असार २३, २०८२ सोमबार July 7, 2025

शिक्षक महासंघले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासंघको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणको आन्दोलनका माग सुनुवाइ नभएकाले दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताए। महासंघले यही फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो। विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासंघको आपत्ति छ।

महासंघका अध्यक्ष सुवेदीले स्थायी, राहत, साविक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षकलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीको मुख्य मुद्दा शिक्षा ऐनबाट सम्बोधन हुनुपर्ने र विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री ऐन ल्याउने विषयमा आफूहरूको गम्भीर चासो रहेको बताए।

उनका अनुसार दोस्रो चरणको आन्दोलनअन्तर्गत प्रमुख राजनीतिक दलका कार्यालयमा प्रतिनिधिमूलक धर्ना कार्यक्रम राखिएको छ। जसअनुसार फागुन २७ देखि चैत ५ गतेसम्म नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिइने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए।

आन्दोलनकै क्रममा हरेक जिल्ला आन्दोलन परिचालन समितिले आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसदसँग भेट गरी विद्यालय शिक्षा ऐन जारी गर्न दबाब सिर्जना गर्ने उनले बताए।

यस्तै अध्यक्ष सुवेदीले चैत ५ गतेसम्म माग पूरा नभए चैत ७ गतेदेखि चैत १५ गतेसम्म काठमाडौंमा रिले अनसन र चैत २० गतेबाट अनिश्चितकालीन सडक आन्दोलनका कार्यक्रम अगाडि बढाइने बताए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया