असार २४, २०८२ मंगलबार July 8, 2025

संयुक्त जनआन्दोलन समितिले आज आन्दोलनको घोषणा गर्दै

आगामी दिनमा चरणबद्ध रूपमा विरोध कार्यक्रम सञ्चालन गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै गठित संयुक्त जनआन्दोलन समितिले आज (बिहीबार) औपचारिक रूपमा आन्दोलनको घोषणा गर्दैछ। काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दिउँसो १ बजे हुने घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली काँग्रेस (वीपी), शिव सेना नेपाल लगायत हिन्दूवादी धारका ५० बढी संघसंस्थाहरूको सहभागिता रहने बताइएको छ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएअनुसार, उक्त कार्यक्रममार्फत नयाँ संघर्षको घोषणा गरिनेछ। “कार्यक्रममा पार्टी अध्यक्ष कमल थापा सहभागी हुनुहुन्छ,” उनले भने, “भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य छ। आन्दोलन शान्तिपूर्ण हुनेछ।”

समितिले आगामी दिनमा चरणबद्ध रूपमा विरोध कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपाल अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, काँग्रेस (वीपी)का सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायतका नेताहरू घोषणासभामा सहभागी हुने जनाइएको छ।

यसअघि गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरिएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरूको रिहाइको माग पनि समितिको एजेन्डामा रहेको छ। राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी दल र संघसंस्थाहरूले राजसंस्था पुनर्स्थापनासँगै नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणाको माग गर्दै छुट्टाछुट्टै तथा संयुक्त आन्दोलन जारी राखिरहेका छन्।

संयुक्त जनआन्दोलन समितिले आजको घोषणासभापछि आगामी रणनीति सार्वजनिक गर्ने र देशव्यापी जनजागरण अभियानमार्फत मागलाई संस्थागत गर्दै अघि बढ्ने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया