असार २५, २०८२ बुधबार July 9, 2025

विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र

काम सम्पन्न गर्ने भन्दै ठेकेदार कम्पनीले अहिलेसम्म तीनपटक निर्माण सम्झौताको म्याद थप गरिसकेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्वत, ८ चैत । विहादी गाउँपालिका–२ बर्राचौरमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र बनेको छ । विकट क्षेत्रका नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको अस्पताल निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको हो ।

पन्ध्र शय्या क्षमताको अस्पताल १७ महिनामा निर्माण सम्पन्न गर्नेगरी विसं २०७७ मङ्सिरमा भ्याली बाबुरत्न जेभी कम्पनीले जिम्मा लिएको थियो । समयमा काम नगर्दा निर्माण भएका संरचना पनि जीर्ण बन्दै गएका छन् ।

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखरामार्फत निर्माण हुन लागेको उक्त भवन छ करोड लागतमा बन्न लागेको हो । साउदी सरकारको पुनर्निर्माणसम्बन्धी साउदी फन्डबाट अस्पताल निर्माण थालिएको थियो ।

अस्पताल सम्पन्न भएर सञ्चालनमा आइसक्ने बेला भइसक्दा पनि निर्माण व्यवसायीको लापरबाही र स्थानीय सरकारले दबाब नदिँदा एक तला ढलान गरेर अलपत्र अवस्थामा छाडिएको विहादी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद भुसालले बताए ।

ठेकेदारको लापरबाहीका कारण पाँच वर्षभन्दा बढी भइसक्दा पनि भवन सम्पन्न हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । ठेकेदारले अस्पताल निर्माण सम्झौताअनुसार समयमा सम्पन्न नगरी पटकपटक म्याद थप गर्दै आएको स्थानीय बताउँछन् । काम सम्पन्न गर्ने भन्दै ठेकेदार कम्पनीले अहिलेसम्म तीनपटक निर्माण सम्झौताको म्याद थप गरिसकेको छ ।

अस्पतालका लागि स्थानीय डोलेन्द्र गिरी, राम गिरी, कृष्ण गिरी, भूपेन्द्र पौडेल, भूमिश्वर पौडेल, अर्जुन भट्टराईलगायतले निःशुल्क जग्गा उपलब्ध गराएपछि निर्माण प्रक्रिया सुरु भएको थियो । योसँगै स्थानीयले समयमा सर्वसुलभ स्वास्थ्य सेवा पाउन् भनेर उर्वरायुक्त जमिन दान गरेका जग्गादाता निराश बनेका छन् ।

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराका इन्जिनियर सुवास बरालले ठेकेदार कम्पनीले नियमानुसार पाउनुपर्ने रकम लिइरहेको बताए । ठेकदारले ल्याएको बिलबापत रकम लिएको बताउँदै अहिलेसम्म रु एक करोड ६५ लाख भुक्तानी लिइसकेको उनले जानकारी दिए । करिब १२ हजार वर्गफिटमा बन्ने भवनमध्ये एउटा ब्लकको केही वर्षपहिले ढलान भए पनि ‘बी ब्लक’को ढलान हुन बाँकी रहेको उनले बताए ।

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार भ्याली बाबुरत्न जेभी कम्पनीले स्याङ्जा आरुचौरमा आयुर्वेदिक अस्पताल र सेतीदोभानमा प्राथमिक अस्पतालको भवन निर्माणको सम्झौता गरी करिब १९ करोड बराबर निर्माण सम्झौता गरेको थियो । निर्माण जिम्मा लिए पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको भवन अलपत्र पारेको भन्दै स्थानीय निराश बनेका छन् ।

विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले गौरवको योजनाका रूपमा रहेको उक्त भवन अलपत्र परेकोबारे सङ्घीय स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेशमा जानकारी गराइएको बताए । निर्माण अलपत्र पार्ने ठेकेदारसँग सम्झौता रद्द गरेर अर्कोलाई दिन पहल गरिएको उनको भनाइ छ ।

समयमा अस्पताल नबन्दा विहादीका छ, पैँयू गाउँपालिकाका सातवटा वडाका साथै छिमेकी जिल्ला बागलुङ र गुल्मीका नागरिकहरू सामान्य उपचारका लागि पाल्पा, बुटबलका अस्पतालमा जान बाध्य भएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार