श्रावण १४, २०८३ बिहिबार July 30, 2026

तराई मधेशका जिल्लाहरूमा चौठचन्द्र अर्थात चौरचन पर्व मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः तराई मधेशका जिल्लाहरूमा शनिबार चौठचन्द्र अर्थात चौरचन पर्व मनाइँदैछ । उदाउँदो चन्द्रमालाई अर्घ दिएर यो पर्व मनाउन लागिएको हो । विशेष गरी मधेशका जिल्लाहरूमा हिन्दू धर्मावलम्बीहरूले घरघरमा मनाउने गर्छन् ।

यो पर्व गणेश चतुर्थीका दिन साँझ व्रतालुहरूले आ–आफ्ना घरको आँगन तथा कौसीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिएर मनाउने गर्छन् । भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास रहँदैआएको छ ।

यस विषयमा कथामा उल्लेख भएअनुसार चन्द्रमालाई आफ्नो सौन्दर्यमाथि धेरै घमण्ड थियो । उहाँको घमण्डका कारण भगवान गणेशबाट श्रापित भई कलङ्कित भयाे । एकपटक गणेशको सुँड भएको रुप देखेर चन्द्रमा हाँसेर अपमानित गरेपछि उहाँले तिमीलाई जसले हेर्छ, त्यसलाई कलङ्क लाग्नेछ भनी श्रापित भएको कथामा उल्लेख छ ।

चन्द्रमाको अवस्था देखेर ब्रम्हाले श्रापबाट मुक्ति पाउन पूजाको विधि बताउँछन् । सोहीअनुसार चन्द्रमाले गजानन् गणेशको पूजा गरेपछि गणेश प्रसन्न भएर श्रापमुक्त गरिदिनुभयो । गणेशले ‘भदौ महिनाको शुक्ल चतुर्थीका दिन जसले तिमीलाई हेर्नेछ उसलाई कलङ्क लाग्दैन, पापबाट मुक्ति पाउनेछ’ भन्नुभएको थियो । यतिमात्र होइन, भदौ चतुर्थीको चन्द्रमा दर्शन गरेपछि मनोवाञ्छित फलसमेत प्राप्ति हुने गणेशले भन्नुभयो । यसै कारण मधेसका जिल्लाहरूमा यो पर्व विशेष महत्त्व एवम् निष्ठापूर्वक मनाइँदैआएको छ ।

यो पर्व विधिपूर्वक गरेपछि मिथिला नरेशलाई मनोवाञ्छित फल प्राप्त भएको कथन छ । यो पर्वमा व्रतालु महिला दिनभरि निराहार रहेर पुरी, खीर तथा विभिन्न प्रकारका पकवानहरू बनाउने गर्छन् ।

विभिन्न प्रकारका मिठाइहरूका साथै दहीको विशेष अनिवार्यता रहेको छ । यस अतिरिक्त नरिवल, केरालगायत उपलब्ध फलफूलसमेत पूजा सामग्रीको रुपमा राखिन्छ । कुम्हार (कुमाले)द्वारा निर्मित माटाको भाँडोमा दही जमाएर चढाउने यस पर्वको विशिष्टता रहेको छ । पर्व प्रयोजनका लागि दूधलाई राम्रो तताएर छालीसमेत ननिकाली नयाँ वर्तनमा दही जमाइन्छ । नयाँ वर्तनमा जमाइने दही ढिक्काजस्तै हुने गरेकोले यो दही विशिष्ट मानिन्छ ।

चौठीचान बाबाको प्रतीकको रुपमा चन्द्रमालाई अर्घ दिनका लागि व्रतालु महिलाले पुरी तथा खीर बनाउनका लागि प्रयोग गरिने चामल निक्कै सावधानीपूर्वक राख्ने गरिन्छ । कुटानी पिसानीसमेत पवित्रताका साथ गरिन्छ । चौरचनका लागि पुरी बनाउन जाँतोमा चामल पिँधेर पिठो बनाइन्छ । सोही पिठोको पुरी, पेरुकिया, खजुरिया आदि बनाइन्छ ।

चौरचनमा चढाइने प्रसादलाई पशुपन्छीले छोएमा वा जुठो गरिदिएमा अशुभ मानिन्छ । साथै चौरचनका लागि प्रयोग हुने प्रसादलगायत सामग्रीहरू बच्चाहरूले नछोओस् वा मुखमा नलियोस् भनी बडो सावधानी अपनाइन्छ । पूजा सामग्री बच्चा वा पशुपञ्छीले जुठो गरिदिएमा चर्मरोग हुने विश्वास रहेकोले अन्य पर्वहरूको तुलनामा अत्यधिक सावधानी अपनाइन्छ । साथै यो पर्वमा कबुला गरेमा चर्मरोग निको हुनेसमेत जनविश्वास छ ।

यो पर्वको अर्को विशेषता के रहेको छ भने मानवका लागि मात्र नभई पशुका लागि समेत गरिन्छ । परिवारका सम्पूर्ण सदस्य तथा पशुहरूको नामबाट समेत कौरना, छाँछ, मटकुडा, कौरनी आदिमा दही जमाएर चढाउने मान्यता रहँदैआएको छ । पशु चौपायाको नामबाट कौरनी (माटाको वर्तन)मा दही जमाएर चढाइन्छ । सम्पूर्ण सदस्य तथा पशुको नामबाट चौठीचान्दको नामबाट पूजा गरेपछि रोग–व्याधिबाट मुक्ति पाउनुका साथै समृद्धि प्राप्ति हुने जनविश्वास छ ।

साँझको समयमा आँगनमा माटो र गोबरले लिपपोत गरिन्छ । उक्त स्थानमा चामललाई पिँधेर बनाइएको घोल(पिठार)ले अरिपन (चौका) लगाइन्छ । त्यसपछि चौठीचानलाई चढाउनका लागि तयार पारिएको पुरी, खजुरिया, पेरुकीया, खीर, फलफूल, दहीलगायत पकवान तथा मिष्ठान्नहरू सजाएर राखिन्छ । पूजा स्थलमै बस्नका लागि पिँढी वा आसन राखिएको हुन्छ । जसलाई स्थानीय भाषामा ‘मड़र’ भनिन्छ । उक्त पिँढी अर्थात ‘मड़र’मा पूजापश्चात पुरुष बस्ने परम्परा रहेको छ । बस्नका लागि राखिएको पिँढीको अगाडि केराको पातमा प्रसादको रुपमा विभिन्न परिकारहरू चढाइन्छ ।

सूर्यास्तपश्चात साँझ उदाउँदो हँसिया आकारको चन्द्रमालाई सम्पूर्ण सामग्रीको अर्घ दिइन्छ । सम्पूर्ण परिकार तथा पकवानहरू चौठीचान्दलाई समर्पण गरिसकेपछि अन्त्यमा जलढार (जलब चढाएर) गरिन्छ । त्यसपछि परिवार पुरुष ‘मड़र’मा बसेर प्रसाद ग्रहण गर्ने गर्छन् । चौठीचानलाई अर्घपश्चात परिवार अन्य सदस्यहरूसमेत प्रसाद ग्रहण गर्ने गर्छन् । मड़रका लागि पातमा चढाइएको प्रसाद बाँकी रहेमा पातसहित आँगनमै खाल्डो खनेर गाडिन्छ ।

सबेरैदेखि व्रतालु महिला चन्द्रमा उदाउने आशमा बसिरहेकी हुन्छिन् । हँसिया आकारको चन्द्रमा पश्चिम–दक्षिणतर्फ आकाशमा देखिएपछि अर्घ दिइन्छ । कुनै वर्ष कालो बादल लागेर वा पानी परेर चन्द्रमा आकाशमा नदेखेपछि केहीबेर हात जोडेर दर्शन दिन बिन्ती गरिन्छ । यस विषयमा मैथिलीमा यस्तो गीतसमेत चर्चित छ ‘आबऽ हौ चोैठीचान, लपकऽ हौ पुडी‘।’
स्थानीयस्तरमा उपलब्ध सामग्रीको प्रयोगका साथै कुम्हार(कुमाले)को माटाको वर्तनको प्रयोगले जातीय सहिष्णुतालाई जोड्ने काम गरेको छ । यस अतिरिक्त प्रायः पर्वहरू घरपरिवार तथा परिवारजनको सुख–समुद्धिका लागि गरिन्छ तर यो पर्व भने घरमा पालिएका पशुचौपायाका लागि समेत गरिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार
दूरसञ्चार सेवा सुधार र सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचनामा जोड
२०८३ श्रावण १४, बिहिबार
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार