जनकपुरधाम, वैशाख २७ । जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा जारी तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको शनिबार सम्पन्न दुई खेलमा भारतको बिहारका सीतामढी र मुजफ्फरपुर क्रिकेट टिम विजयी भएका छन्।
पहिलो खेलमा भारतको सीतामढीले महोत्तरी क्रिकेट टिमलाई १९.१ ओभरमा पाँच विकेटले पराजित गर्यो। टस जितेर पहिला ब्याटिङ गरेको महोत्तरीले २० ओभरमा ८ विकेटको क्षतिमा १२२ रन बनाएको थियो। जवाफी इनिङमा सीतामढीले १२६ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्यो।
उक्त खेलमा ४५ रन नटआउट र १ विकेट लिएका सीतामढीका प्रियाशु कुमार ‘म्यान अफ दि म्याच’ घोषित भए।
त्यस्तै, दोस्रो खेलमा बिहारकै मुजफ्फरपुरले सप्तरी क्रिकेट टिमलाई एकतरफा खेलमा १० विकेटले पराजित गर्दै सानदार जित हासिल गर्यो। टस जितेर ब्याटिङ गरेको सप्तरीले २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रन बनाएको थियो।
जवाफमा मुजफ्फरपुरले १०.३ ओभरमै बिना विकेट गुमाई ११९ रन बनाउँदै सहज जित दर्ता गर्यो। रवि शर्माले ७२ रनको आक्रामक इनिङ खेलेर म्यान अफ दि म्याच घोषित भए।
मेयर कप प्रतियोगिताअन्तर्गत आइतबार धनुषा र सीतामढी तथा सर्लाही र मुजफ्फरपुरबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टिमलाई २ लाख रुपैयाँसहित ट्रफी र उपविजेतालाई १ लाख २५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया