श्रावण १४, २०८२ बुधबार July 30, 2025

कर्मचारीलाई दोष दिएर गृहमन्त्री उम्कन मिल्दैन : पूर्वसचिव, शारदाप्रसाद (अन्तवार्ता)

कुनै पनि कार्यालयको एउटा अधिकृतले माथिबाट संरक्षण नभई त्यस्तो काम गर्नै सक्दैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

‘भिजिट भिसाको नाममा मानव तस्करी’को विषय अहिले चर्चामा छ । अख्तियारले अध्यागमन विभागमा छापा मारी आवश्यक कागजात नियन्त्रणमा लिनुका साथै अध्यागमन अधिकृतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यस्तो गम्भीर विषय अध्यागमनका कर्मचारीहरूबाट मात्रै हुन सक्छ कि माथिल्लो निकायसम्मै सेटिङ हुन्छ ?

यस्तो काम कर्मचारीले मात्रै कुनै हालतमा गर्न सक्दैन । सबै सेटिङ मिलाउनका लागि विमानस्थलस्थित प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई त्यहाँ लगिएको स्पष्टै देखिन्छ । यदि, त्यस्तो होइन भने, पहिला विवादमा नआएको, इमानदार व्यक्तिलाई त्यहाँ लगिन्थ्यो । विवादित व्यक्तिलाई अध्यागमनमा लगिनुको कारण नै सेटिङ मिलाउन हो । नत्र अध्यागमन सुधार्न सक्ने को छ भन्ने हेरेर लगिन्थ्यो । मन्त्रीले कर्मचारी पठाएको कारण त्यसको मुख्य जिम्मेवार मन्त्री नै हुन्छ । मन्त्रीले कसरी कर्मचारी परिचालन गरेर संवेदनशील निकायहरूमा काम गराइराखेको छ भनेर हेर्ने दायित्व मुख्यसचिव र प्रधानमन्त्रीको पनि हो । विवाद आइरहने ठाउँमा कस्ता व्यक्ति प्रयोग गरिरहेका छन् ? त्यसले सरकारलाई थप विवादमा पार्ने त होइन भनेर प्रधानमन्त्रीले हेर्नुपर्छ । त्यो नहेर्ने भनेको चाहिँ सबै सेटिङमा भएका हुन् भनेर बुझ्नुपर्ने हुन्छ ।

गृहमन्त्री रमेश लेखकले त कर्मचारीले गल्ती गर्दा मन्त्रीले जिम्मा लिनुपर्ने भनेर उल्टै प्रश्न गर्नुभयो । आरोप प्रमाणित भए मन्त्री मात्रै होइन, राजनीतिबाटै राजीनामा दिने बताउनुभयो नि ?

मन्त्रीले आफू मातहतको कर्मचारीले फटाइ गरेको कुरा मैले थाहा पाइनँ भनेर सुख पाउँदैन । अहिलेको सिस्टमअनुसार प्रधानमन्त्री र संसदप्रति मन्त्री उत्तरदायी हुनुपर्छ । मन्त्रीले आफ्नो मन्त्रालयको विषयमा ‘मलाई थाहा भएन, त्यो कर्मचारीले गरेको बदमासी हो’ भन्न पाइँदैन । एउटा इमानदार, लोकतान्त्रिक मन्त्रीले भन्ने के हो भने, त्यो बदमासी मेरो मातहतको कर्मचारीले ग¥यो, त्यसको नैतिक जिम्मेवारी म लिन्छु र राजीनामा दिन्छु । त्यत्रो मानव तस्करीको कुरा आइरहेको छ । कुनै पनि मन्त्रीले त्यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिन मिल्दैन, पाउँदैन ।

नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गर्नेदेखि भिटिज भिसामा तस्करीसम्ममा गृह मन्त्रालयका अधिकारी मुछिए । कानुन कार्यान्वयन गर्नुपर्ने मुख्य निकाय नै यसरी गैरकानुनी काममा लाग्दा देशमा सुशासन कसरी होला ?

त्यही त । योभन्दा घृणित अरू के हुन सक्छ । प्रधानमन्त्री अन्तर्गत राष्ट्रिय अनुसन्धान विभाग पनि छ । जसले हरेक किसिमका सूचना हप्ता÷हप्ता दिनमा त्यहाँको प्रमुखले प्रधानमन्त्रीलाई दिइराखेको हुन्छ । त्यही अध्यागमनमा पनि अनुसन्धानकर्ता खटिएका हुन्छन् । त्यसले के हेरेर बस्यो ? प्रधानमन्त्रीले त्यसको प्रयोग कसरी गर्नुभयो भन्ने पनि प्रश्न छ । त्यसैले त देशका सुशासन कायम हुन सकेको छैन । जताततै भ्रष्टाचार फैलिएको छ ।

भनेपछि भिजिट भिसा प्रकरणमा माथिसम्मै सेटिङ छ ?

अध्यागमनको हाकिमको मात्रै होइन, अन्य कुनै पनि कार्यालयको एउटा अधिकृतले माथिबाट संरक्षण नभई त्यस्तो काम गर्नै सक्दैन । अहिलेको हाम्रो प्रशासनमा मन्त्री वा प्रधानमन्त्रीबाट संरक्षण भएन भने एउटा अधिकृतले यत्रो ठूलो काम गर्नै सक्दैन ।

प्रधानमन्त्री, मन्त्रीहरूको ‘भ्रष्टाचारमा शुन्य सहनशीलता’, ‘सुशासन’ भन्ने चाहिँ हात्तिको देखाउने दाँत मात्रै रहेछ हो ?

त्यो देखाउने मात्रै हो । शुन्य सहनशीलता त सुन्ने अनि उठाइदिने भएको छ अहिले । मेरो मातहत भ्रष्टाचार भइरहेको छ, त्यो म सुनिरहेको छु । त्यो सुन्दा पनि म चुप लागेर बस्न सक्छु । त्यो सहनशीलता हो भन्ने अर्थमा बुझ्नुपर्ने भएको छ ।

अर्कोतर्फ, ‘कुलिङ पिरियड’ हटाउन माग गर्दै नेपाल सरकारका मुख्यसचिव, सचिवहरूले हुल बाँधेर प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरूलाई दबाब दिने दृश्य पनि देखियो । यसले के संकेत गर्छ ?

वास्तवमा ‘कुलिङ पिरियड’ चाहिने विषय चाहिँ होइन । तर, हाम्रो प्रवृत्तिले गर्दा ‘कुलिङ पिरियड’को व्यवस्था गर्न खोजियो अहिले । निजामति प्रशासन, प्रहरी, सेना आदिमा काम गर्दै गरेको एकदम योग्य व्यक्ति छ भने ऊ पदमै भएको बेलामा पनि सरकारले अर्को महत्वपूर्ण काममा लगाउन पाउनुपर्छ । त्यो संसारमा चलिआएको परम्परा नै हो । जस्तो, भारतमा अहिलेका विदेशमन्त्री एस जयशंकर पहिला सचिव थिए । उनलाई सचिवबाट रिटायर्ड हुनासाथ विदेशमन्त्री दिइयो । दुई कार्यकाल उनलाई विश्वास गरेर काम दिइएको छ । तर, कतिपय देशमा चाहिँ सायद हाम्रै जस्तो फटाइ भएर होला ‘कुलिङ पिरियड’ राखेको पाइन्छ । नेपालमा भ्रष्टहरू, फटाहाहरू, नेताका गुलामी गर्नेहरू, अफिसमा काम नगर्नेहरूलाई छानीछानी राजनीतिक नियुक्ति दिइराखिएको अवस्था भएका कारण त्यसलाई नियन्त्रण गर्ने कानुन ल्याउनु परेको हो । हाम्रो प्रवृत्तिसँग त्यो कानुन आवश्यक भइदियो ।

मुख्यसचिव, महासचिव र सचिवहरूले जग हँसाउने गरी खुलमखुला त्यसरी दबाब दिन मिल्छ ?

सबै संवैधानिक निकाय र दुतावास ‘पूर्वकर्मचारी क्लब भए’ भनेर विरोध भइरहेको छ । ‘कुलिङ पिरियड’ निजामति सेवा ऐनमा होइन, सुशासन ऐनमा राख्नुपर्छ । सेना, प्रहरी, शिक्षक÷प्राध्यापक सबैलाई लागू हुने गरी ल्याउनुपर्छ । निजामति सेवामा मात्रै त्यस्तो कानुन हुनु हुँदैन भन्ने भनाइ चाहिँ ठिक हो । त्यसमा मुख्यसचिव, सचिवले भित्रभित्रै कुरा गर्न सक्नुहुन्छ । मुख्यसचिवले प्रधानमन्त्रीसँग, संसदको महासचिवले सभामुख र राष्ट्रिय सभाको अध्यक्षसँग, अरू सचिवले सम्बन्धित मन्त्रीसँग कुरा गर्नुपर्छ । लर्कै लागेर सबैतिर देखिने गरी हिड्ने काम चाहिँ उच्चस्तरमा भएका व्यक्तिका लागि उपयुक्त होइन । त्यसले जग हँसाइ भएको छ । योग्य व्यक्तिले अवसर नपाइ फटाहाले मात्रै अवसर पाउँछ भने त्यसलाई रोक्न ल्याइने कानुनलाई नकारात्मक कानुनी व्यवस्था भनिन्छ । फटाहाहरूले मात्रै अवसर पाए गुनासो ‘कुलिङ पिरियड’को व्यवस्थाले सम्बोधन गर्छ ।

मुख्यसचिवदेखि सचिवसम्मले सामूहिक राजीनामा दिने धम्कीसमेत दिएको समाचारहरू बाहिरिएका छन् । यदि, सामूहिक राजीनामा आयो भने के हुन्छ ?

मुख्यसचिव, सचिवहरूले त्यसकिसिमको घुर्की लगाउन आवश्यक छैन । यदि, सामूहिक राजीनामा दिए भने तुरुन्त स्वीकृत गरिदिए हुन्छ । अरू सहसचिवहरू जान्छन्, काम गर्छन् ।

मन्त्रालयमा भइन्जेल मन्त्री–नेतालाई रिझाउने, त्यसैको ब्याजस्वरुप राजनीतिक नियुक्ति खाने गर्दा संवैधानिक अंक प्रभावकारी भएनन् भन्ने गुनासो पनि सुनिन्छ । तपाईँले कस्तो अनुभूति गर्नुभएको छ ?

संवैधानिक अङ्गहरू प्रभावकारी नभएका मात्रै होइनन्, खत्तमै भए । प्रभावकारिताको त्यहाँ प्रश्न नै छैन । एउटा लोकसेवा आयोग सिस्टममा चल्ने भएकाले त्यहाँ त्यति विवाद आएको छैन । अरू सबै संस्था विवादित छन् । काम गर्न सकेका छैनन् ।

यसबीचमा त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिनाको विषय पनि आयो । तपाईँ पनि केही समय छानबिन समितिमा हुनुहुन्थ्यो । कसरी हिनामिना भएको रहेछ त्रिविको जग्गा ?

त्रिविको जग्गा छानबिन समितिलाई ६ महिनाको समय थियो तर म डेढ महिना जति मात्रै संलग्न भएँ । त्यसपछाडि म बिरामी भएँ । मैले छाडेपछि महेन्द्र थापा छानबिन समितिको संयोजक हुनुभयो । उहाँहरूले छानबिन गरेर प्रतिवेदन बुझाउनुभएको छ । छानबिन समिति कीर्तिपुर र काठमाडौं उपत्यकाका केही कलेजहरूको जग्गाको बारेमा मात्रै सीमित हुनुभयो भन्ने सुनेँ । कतिपय सरकार असहयोगका कारण पनि काम गर्न अप्ठेरो भयो होला । म डेढ महिना बसेर हेर्दा त्रिविको जग्गामा व्यापक मात्रामा दुरुपयोग भएको छ भन्ने सङ्केतहरू हामीले पाइसकेका थियौँ । प्रारम्भिक तथ्यहरू हामीले पाइसकेका थियौँ । त्यसलाई प्रमाणित गर्ने तथ्य उहाँहरूले पछि खोज्नुभयो । तर, के के छ भन्ने कुरा बाहिर आएको छैन । संयोजकबाट बिदा भएपछि उहाँहरूले मलाई सबै भन्ने कुरा पनि हुँदैन । प्रधानमन्त्रीलाई बुझाएको रिपोर्ट, प्रधानमन्त्री तहबाट सार्वजनिक नभइकन उहाँहरूले भन्ने कुरा पनि सायद हुँदैन । त्यही भएर होला केही पनि बाहिर आएको छैन । मैले बुझेसम्म त्यहाँ पनि जग्गा जमिनको साह्रै ठूलो दुरुपयोग भएको छ ।

खासमा कीर्तिपुरमा त्रिविको जग्गा कति हो ?

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको जग्गाको सीमानामा हामीले सुरुको कागजमा के भेटेका थियौँ भने पश्चिमपट्टी कीर्तिपुरबाट कालिमाटी जाने बाटोको पूर्व भनेको छ । त्यतिबेला गाडी चल्दैन थियो । १३ सालदेखि नै त्यहाँ विश्वविद्यालय बनाउनुपर्छ भनेर तत्कालीन राजा त्रिभूवनका दुईटी रानीहरूले आफ्नो जग्गा दिएको हो । अनि बल्खु खोला दक्षिणतर्फ । अहिले रिङरोड त्यही भागबाट बनेको छ । अर्कोतर्फ, बागमतीभन्दा पश्चिम भनिएको छ । कीर्तिपुरबाट झरेको सानो खोल्सोको उत्तर सिमाना भनिएको छ । त्यो चाहिँ ठिकै छ । त्रिविको जग्गाको सीमा पहिला रिङरोडभन्दा पनि बाहिर रहेछ । त्यसमा छानबिन समितिले अध्ययन गरेर मात्रै हुँदैन । अख्तियारजस्ता संस्थाले अनुसन्धान गर्नुपर्छ भन्ने कुरा समितिले प्रतिवेदनमा उल्लेख गरेको मैले बुझेको छु ।

त्यो प्रतिवेदन नै हरायो भन्ने कुरा पनि आयो नि ?

छानबिन समितिले बुझाएको प्रतिवेदन हराए पनि समितिका साथीहरूसँग प्रतिवेदन हुन्छ नै । सरकारले चाह्यो भने त उहाँहरूले उक्त प्रतिवेदन दिइहाल्नुहुन्छ नि ।

त्रिविको त्यही जग्गा प्रकरणले शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुप¥यो । शिक्षक आन्दोलन त बहाना मात्रै हो भन्ने पनि सुनिन्छ । तत्कालीन शिक्षामन्त्री भट्टराईले प्रतिवेदन कार्यान्वयन गर्न खोज्दा प्रधानमन्त्रीले रोकेको त होइन ?

बल्खु खोलादेखि दक्षिण भन्ने बित्तिकै सडक मात्रै होइन, ठूलो सहर नै देखिन्छ । नाम चलेकै नेताहरूको घर पनि छ त्यहाँ । त्यस कारण अहिले कारबाही अघि बढाउन कतिको सम्भव होला ? अर्को त्यहाँ ल्याब स्कुल छ । पहिला त्यो त्रिवि अन्तर्गत नै थियो । बीचमा निजी भयो । अहिले गुठीमा लगेका छन् । गुठीको नियम के रहेछ भने, सञ्चालकहरूले तोकेको व्यक्ति मात्रै पछि त्यसको सञ्चालक हुन सक्छ । त्रिविको नाममा त्यो जग्गा छ । न उसले त्यो जग्गा आफ्नो नाममा ल्याउन सकेको छ । न त त्रिविलाई कुनै शर्तनामा गराएर सञ्चालन छ । न त्रिविको त्यसमा नियन्त्रण नै छ । १०८ रोपनी जग्गा छ त्यहाँ ।

त्यहाँ त्रिवि प्राध्यापक संघ र नेपाल प्राध्यापक संघले जग्गा लिएर भाडामा लगाएर बसेका छन् । उहाँहरूले त्रिविसँग शर्तनामा गरेर अफिस प्रयोजनका लागि कुनै सीमित ठाउँ लिनु स्वाभाविक पनि हुन्थ्यो होला । त्यो पनि छैन । उहाँहरूले जग्गा प्रयोग गरेर भाडामा लगाएर आफ्नो खर्च उठाउने गर्नुभएको छ । त्यो गैरकानुनी हो । त्रिविको नाममा भएको जग्गा सरकारले जता पायो त्यतै वितरण गरेको छ । त्यसमा त्रिविको कुनै संलग्नता छैन । कानुनले दिएको संस्थाको नाममा भएको जग्गा उसको सहमतिविना सरकारले पनि मन्त्रिपरिषद्ले निर्णय गरेर दिन सक्दैन ।

अर्को कीर्तिपुरको क्रिकेट मैदान पनि हो । क्रिकेट मैदान हेर्दा त हामीलाई चाहिने हो तर, त्यो जग्गा लिनमा त्रिविको कुनै सहमति छैन, सरकारले जबरजस्ती गरिदिएको छ । यस्ता धेरैवटा संस्था त्यहाँ खुलेका छन् । सायद छानबिन समितिले लेखेको होला– यो सरकारले नै गलत तरिकाले गरेको छ । सरकारलाई त्यो अधिकार छैन । त्यसरी निर्णय गर्दाको बखतको मन्त्रिपरिषद् नै यसको दोषी भागी हुन्छ ।

त्रिविको जग्गा अन्य निकायलाई भोगचलन गर्न दिने बेलामा कसको नेतृत्वमा सरकार थियो ?

विभिन्न सरकारको पालामा विभिन्न संस्थालाई दिइएको छ । यस्ता कुरा धेरै छन् त्यहाँभित्र । त्रिवि अन्तर्गतका क्याम्पसहरूको जग्गा जमिन पनि हडपिएको छ । विश्वभाषा, सरस्वती, भक्तपुर, ताहाचल क्याम्सपको जग्गा मिचिएको रिपोर्ट हामीले पाएका थियौँ ।

नेपालमा समग्रमा नीतिगत भ्रष्टाचारको अवस्था कस्तो पाउनुभएको छ ?

नेपालको सबभन्दा ठूलो समस्या भ्रष्टाचार हो । त्यसमा पनि नीतिगत भ्रष्टाचार भयावह अवस्थामा छ । नीतिगत निर्णय गर्ने तह वा संयन्त्रबाट हुने निर्णयले भ्रष्टाचारजन्य कार्य भए त्यसलाई नीतिगत भ्रष्टाचार मान्न सकिन्छ । दल सञ्चालनमा पारदर्शिता र उत्तरदायित्व नहुँदा नीतिगत भ्रष्टाचार बढ्दो छ । सुशासन कायम गरी जनआकांक्षा परिपूर्ति गर्ने मुख्य दायित्वबाट राजनीतिक नेतृत्व विमुख भएका कारण नीतिगत भ्रष्टाचार भयावह बन्दै गएको छ । राजनीतिक दलको आर्थिक पक्ष अत्यन्तै अपारदर्शी छ । अधिकांश नेता स्वार्थ समूहका घेरामा रहने र तिनको अवाञ्छित क्रियाकलापबाट प्रभावित हुने भएकाले उनीहरूले निर्णय गर्दा स्वार्थ समूहको चाहना पूरा गर्न ध्यान दिनुपर्ने बाध्यता देखिन्छ । त्यस्ता समूहको प्रभावमा परेर गरिने निर्णय भ्रष्टाचारजन्य कार्य हुन पुग्छ । दृष्टिबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
२०८२ श्रावण १४, बुधबार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई आमरण अनशनमा
२०८२ श्रावण १४, बुधबार