असार १९, २०८२ बिहिबार July 3, 2025

चौतारो जोगाउन डिपिआर संशोधन

नेपालीको मौलिक पहिचान र संस्कृति बोकेका चौतारा र पाटीपौवा लोप हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवलपुर, जेठ १२ गते । गाउँघरमा कुनै बेला सार्वजनिक स्थलका रूपमा चौतारा, पाटी, पौवा निकै परिचित थिए । पुर्खाले बाटो हिँड्दा थकान मेट्न, गाउँबेँसी गर्दा भारी बिसाउन, गर्मीयाममा आराम गर्न, बटुवाले बास बस्न र पुण्य कमाउन चौतारा निर्माण हुने गरेका थिए । तिनै चौतारामा कचहरी हुन्थे । गाउँघरका मनमुटाव र झैझगडाका मिलाइन्थे । अनि विकास निर्माणका विषयमा छलफल र बहस हुन्थ्यो ।

तर बढ्दो सहरीकरणसँगै गाउँ गाउँमा सडक विस्तार भएपछि नेपालीको मौलिक पहिचान र संस्कृति बोकेका चौतारा र पाटीपौवा लोप हुँदै गएका छन् । पहाडमा समेत चौतारा लोप हुँदै जाँदा तराईमा त झन् निकै कम मात्रामा चौतारा थिए ।

तिनैमध्येको एक हो नवलपुरको गैँडाकोट नगरपालिका–२ को भृकुटी चोकमा रहेको चौतारो । राजा महेन्द्रले पूर्वपश्चिम राजमार्गको शिलान्यास गर्ने क्रममा विसं २०१८ मा स्थानीय डिल्लीराम भुसालको सक्रियतामा बरपिपल रोपेर चौतारो निर्माण गरिएको स्थानीय ६५ वर्षीय हरिप्रसाद सापकोटाले जानकारी दिनुभयो । नारायणगढ–बुटवल सडकखण्ड विस्तार गर्दै जाँदा यो ऐतिहासिक चौतारो हटाउने तयारी थियो तर जनप्रतिनिधि र स्थानीयको पहलमा चौतारो संरक्षण गरिएको छ । चौतारो संरक्षण गर्न सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै संशोधन गरिएको छ ।

यो चौतारो संरक्षण गर्नका लागि आफू छ महिनासम्म विभिन्न स्थानमा धाएको गैँडाकोट–२ का अध्यक्ष प्रकाश सापकोटाले बताउनुभयो । “परम्परागत सम्पदाको संरक्षण गर्नु आवश्यक छ भनेर मैले यो चौतारो जोगाउन जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म धाएँ, चिनियाँ ठेकेदार कम्पनीको अफिसमा गएँ, डिपिआर संशोधन गराउन पहल गरेँ,” वडाध्यक्ष प्रकाश सापकोटाले भन्नुभयो, डिपिआर संशोधन पनि भयो र चौतारो पनि जोगियो ।”

ऐतिहासिक चौतारो संरक्षण गर्नु आफूहरूको कर्तव्य सम्झेर संरक्षणका लागि पहल गरेको अध्यक्ष सापकोटाले बताउनुभयो । यसमा स्थानीयले पनि साथ दिएको उहाँको भनाइ छ ।

नारायणगढ–बुटबल सडकखण्ड विस्तारको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले स्थानीयको मागलाई सम्बोधन गर्न प्रारम्भिक डिपिआर परिवर्तन गर्दै नयाँ डिजाइन तयार पारेको हो । नयाँ डिपिआरमा चार लेन सडकभन्दा माथि स्थानीय लेन निर्माण गर्दै चौतारो सुरक्षित राखिएको सडक विस्तार आयोजनाका सूचना अधिकारी, इन्जिनियर शिव खनालले बताउनुभयो ।

“स्थानीयको माग र जनप्रतिनिधिको सिफारिसका आधारमा मिलेसम्म चौतारालाई पर्याप्त स्थान छाडिएको छ,” खनालले भन्नुभयो, “कम्पनीले नै हेभी वाल निर्माणमार्फत चौतारोको संरक्षण गर्ने योजना बनाएको छ ।” कम्पनीको निर्णयबाट स्थानीय पनि हर्षित छन् ।

नेपालमा झन्डै पाँच हजार वर्षअघिदेखि मृतकका आफन्तले मृतकको सम्झनामा चौतारा र पाटीपौवा निर्माण गर्न थालेको पाइन्छ । बटुवा आएर भारी बिसाउँदा र आराम गर्दा मृतकको आत्माले शान्ति पाउने र स्मरणसमेत हुने भएकाले चौतारामा बरपिपलका बिरुवा रोप्ने चलनसमेत रहिआएको कथन छ । धर्म र संस्कृतिसँग जोडिएका बरपिपल रोप्ने र चौतारा बनाउने चलन पछिल्लो समय भने मासिँदै गएको छ । आजको गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसको कुस्र्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु
२०८२ असार १९, बिहिबार
पोर्चुगलका पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दर्ता
२०८२ असार १९, बिहिबार
हामी सबैको लक्ष्य समृद्ध प्रदेश निर्माण : मुख्यमन्त्री लामा
२०८२ असार १९, बिहिबार
प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन
२०८२ असार १९, बिहिबार
सुदूरपश्चिम प्रदेशः उद्योगमन्त्री चौधरी पदमुक्त
२०८२ असार १९, बिहिबार
आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य
२०८२ असार १९, बिहिबार
विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन
२०८२ असार १९, बिहिबार