असार १९, २०८२ बिहिबार July 3, 2025

‘असारे विदेश भ्रमण’मा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म

प्रधानमन्त्री स्पेन जानुभन्दा अघिल्लो दिन अर्थात् १५ असारमा खानेपानीमन्त्री प्रदीप यादव स्पेन जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीसहित बहुसंख्यक मन्त्रीहरू असारमा विभिन्न कार्यक्रमका लागि विदेश भ्रमण गर्दै छन् ।

बाढीपहिरो, विपद्का समयमा सरकारले मुलुक र जनताको ज्वलन्त समस्याको समाधान गर्दै पीडितलाई न्याय गर्नुको साटो मन्त्रीहरू यसरी विदेश भ्रमणमा जानुलाई नागरिकमा सरकार जवाफदेही नभएको गुनासो बढ्दै गइरहेको छ ।

गत वर्ष बाढीपहिरो हुँदा र सर्वसाधारणको मृत्यु भएका बेलामा पनि प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहेको र अहिले पनि बाढीपहिरो सुरु हुँदैगर्दा नेपाली जनता पीडामा रहेका बेला पनि प्रधानमन्त्री विदेशमा हुने कार्यक्रम सहभागी हुँदै छन् । गत वर्षकै बाढीपहिरोले क्षति भएको राष्ट्रिय राजमार्ग पुनर्निर्माण हुन सकेको छैन । यस वर्ष पनि अत्यधिक वर्षा हुने र बाढीपहिरोको खतरा रहेकाले सचेत रहन मौसम पूर्वानुमान विज्ञहरूले सूचना दिएका छन् ।

जनता विभिन्न समस्याले चिन्तित र निराश हुँदैगर्दा सरकार त्यसप्रति जवाफदेही नभएको सर्वसाधारणको गुनासो रहेको छ । तर, यो असार महिना मन्त्रीहरूका लागि विदेश भ्रमणकै महिनाका रूपमा रहेको देखिन्छ । प्रधानमन्त्री ओली आजदेखि स्पेनको औपचारिक भ्रमणमा जाँदै छन् । ओली विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ ।

प्रधानमन्त्री स्पेन जानुभन्दा अघिल्लो दिन अर्थात् १५ असारमा खानेपानीमन्त्री प्रदीप यादव स्पेन जाँदै छन् । उनी १९ असारमा नेपाल फर्किने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आजदेखि २९ असारसम्म इटाली र जर्मनीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुँदै छिन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह भोलि १४ असारमा जर्मनीमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदै छन् । यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल आजदेखि १५ असारसम्म टर्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदै छन् ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वीट्जरल्यान्डको जेनेभामा आयोजना हुने कार्यक्रममा सहभागी हुँदै छन् । उनी आगामी २३ देखि २७ असारसम्म जेनेभामा रहनेछन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेल गत ९ असारमा थाइल्यान्डको बैंकक पुगेका छन् । पौडेल शुक्रबार (आज) स्वदेश फर्किने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अहिले चीनमा छन् । १० असारमा चीन पुगेका उनी १२ असारसम्म विभिन्न कार्यक्रममा सहभागी भए । यस्तै, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी ३ र ४ असारमा दुबईको कार्यक्रममा सहभागी भए । यो असार महिना बहुसंख्यक मन्त्री विदेश भ्रमणमै जानुपर्ने बाध्यता रहेको भन्दै आलोचनासमेत भइरहेको छ ।

तर, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसलाई अतिरञ्जित गर्न आवश्यक नभएको भन्दै यसलाई नियमित र आवश्यक स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने बताए । विभिन्न कार्यक्रम र मुलुकको आवश्यकताअनुसार मन्त्रीहरू विदेश जानुपर्ने आवश्यक भएको बताउँदै उनले यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

एमाले नेता गौतमले स्वाभाविक रूपमा लिनुपर्ने बताउँदैगर्दा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले यसलाई अस्वाभाविक र फजुल भ्रमणका रूपमा टिप्पणी गरेका छन् । बाढीपहिरो र विपद्का बेला ‘एलर्ट’ हुनुपर्ने सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीहरूको विदेश भ्रमण असारे भ्रमण मात्रै भएको उनले बताए । यसबाट मुलुक र जनतालाई केही फाइदा नभई राज्यको भार मात्रै बढाउने र जनताप्रति सरकार जवाफदेही नभएको बताए ।

‘प्राकृतिक प्रकोपका बेला सरकार र मन्त्रीहरू एलर्ट हुनुपर्छ, मुलुकको आर्थिक अवस्था बिग्रँदो छ, यस्तो अवस्थामा फजुल खर्च रोक्नुपर्छ, तर मन्त्रीहरू विदेशमै रमाउन खोज्नु भनेको जनताप्रति जवाफदेही नहुनु हो,’ माओवादी केन्द्रका सचिव पौडेलले भने, ‘जानै नपर्ने कार्यक्रममा पनि हुलका हुल जानु ठीक होइन, आर्थिक मितव्ययिताका हिसाबले पनि ठीक होइन, बजेट कार्यान्वयन गर्ने, महत्वपूर्ण कार्य गर्नुपर्ने बेलामा जनताको समस्या नदेखेझैं गरेर विदेश जानु राम्रो होइन ।’

आमजनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मुलुकका लागि फजुल खर्चबाहेक अरू केही नभएको टिप्पणी गरेका छन् । युद्धरत मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन नसक्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरू लावालस्करसहित विदेश जानुको कुनै अर्थ नभएको उनले बताए ।

प्रधानमन्त्रीदेखि र मन्त्रीहरूको विदेश भ्रमणको कुनै उपलब्धि नभएकाले लावालस्कर लागेर यसरी हिँड्नु जनताको करको चरम दुरुपयोग मात्रै भएको उनले बताए ।

पूर्वराजदूत एवं वरिष्ठ कूटनीतिज्ञ प्राडा लोकराज बरालले प्रधानमन्त्री र मन्त्रीहरूले विदेश भ्रमण गर्नै नहुने भन्ने नभएको बताए । सरकार सक्षम र बलियो हुनुपर्ने बताउँदै उनले जनताका समस्या पनि समाधानका लागि सचेत हुनुपर्ने बताए । मन्त्रीहरूको भ्रमण मुलुक र जनताकै हितमा हुनेगरी हुनुपर्ने उनले बताए ।

तर, अर्का राजनीतिक विश्लेषक देवेन्द्र मिश्राले प्रधानमन्त्रीदेखि मन्त्रीहरूको विदेश भ्रमण मुलुक र जनताको ज्वलन्त समस्याबाट भागेर विदेशमा रमाउनका लागि मात्रै भएको टिप्पणी गरे । ‘सरकार जनताप्रति जवाफदेही छैन, जनताको समस्या समाधानका लागि चिन्तित पनि भएको देखिँदैन, विदेश भ्रमणबाट मुलुक र जनतालाई केही पनि फाइदा हुँदैन, कोरम पु¥याउने काम मात्रै हो,’ मिश्राले भने । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया