काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बनेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले लोकतन्त्रमा राजनीतिक दलहरूको आवश्यकता रहेको भए पनि नेपालमा ती दलहरू विचार, सिद्धान्त र आदर्शभन्दा बाहिर गएर स्वार्थ समूहमा परिणत भएको बताएका हुन्।
“लोकतन्त्रमा दलहरू विचारका वाहक हुन्छन्,” अध्यक्ष भट्टराईले भने, “तर नेपालमा दलहरू जसरी पनि चुनाव जित्ने, सत्तामा पुग्ने र राज्यको दोहन गर्ने माध्यम बनेका छन्। बिना लगानी सम्पत्ति आर्जन गर्ने थलो जस्ता बनेका छन्।”
उनले दलहरूको प्रतिष्पर्धाबाट लोकतान्त्रिक वातावरण निर्माण हुने भए पनि वर्तमान दलहरू विचार र नैतिकताको वाहक बन्न नसकेको टिप्पणी गरे। राजनीतिक दलहरूको यस्तो प्रवृत्तिले दलीय आवद्धता नै अब देशको विकासमा बाधक बन्न थालेको उनको भनाइ थियो।
भट्टराईले नेपाली अर्थतन्त्रमा गुणात्मक फड्को मार्न गैरआवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। एनआरएनए मार्फत देशमा लगानी, सीप र प्रविधि भित्र्याउन सकिने भन्दै उनले संघको भूमिकालाई सशक्त बनाउँदै जानुपर्नेमा जोड दिए।
कार्यक्रममा उनले लोकतन्त्र सुदृढ गर्न र देशको समुन्नतिका लागि दलहरूले आफ्ना संरचना, सोच र कार्यशैलीमा आमूल सुधार गर्नुपर्ने धारणा राखे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया