काठमाडौं । पाकिस्तानको नियन्त्रणमा रहेको क्षेत्र (पीओके) र पाकिस्तान भित्रै भारतले गरेको हवाई आक्रमणबारे भारतीय सरकारको उच्च तहले पत्रकार सम्मेलन गरी सार्वजनिक जानकारी दिएको छ। विदेश मन्त्रालयका सचिव विक्रम मिश्री, कर्नेल सोफिया कुरेशी र विङ कमाण्डर व्योमिका सिंहले पत्रकार सम्मेलनको माध्यमबाट उक्त कारबाहीबारे जानकारी दिएका हुन्।
भारतीय समय अनुसार मे ७ को रात १:०५ देखि १:३० सम्म चलेको सैन्य कारबाही ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तानभित्र १०० किलोमिटर भित्र प्रवेश गरी भारतीय वायुसेनाले नौवटा आतंकवादी लुकेका स्थानमा मिसाइल प्रहार गरेको बताइएको छ। जसमा पीओकेमा पाँच र पाकिस्तानमा चार स्थानहरू नष्ट गरिएको छ। प्रेस ब्रिफिङमा प्रस्तुत जानकारी अनुसार, यी स्थानहरू लश्कर-ए-तैयबा जस्ता आतंकी समूहका लन्च प्याड तथा तालिम केन्द्रहरू थिए।
विदेश सचिव विक्रम मिश्रीले उक्त कारबाही हालै अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकी आक्रमणको जवाफमा गरिएको बताएका छन्। उक्त हमलामा २५ भारतीय र १ नेपाली नागरिकको नृशंस हत्या भएको थियो। आक्रमणमा परिवारको अगाडि टाउकोमा गोली हानिएको, त्रास फैलाउने नियतले पीडितहरूलाई उद्देश्यपूर्वक लक्ष्य बनाइएको बताइएको थियो। मिश्रीका अनुसार, सो आक्रमण भारतको पर्यटकीय क्षेत्रमा आतंक फैलाएर सामाजिक अस्थिरता सिर्जना गर्ने रणनीतिक हिस्सा थियो।
पत्रकार सम्मेलनमा अपरेशन सिन्दूर सन्दर्भमा संसद आक्रमण, मुम्बई हमला, पुलवामा विस्फोट लगायत अघिल्ला ठूला आक्रमणका दृश्यसमेत देखाइएको थियो। “यी सबै घटना पाकिस्तानमा आतंकी संगठनहरूलाई सुरक्षित आश्रय दिने संरचनासँग जोडिएका छन्,” मिश्रीले बताए।
भारतले कारबाही गर्नुको मुख्य उद्देश्य पीडित परिवारलाई न्याय दिनु र सीमापार आतंकवादविरुद्ध सन्देश दिनु रहेको जनाएको छ। प्रेस ब्रिफिङमा स्पष्ट पारिएको छ कि कारबाहीको क्रममा आवासीय क्षेत्र र सर्वसाधारणलाई हानी नपुग्ने गरी लक्षित प्रहार गरिएको थियो।
भारतले ‘टीआरएफ’ (The Resistance Front) नामक प्रतिबन्धित आतंकी समूहले आक्रमणको जिम्मा लिएको र यो संगठन लश्कर-ए-तैयबासँग जोडिएको प्रमाणसहित संयुक्त राष्ट्रसंघमा उजागर गरिसकेको उल्लेख गरिएको छ। मिश्रीले भने, “पाकिस्तान आतंककारीहरूको लागि सुरक्षित आश्रयस्थल बनिरहेको छ। साजिद मीरको जीवित फेला परिनुले यसको पुष्टि गर्छ।”
यस आक्रमणलाई भारतले ‘संयमित तर स्पष्ट सन्देश दिने’ प्रयासका रूपमा चित्रित गरेको छ। मिश्रीले भने, “भारतले आफूमा हमला हुने खतरा चिर्दै संयमित र लक्षित जवाफ दिएको हो। यो आक्रोश होइन, अधिकार प्रयोग हो।”
विश्लेषकहरू भन्छन्— यो कारबाहीले भारतले आतंकवादविरुद्ध अब कूटनीतिक बयानभन्दा बढी ठोस कारबाहीमा विश्वास गर्न थालेको संकेत गर्दछ। अब यो हेर्न बाँकी छ कि भारतको यो कारबाहीले क्षेत्रीय शक्ति सन्तुलनमा कस्तो असर पार्छ, र पाकिस्तानको जवाफ के हुन्छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया