काठमाडौं, जेठ १४ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को अन्तिम चार टिमको समीकरण स्पष्ट भएको छ। मंगलबार राति सम्पन्न लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) बीचको खेलपछि क्वालिफायर र एलिमिनेटरमा स्थान बनाउने टिमहरू टुंगोमा पुगेका हुन्।
लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्दै आरसीबी प्लेअफमा प्रवेश गरेको हो। यस जितसँगै आरसीबी र पञ्जाब किंग्स क्वालिफायर खेल्ने निश्चित भएका छन्। क्वालिफायर विजेता टोली सोझै फाइनलमा पुग्नेछ भने पराजित टिमले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।
लक्ष्य पछ्याउँदै आरसीबीको शानदार प्रदर्शन
लखनउस्थित भारत रत्न श्री अटल विहारी भाजपायी एकाना क्रिकेट स्टेडियममा टस जितेर पहिले फिल्डिङ रोजेको आरसीबीले लखनउले दिएको २२८ रनको विशाल लक्ष्य ८ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो।
आरसीबीका कप्तान जितेश शर्मा विस्फोटक ब्याटिङ गर्दै ३३ बलमा ८ चौका र ६ छक्कासहित अविजित ८५ रन बनाए। त्यस्तै मयंक अग्रवाल ४१ रनमा नटआउट रहे। विराट कोहलीले पनि सशक्त योगदान दिँदै ३० बलमा १० चौकासहित ५४ रन बनाए। फिल साल्टले ३० रनको योगदान दिए।
रिषभ पन्तको शतक बेकार
यसअघि ब्याटिङ गरेको लखनउ सुपर जायन्ट्सले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रनको योगफल तयार पारेको थियो। टोलीका कप्तान रिषभ पन्तले विस्फोटक ब्याटिङ गर्दै ६१ बलमा ११ चौका र ८ छक्कासहित अविजित ११८ रन बनाए। अर्का ओपनर मिचेल मार्सले ६७ रनको योगदान दिए।
तर बलिङतर्फ कमजोर प्रदर्शनका कारण लखनउले उक्त ठूलो स्कोर पनि जोगाउन सकेन। आरसीबीका ब्याट्सम्यानहरू लगातार आक्रामक खेल प्रस्तुत गर्दै लक्ष्य सजिलै भेट्टाए।
प्लेअफ तालिका यस्तो छ
क्वालिफायर १: पञ्जाब किंग्स vs रोयल च्यालेन्जर्स बैंग्लोर
एलिमिनेटर: अन्य दुई प्लेअफ टिमबीच (अहिलेसम्म स्पष्ट विवरण आउन बाँकी)
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया