काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीज दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । जनमत सर्वेक्षणहरूमा निरन्तर पछि परिरहेका अल्बनीजले नेतृत्व गरेको लेबर पार्टीले अन्ततः चमत्कारपूर्ण जित हासिल गर्दै सत्तामा पुनरागमन गरेको हो ।
देशभरि महँगी र आर्थिक कठिनाइले जनजीवन कष्टकर बन्दै गएको समयमा अल्बनीजले जनसमर्थन कायम राख्दै सत्ताको बागडोर सम्हाल्न सफल भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा अन्तिम मतदान केन्द्रहरू बन्द भएको केही समयमै अस्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसन (एबीसी) ले लेबरको विजयको घोषणा गरेको थियो।
यो नतिजा विपक्षी नेता पिटर डटनका लागि गम्भीर झट्का साबित भएको छ । सन् २००१ यता लगातार जित्दै आएको आफ्नै सुरक्षित क्षेत्र — क्विन्सल्याण्डको एक निर्वाचन क्षेत्र-गुमाउने जोखिम समेत डटनले बेहोर्नुपरेको छ । विश्लेषकहरूका अनुसार पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना हुने प्रकारका कट्टरपन्थी नीतिहरू र विभाजनकारी छविका कारण उनले मतदाताको विश्वास गुमाएका हुन् ।
अल्बनीजको नेतृत्वमा लेबर पार्टीले अपेक्षाभन्दा धेरै सिट जित्न सफल भएको एबीसीले जनाएको छ । यस जितले अस्ट्रेलियाको राजनीतिक परिदृश्यमा लेबर पार्टीको पकड झनै मजबुत बनाएको छ।
यसपटकको निर्वाचनले अस्ट्रेलियाली जनताले स्थिरता र समावेशी नेतृत्वको खोजी गरेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया