काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टीलाई अब फुटबाट जोगाउन चमत्कारै हुनुपर्ने अवस्था बनिसकेको छ । फुटको खतरा देखेरै ६१ सांसदले एकताको पक्षमा हस्ताक्षर गरेर दबाब सृजना गरेका हुन् । अब लगभग पार्टी फुट्ने भयो भनेर नेताहरु आ-आफ्नो रणनीतिमा लागिरहेका छन् । सचिवालयमा रहेका देखि स्थायी कमिटीमा रहेका र सांसदहरुको आफ्नै तयारी छ । उनीहरु पनि उपगुट बनाएर बार्गेनिङ शक्ति बढाउन उद्धत भइसकेका छन् ।
सचिवालयमा ओलीले लगभग बहुमत बनाइसकेका छन् । स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली विरोधीको बहुमत छ । प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल ओलीको राजीनामाको पक्षमा उभिएका छन् । उनीहरुसँग पार्टी कमिटीमा बहुमत छ । तर, संसदमा ओली पक्षकै बहुमत रहेको हिसाबकिताब निकालिएको छ ।
पार्टी जोगाउने अन्तिम विकल्प
नेकपा फुटिहालेको छैन । फुटको संघारमा रहेकाले जोगाउने हरसम्भव प्रयासमा केही नेताहरु लागेका छन् । बामदेवले प्रस्तुत गरेको छ बुँदे प्रस्तावमा कुरा मिलाउने प्रयास समेत भएको छ । प्रस्तावलाई परिष्कृत गरी जानसकिने प्रचण्ड पक्षको भनाई रहेको छ । एक व्यक्ति एक पदमा माधव नेपालको अडान छ । उनी कुनै हालतमा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराउने पक्षमा छन् । नसकेमा अध्यक्षबाट भएपनि हटाउनुपर्ने पक्षमा छन् ।
प्रचण्ड पार्टीको आन्तरिक झमेलामा एकल अध्यक्ष बन्न चाहिरहेका छन् । महाधिवेशनको टुंगो छैन । त्यसमाथि पूर्व एमालेले एकता महाधिवेशनमा आफूलाई अध्यक्ष स्वीकार गर्लान् भन्ने विश्वास गर्न छाडिसकेका छन् । त्यसैले प्रचण्ड कुनै हालतमा एक व्यक्ति एक पदको मुद्दामा अडिग रहेर पार्टीको जिम्मेवारी आफ्नै हातमा लिन चाहिरहेका छन् । त्यसैले नेकपाको विभाजन टार्न कि त ओलीले राजीनामा दिनुपर्ने हुन्छ कि त अध्यक्ष पद छाडी प्रचण्डलाई पार्टीको सम्पूर्ण अधिकार हस्तान्तरण गर्नुपर्ने हुन्छ । यो दुवै सम्भव होला जस्तो देखिएको छैन । रिपोटर्स नेपालबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया