असार १९, २०८२ बिहिबार July 3, 2025

शिक्षामा अदूरदर्शिता, बजेट नहुँदा विद्यालय भवन अधुरा

चार वर्षदेखि अपूरो भवन निर्माण सम्पन्न गर्न बजेट विनियोजन गर्नका लागि बारम्बार अनुरोध गर्दा पनि नगरपालिकाले कुनै चासो देखाएन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवलपुर, असार ५ गते ।नवलपुरको कावासोती नगरपालिका–३ मा रहेको जनविकास विद्याश्रम आधारभूत विद्यालयका विद्यार्थी असारको उखरमाउलो गर्मीमा पनि जीर्ण भवनमा जस्ताको छानामुनि बसेर पठनपाठन गर्न बाध्य छन् । सोही भवनको छेवैमा एउटा अपूरो पक्की भवन छ; जसले बजेट अभावमा विगत चार वर्षदेखि माध्यमिक तहसम्मको शिक्षाको अधिकार लिएर बसेको स्थानीय सरकारको प्रतीक्षा गरिरहेको छ । यो समस्या सो विद्यालयको मात्र होइन, जिल्लाको प्रतीक्षा नगरपालिकाभित्रका ज्ञानोदय माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, नवदुर्गा आधारभूत विद्यालय, बालकल्याण आधारभूत विद्यालयलगायत ११ वटा विद्यालयको हो ।

आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका ११ वटा विद्यालयलाई दुईकोठे भवन निर्माणका लागि १८ लाख रुपियाँ विनियोजन गरिएको थियो । विनियोजित रकमबाट विद्यालयले तोकेको नापनक्सा तथा प्राविधिक लागतबमोजिमको कामसमेत सम्पन्न गरे । विद्यालय भवन निर्माण सम्पन्न गर्न भने त्यति बजेटले पुगेन र भवन अपूरो अवस्थामा खडा भइरहेका छन् ।

जतिबेला भवन निर्माणको काम सुरु गरिएको थियो, त्यतिबेला कक्षा १ मा अध्ययन गर्ने विद्यार्थी अहिले ५ कक्षामा पुगिसकेका छन् । निर्माण सुरु गरिएका विद्यालय भवन पूरा रूपमा ठडिन सकेका छैनन् । कतै पिल्लर मात्र ठडिएका छन् त कतै पर्खाल मात्र लागेका छन्, छत हाल्न सकिएको छैन । अधुरा विद्यालय भवन निर्माण सम्पन्न गराउनतर्फ स्थानीय सरकारले चासो नदिँदा आफ्नो विद्यालयको अपूरो भवनमा झारपात बिरुवा झाँगिँदै गएको कावासोती नगरपालिका–२ मा रहेको नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम डुम्रेले बताउनुभयो । डुम्रेले भन्नुभयो, “बजेट अभावमा निर्माण सम्पन्न हुन नसकेका विद्यालय भवनको निर्माण पूरा गराउने जिम्मा स्थानीय सरकारको हो तर अभिभावकीय निकाय नै शिक्षामा लगानी गर्न चाहन्न ।  शिक्षा क्षेत्रको विकासमा चिन्ता गर्ने र सोच्ने त फुर्सदै छैन ।” नगरपालिकाको शिक्षाको विकासभन्दा पनि बाटोघाटोको ठेक्कापट्टा, नदीजन्य सामग्रीको उत्खननलगायतका विषयमा मात्र छलफल हुने गरेको आरोप उहाँको लगाउनुभयो ।

चार वर्षदेखि अपूरो भवन निर्माण सम्पन्न गर्न बजेट विनियोजन गर्नका लागि बारम्बार अनुरोध गर्दा पनि नगरपालिकाले कुनै चासो नदेखाएको प्रधानाध्यापक डुम्रेले बताउनुभयो । गत वर्ष सार्वजनिक कार्यक्रममा नगरप्रमुख विष्णुप्रसाद भुसालले अपूरा भवन निर्माण सम्पन्न गर्न बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म सो कुरा पूरा हुन सकेको छैन ।

चालु आवमा कुल बजेटको ससर्त अनुदानबाहेक तीन प्रतिशत मात्रै शिक्षामा बजेट विनियोजन गरिएको छ । नगरपालिकाको प्राथमिकता सार्वजनिक शिक्षामा पर्नै नसकेको कावासोती–१२ मा रहेको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “निर्माणका लागि बजेट त आउँदैन । विद्यालय मर्मतका लागि भनेर विनियोजन गरेको रकमसमेत विद्यालयलाई दिन आनाकानी गरी विभिन्न बहानाबाजी गरेर बजेट रोक्न खोजिन्छ ।”  उहाँले विद्यालय मर्मतको बजेट नरोक्न नगरपालिकाका जिम्मेवार व्यक्तिहरूलाई आग्रह पनि गर्नुभयो ।

नगरपालिकाले प्राथमिकता नदिँदा विद्यालय भवनहरू अपूरो अवस्थामा रहेको ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकासँग निरन्तर आग्रह गरिरहेका छौँ तर पालिकाले हुन्छ हुन्छ भन्दै झुलाइरहेको पनि यति लामो समय भइसक्यो । बजेट दिने सुरसार अझै छैन ।”

पालिका भन्छ बजेट छैन

कावासोती नगरपालिकाले भने बजेट अभाव भएकाले विद्यालय भवन पूरा गर्न नसकिएको बताएको छ । झ्याल, ढोका, रङरोगन गर्न एउटा विद्यालयलाई कम्तीमा १० लाख रपियाँ लाग्ने नगरपालिका शिक्षा शाखाका अधिकृत राजन पाण्डेले बताउनुभयो । पाण्डेले भन्नुभयो, “पक्की ढलान गरेर भवन बनाउन १० लाख रुपियाँले पुग्दैन, कि त टिनको छाना लगाउनु पथ्र्यो । तराईको जिल्लामा टिन लगाएको भवनमा विद्यार्थी राख्न गर्मी तथा चिसो मौसमका लागि त्यति उपयुक्त लाग्दैन । त्यसैले स्रोत खोज्दाखोज्दै धेरै समय लाग्न थालेको छ ।”

अहिले भने एउटा गैरसरकारी संस्थाले चासो देखाएको उहाँको भनाइ छ । पाण्डेका अनुसार ‘राइट टु स्टडी’ नामक गैरसरकारी संस्थाले नवदुर्गा र कालिका माविको भवन यो वर्षभित्र बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । तीमध्ये दुई वटा विद्यालयले भने आफैँ स्रोत खोजेर भवन पूरा गरेका अधिकृत पाण्डेले बताउनुभयो । बाँकी भवन प्रदेश सरकारसँग सहयोग मागेर, विद्यालय आफैँलाई स्रोत जुटाउन लगाएर र गैरसरकारी संस्थालाई आग्रह गरेर क्रमैसँग पूरा गरिने नगरपालिकाले जनाएको छ ।

नियमित कार्यक्रमबाट सम्बोधन गर्न नसकिएका सामुदायिक विद्यालयमा सिकाइ सुविधा विस्तार गर्न भौतिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित यो कार्यक्रम लागु गरिएको थियो । आगामी आव २०८२/८३ देखि भने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमका रूपमा सुदृढ गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया