काठमाडौं, १६ जेठ । नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ। शुक्रबार खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बसेको पार्टी पदाधिकारी बैठकले गृहमन्त्री लेखकले नैतिक जिम्मेवारी वहन गर्दै छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो।
पार्टीका सचिव देवेन्द्र पौडेलले पत्रकारहरूलाई जानकारी दिँदै भने, “यो विषयमा सत्य तथ्य सार्वजनिक हुनुपर्छ। त्यसका लागि गृहमन्त्रीले पद छाड्नु आवश्यक छ भन्नेमा हाम्रो पार्टी एकमत छ।”
बैठकले यही जेठ १९ गते मध्यान्ह १२ बजे माओवादी संसदीय दलको कार्यालयमा विज्ञहरूको सहभागितासहित विशेष बैठक बोलाउने निर्णय पनि गरेको छ। सो बैठकमा संसद्मा अवरोधलाई निरन्तरता दिने वा वैकल्पिक मार्ग रोज्ने भन्नेबारे थप राय लिने बताइएको छ।
यद्यपि, माओवादी केन्द्रले बिहीबार संसद्मा बजेट पेस गर्न दिएको थियो। भिजिट भिसा प्रकरणमा छानबिन र जवाफदेहिताको माग राख्दै माओवादी केन्द्र जेठ १३ गतेदेखि विपक्षी दलहरूसँग मिलेर लगातार संसद् अवरुद्ध गर्दै आएको छ।
पार्टी नेतृत्वले संसद् सञ्चालनलाई निष्पक्ष र पारदर्शी बनाउन सत्तापक्षलाई दवाव दिनुपर्ने रणनीति लिएको बताइएको छ। यसैबीच सभामुख देवराज घिमिरेले पनि संसद् अवरोध हटाउन मुख्य सचेतकहरूलाई छलफलमा बोलाइसकेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया