काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एमालेसँग भएको सहमतिअनुसार संविधान संशोधन प्रक्रिया अघि बढाउन ढिलाइ भएको स्वीकार गरेका छन्।
पार्टीनिकट यातायात व्यवसायीको महाधिवेशनलाई सम्बोधन गर्दै खड्काले संविधान संशोधन कांग्रेस र एमाले दुवैको साझा एजेन्डा भएको स्पष्ट पारे।
उनले भने, “संविधान संशोधनको काम अघि बढाउन ढिला भएको छ। संयन्त्रमा म स्वयं छु। पार्टीको तर्फबाट ढिलासुस्ती भएको हो, त्यो स्वीकार्दा अप्ठ्यारो मान्नुपर्ने केही छैन।”
खड्काले सहमतिको आधारमा कार्यदल गठन गरी संशोधन प्रक्रियालाई औपचारिकता दिने तयारी भइरहेको जनाए। उक्त कार्यदलले आन्तरिक छलफलमार्फत साझा आधार तयार गर्ने र त्यसपछि माओवादी केन्द्रलगायत अन्य दलहरूसँग संवादमार्फत सहमति निर्माण गरिने जानकारी दिए।
उनले संसद्मा सहमति भएपछि आवश्यक संरचना तयार गरी संविधान संशोधन प्रक्रिया अघि बढाउने उल्लेख गरे। खड्काले स्पष्ट रूपमा भने, “समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता जनताले प्राप्त गरेका अधिकारहरूमा कुनै पनि कटौती हुनेछैन।”
त्यस्तै, खड्काले सरकारको कार्यशैलीमा देखिएको कमीकमजोरी सच्याउनुपर्ने आवश्यकता औंल्याउँदै ‘कांग्रेस र एमालेबीच भएको सहमति’ बाट दायाँबायाँ नहुने प्रतिबद्धता पनि दोहोर्याए।
उनले भने, “सभापतिले पनि भन्दै आउनुभएको छ—सरकारको कार्यशैली सुधार गर्नुपर्छ। हामीले प्रधानमन्त्रीलाई भनेका छौँ—नागरिकको भावना बुझेर बाहिर देखिएको असन्तुष्टि सम्बोधन गर्दै अघि बढ्नुपर्छ।”
कार्यवाहक सभापति खड्काले प्रधानमन्त्री स्वयंले पनि जनस्तरमा रहेको असन्तुष्टि कम गर्दै जाने दिशामा काम गर्नुपर्ने धारणा राखेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया