असार २४, २०८२ मंगलबार July 8, 2025

आधारभूत अस्पताल सञ्चालन गर्न स्रोतको सुनिश्चितता

निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको सङ्ख्या ५७

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ ।  निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी थालेको छ ।

स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरू आगामी साउन महिनाबाटै सञ्चालनका लागि तयारी अघि बढाइएको छ ।

मन्त्रालयले आधारभूत अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी वर्षका लागि करिब रु एक अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरू सञ्चालनमा सहजता आउने जनाएको छ । हालै मन्त्रालयले मापदण्डसमेत अभाव देखिएकाले पाँच, १० तथा १५ शय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पताल सञ्चालनका लागि आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ ।

निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको सङ्ख्या ५७ छ । नयाँ आर्थिक वर्षमासमेत थप यस्ता अस्पताल निर्माणको योजना छ । मापदण्डका आधारमा त्यस्ता अस्पताललाई सङ्घ सरकारले गर्ने जनशक्ति, उपकरण, औषधि तथा रिएजेन्टस लगायतका अत्यावश्यक संशाधनको व्यवस्थापन गर्न मन्त्रालयले कार्ययोजना तयारी अघि बढाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको छ ।कार्यदलले सङ्घ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत प्रष्टता ल्याउन सघाउनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया