काठमाडौं, जेठ १८ । राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र घोषणासहित संघीयता खारेजीको माग गर्दै आन्दोलनरत राजावादी समूहले आज आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा जनप्रदर्शन गर्ने भएका छन्। ‘संयुक्त जनआन्दोलन समिति’को नेतृत्वमा हुन लागेको प्रदर्शनमा सहभागीहरूलाई आज दिउँसो २ बजे नारायणचौरमा भेला हुन आह्वान गरेका छन्।
राजावादी आन्दोलन जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि औपचारिक रूपमा सुरु भएको हो। आन्दोलनको नेतृत्व गरिरहेका राप्रपा केन्द्रीय सदस्य जनकराज पाठकका अनुसार गणतन्त्रले देशमा राजनीतिक अस्थिरता, विखण्डनको प्रवृत्ति र चरम भ्रष्टाचार जन्माएको कारण अब मुलुकको एकता, स्थायित्व र समृद्धिको विकल्प राजसंस्थाको पुनर्स्थापनामै रहेको बताउँदै आएका छन्।
उनका अनुसार, “देश टुक्र्याउने संघीयता हटाउनु पर्दछ। राजा फर्किनु र हिन्दू राष्ट्र पुनःस्थापित हुनु आजको ऐतिहासिक आवश्यकता हो। हामी कुनै विदेशी एजेन्डामा होइन, नेपाली जनताको भावनाका आधारमा सडकमा उत्रिएका हौं।”
गत केही दिनयता काठमाडौंका विभिन्न स्थानमा निरन्तर प्रदर्शन गर्दै आएका राजावादीहरू शुक्रबार (जेठ १७) बालुवाटारतर्फ जाँदै गर्दा गैह्रीधारामा रोकिएका थिए। त्यसअघि दरबारमार्गमा भेला हुने योजना बनाए पनि सरकारको निषेधाज्ञा घोषणाले उनीहरूलाई मार्ग परिवर्तन गर्न बाध्य बनाएको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरु पनि सक्रिय सहभागी बनेको यस आन्दोलनमा ‘राजा आऊ, देश बचाऊ’, ‘हिन्दू राष्ट्र कायम गर’ लगायतका नारा बोकेका प्लेकार्डसहित सयौं समर्थकको उपस्थिति देखिएको आयोजकको दाबी छ।
संयुक्त जनआन्दोलन समितिका अनुसार आन्दोलनको वर्तमान चरण शान्तिपूर्ण तर जनसहभागितायुक्त दबाबको रूपमा अघि बढाइएको हो। राप्रपा नेता पाठक भन्छन्, “अहिलेसम्मको सहभागिता उत्साहजनक छ। राजधानीबाहिरका जिल्लाबाट पनि उल्लेख्य संख्यामा युवाहरु काठमाडौं आइपुगेका छन्। यो जनलहर हो, जुन अब रोकिँदैन।”
उनका अनुसार नारायणचौरको आजको प्रदर्शनपछि आन्दोलनलाई देशव्यापी विस्तार गर्ने कार्ययोजना अघि बढाइनेछ। “हामी मुलुकका प्रमुख सहरहरूमा पनि आन्दोलनको सशक्त उपस्थिति देखाउनेछौं। हाम्रो आन्दोलन कुनै व्यक्तिविरुद्ध होइन, व्यवस्थाविरुद्ध हो,” पाठकले भने।
यसैबीच, सुरक्षा निकायले प्रदर्शनस्थल आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ। नक्साल क्षेत्र वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालयका अनुसार निषेधित क्षेत्र नाघेर अवाञ्छित गतिविधि गरे कानुनी कारवाही गरिनेछ।
तर जनकराज पाठकले भने आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने बताएका छन्। “हामी राज्यलाई चुनौती दिन सडकमा ननिस्केका हौं। हामी संविधानभित्रै रहेर जनताको भावना अभिव्यक्त गर्न खोजिरहेका छौं। यदि सरकारले आन्दोलनको आवाज सुनेन भने जनदबाबको स्वरूप परिवर्तन गर्न सकिन्छ,” उनले चेतावनी शैलिमा बताए ।
पाठकका अनुसार आन्दोलन जतिसुकै लामो भए पनि “राजसंस्थाको पुनःस्थापना नभएसम्म” रोकिने छैन। देशमा दिन प्रतिदिन बढ्दो जनअसन्तुष्टि, राजनीतिक अस्थिरता र मूल्यवृद्धिले जनता वाक्क भइसकेको उनको तर्क छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया