविराजस्थित गजेन्द्र नारयणसिंह अस्पतालमा गरिएको स्वाब परीक्षणमा ती व्यक्तिमा कोभिड-१९ पुष्टि भएको अस्पततालका प्रमुख डा. रञ्जित झाले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया