वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार लागुऔषध तस्करी विरुद्ध लड्न मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेन बामसँग फोनमा अमेरिकी सेना पठाउने प्रस्ताव राखेको पुष्टि गरेका छन् ।
सेन बामले शनिबार एक सार्वजनिक कार्यक्रममा उनले आफ्नो देशमा अमेरिकी सेना पठाउने ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेको तर यसको सट्टा उनले नजिकको सहयोग र सूचना साझेदारीको प्रस्ताव गरेको खुलासा गरेका थिए ।
ट्रम्पले आइतबार पत्रकारहरूलाई कार्टेलहरू ‘डरलाग्दा मानिसहरू हुन् जसले दायाँ बायाँ मानिसहरूलाई मारिरहेका छन्’ भन्ने दाबी गर्दै आफूले सैनिक तैनाथीको प्रस्ताव गरेको ‘सत्य हो’ भने ।
“उनीहरूले लागुऔषध बेचेर र हाम्रा मानिसहरूलाई नष्ट गरेर धन कमाएका छन्, हामीले गत वर्ष तीन लाख मानिसलाई फेन्टानिल र लागु औषधका कारण गुमाएका थियौँ”, ट्रम्पले भने, “यदि मेक्सिकोले कार्टेलहरूसँग मद्दत चाह्यो भने हामी भित्र गएर त्यसो गर्न पाउँदा सम्मानित हुनेछौँ । मैले उनलाई त्यही भनेँ । म भित्र गएर यसो गर्न पाउँदा सम्मानित हुनेछु ।”
ट्रम्पले मेक्सिकोमा भन्सार शुल्क लगाउने तर्कका रूपमा प्रयोग गर्दै मेक्सिकोले आप्रवासी र लागुऔषध, विशेष गरी फेन्टानिल, संयुक्त राज्य अमेरिकामा तस्करी रोक्न पर्याप्त काम नगरेको लामो समयदेखि गुनासो गर्दै आएका छन् ।
उनले अमेरिकाको दक्षिणी छिमेकी ‘पूर्ण रूपमा अपराधिक कार्टेलहरूको प्रभुत्वमा छ जसले हत्या, बलात्कार, यातना दिन्छन्’ भनेर मार्चको सुरुमा मेक्सिकालीहरूलाई क्रोधित बनाएका थिए ।
आइतबार ट्रम्पले सेन बामले गैर–राज्य सशस्त्र समूहहरूबाट प्रतिशोधको धम्कीमा सेनाको आफ्नो प्रस्तावलाई अस्वीकार गरेको दाबी गरे ।
“मेक्सिकोका राष्ट्रपति एउटी प्यारी महिला हुनुहुन्छ तर उहाँ कार्टेलहरूबाट यति डराउनुहुन्छ कि उहाँ सिधै सोच्न पनि सक्नुहुन्न”, ट्रम्पले पत्रकारहरूलाई भने । रासस/सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया