असार २४, २०८२ मंगलबार July 8, 2025

गंगानारायण नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठबिच पाँच बुँदे सहमति भएको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गङ्गानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा (माओवादी केन्द्र) मा समायोजन भएको छ । सोमवार ललितपुरको ग्वार्कोमा एक कार्यक्रमबिच श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन भएको हो ।

समायोजन कार्यक्रममा माओवादी केन्द्रका महासचिव देव गुरुङले श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन भएको घोषणा गरे । साथै, उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठबिच पाँच बुँदे सहमति भएको घोषणा गरे ।

उनकाअनुसार पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओवाद हुने र पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरूपको समाजवादी क्रान्तिको हुने सहमति भएको बताए । यस्तै उनले समाजवादी क्रान्तिका लागि परिस्थिति अनुसार सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्बन गरिने र तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने सहमति भएको बताए ।

साथै पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीमा एकरूपताको जनवादी केन्द्रीयता सैद्धान्तिक मान्यताअनुसार पार्टीलाई सञ्चालन गरिने र कतिपय वैचारिक विषयहरूमा महाधिवेशनसम्म पार्टी पङ्तीमा छलफल गर्न सकिने सहमति भएको उनले जानकारी गराए ।

महासचिव गुरुङकाअनुसार श्रेष्ठलाई माओवादी केन्द्रको केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ ।

उनले भने ‘पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओवाद हुनेछ । पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरूपको समाजवादी क्रान्तिको हुनेछ । समाजवादी क्रान्तिका लागि परिस्थितिअनुसार सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्बन गरिनेछ । तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिनेछ । पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीमा एकरूपताको जनवादी केन्द्रीयता सैद्धान्तिक मान्यता अनुसार पार्टीलाई सञ्चालन गरिनेछ । कतिपय वैचारिक विषयहरूमा महाधिवेशनसम्म पार्टी पङ्ती छलफल गर्न सकिनेछ । पार्टी समायोजनको नेतृत्व गरिरहनुभएका गङ्गानारायण श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरूलाई सम्मानजनक रूपमा सङ्गठनात्मक जिम्मेवारीसहितको कार्य विभाजन गरिनेछ ।’

श्रेष्ठसहित १७ केन्द्रीय कार्यकारिणी सदस्य र करिब एक सय जना केन्द्रीय सदस्यहरू माओवादी केन्द्रमा समायोजन भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया