असार १९, २०८२ बिहिबार July 3, 2025

मधेसका खेतखेतमा विद्युतीय धराप

चार वर्षमा करेन्ट लागेर ३८७ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धान रोपाइँका लागि खेतमा विद्युतीय मोटरमार्फत पानी पठाउन अभिभावकसँगै खेतमा गएका सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनाका रामकरण महतोका छोरा सात वर्षीय लवकुमार महतोको बुधबार दिउँसो करिब १२ बजेतिर करेन्ट लागेर मृत्यु भयो।

खेतमा आफ्ना बाबुसँगै गएका लवकुमारले खेल्दाखेल्दै आलीमा लत्रेको तार छुन पुगेका थिए। सोही क्रममा करेन्ट लागेर उनी खेतमै ढलेका थिए। करेन्ट लागेर ढलेका उनलाई तत्काल बुवासहितका आफन्तले उद्धार गरी गोलबजारस्थित भूमिजा अस्पतालमा उपचारका लागि ल्याएका थिए। उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो।

सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुर टोलका ६२ वर्षीय रामप्रीत पण्डित सधैंझैं सोमबार बिहान धान खेतमा रोपाइँका लागि पानी लगाउन गएका थिए। रोपाइँका लागि खेतमा पानी पर्याप्त थिएन। मोटरबाट खेतमा पानी लगाउँछु भन्दै झिसमिसे बिहानीमै उनी घरदेखि एक किलोमिटर पर खेततिर गए। मोटर चलाउने क्रममा त्यसको तारमा खुट्टा टेक्न पुग्दा करेन्ट लागेर उनी आलीबाट ढलेका थिए। सुनसान चौरमा हारगुहार माग्दामाग्दै उनको प्राण उड्यो।

बिहान एकैछिनमा आइहाल्छु भनेका बुवा अबेरसम्म घर नफर्केपछि छोरा प्रदीप अतालिँदै खेततर्फ दौडिए। नजिक पुग्दा बुवालाई खेतमा ढलेको देखेपछि उनी चिच्याउन थाले। ‘राति लाइन कटेपछि घर फर्किनुभएको थियो। बिहान लाइन आएपछि थोरै बाँकी छ, एकै छिन मोटर चलाएपछि खेतमा पानी पुग्छ भन्दै जानुभएको थियो,’ उनले नागरिकसँग भक्कानिँदै भने, ‘मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर ढल्नुभयो। कहिल्यै नर्फकिने गरी बुवा हामीलाई छाडेर जानुभयो। करेन्ट कहाँबाट कसरी चुहियो थाहै भएन।’

मृतक पण्डितका दुई छोरा प्रदीप र शंकर तथा पत्नी सियादेवी छन्। चार जनाको परिवारको टेको थिए पण्डित। खेतीकिसानीमा उनको परिवार चलेको थियो। खेतीको सम्पूर्ण काम मृतक पण्डितले गर्दै आएका थिए। उनको मृत्युसँगै परिवारमा शोक छाएको छ।

गत असारमा सिरहाको औरही गाउँपालिका–४ कमलपुर टोलका ४८ वर्षीय मल्ला यादवले मोटरबाट खेतमा पानी लगाउने क्रममा बिजुलीको तारमा खुट्टा टेक्न पुग्दा करेन्ट लागेर प्राण त्यागे। भारत मधुवनी जिल्ला पूर्वकमरखोत ग्राम पञ्चायत–५ का स्थायी बासिन्दा यादव कमलपुरस्थित ससुरा धुथर यादवको घरमा बसेर खेतीकिसानीदेखि घरव्यवहार सम्हाल्दै आएका थिए। घरको एक्लो सहारा ज्वाइँको अनाहकमै ज्यान जाँदा धुथरको परिवार बिचल्लीमा परेको छ।

गत असार २२ गते सिरहाको बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी टोलका श्यामसुन्दर यादव धान खेतमा पानी लगाएर आउँछु भनेर घरबाट निस्केका थिए। मोटर जडान गर्ने क्रममा नांगो तारमा छुँदा उनी खेतको आलीमै ढलेका थिए। नजिकैका किसान दौडेर आउँदासम्म यादवले प्राण त्यागिसकेका थिए। गत वैशाख २७ गते धनुषाको बटेश्वर गाउँपालिका–२ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भयो। वन्यजन्तुबाट बालीनाली सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धरापमा परेर महतोको मृत्यु भएको थियो।

मधेस प्रदेशमा विद्युत् प्रयोग गर्दा भएका असावधानी, विद्युत् जडान गर्ने क्रममा विद्युत् प्राधिकरणले गर्ने लापरबाही र हेलचक्र्याइँले अकालमै ज्यान गुमाउने जनसाधारणको संख्या बढ्दो छ। यसमा जनसाधारणको असावधानी नभएको होइन तर यी घटनामा नेपाल विद्युत् प्राधिकरणको लापरबाही पनि उत्तिकै जिम्मेवार पाइएको छ। प्राधिकरण जिम्मेवार भएको मधेस प्रदेशमा गत आर्थिक वर्षमा ३५ घटना रेकर्ड भएका छन्। करेन्ट लागेर मृत्युवरण गरेकामध्ये मधेस प्रदेशका विभिन्न जिल्लाका ३५ जना मृतक परिवारलाई प्राधिकरणले जनही पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो।

चालु आर्थिक वर्षमा तीन वटा मात्र घटना दर्ता भएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश कार्यालयका प्रमुख मनोज यादवले जानकारी दिए। ‘अहिलेसम्म हामीकहाँ तीनवटा घटना दर्ता भएका छन्,’ उनले भने, ‘तीन वटै घटनाका पीडित परिवारलाई जनही पाँच लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएका छौं।’

हामीसँग आएका तीन घटनामध्ये एक जना त विद्युत्को तार नै झरेर मृत्युवरण गरेको पाइएको प्रमुख यादवले बताए। यी घटनाहरूमा प्राधिकरणमा निवेदन दिएकाहरूलाई उपलब्ध गराएको क्षतिपूर्तिबाट घटनामा प्राधिकरण जिम्मेवार रहेको प्रस्ट्याउँछ। प्रमुख यादव आफूहरूको लापरबाहीभन्दा पनि जिम्मेवारी वहन गरेर क्षतिपूर्ति उपलब्ध गराएको जिकिर गर्छन्।

प्राधिकरणको लापरबाहीका कारण भएका घटनामा मृतक परिवारले राहतस्वरूप पाँच लाख क्षतिपूर्ति पाएपछि अन्य घटनामा पीडितले क्षतिपूर्ति पाउँदैनन्। करेन्ट लागेर हुने मृत्युका घटनामा प्रहरीले पीडितबाट भवितव्यको जाहेरी दर्ता गर्दै आएको छ। विद्युतीकरण, ग्रामीण विद्युतीकरण, कृषि विद्युतीकरणजस्ता योजनाले सहरदेखि दूर देहातका घरआँगनमा विद्युत्को उज्यालो आएको छ तर यससँगै आइपरेको अँध्यारो भोग्न बाध्य थुप्रै पात्र छन् मधेसमा।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म मधेस प्रदेशका आठ वटै जिल्लामा करेन्ट लागेर ९७ जनाले ज्यान गुमाइसकेका छन्। त्यसमा ६७ पुरुष, १६ महिला, ११ बालक र तीन बालिका छन्। सबैभन्दा बढी बारा जिल्लामा २० जनाले करेन्ट लागेर ज्यान गुमाएको तथ्यांक छ। पर्सामा सबैभन्दा कम एक जना छन्। रौतहटमा १७, सर्लाहीमा १३, महोत्तरीमा आठ, धुषामा १७, सिरहामा १२ र सप्तरीमा नौ जना करेन्ट लागेर ज्यान गुमाएका छन्।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेशका आठवटै जिल्लामा करेन्ट लागेर ९८ जनाले ज्यान गुमाइसकेका छन्। यसमा ७० पुरुष, २२ महिला र पाँचजना बालक र एक जना बालिका छन्। यस अवधिमा करेन्ट लागेर करिब डेढ सय जना घाइते भएका छन्। आर्थिक वर्ष २०७९/८० मा करेन्ट लागेर यस प्रदेशमा एक सय नौ जनाले ज्यान गुमाएका थिए, जसमा ७२ जना पुरुष, २१ जना महिला र १६ जना बालबालिका छन्। यस अवधिमा एक सय २७ जना घाइते भएका थिए। आर्थिक वर्ष २०७८/७९ मा यस प्रदेशमा करेन्ट लागेर ८३ जनाले ज्यान गुमाएका थिए, जसमा ५१ जना पुरुष, २० जना महिला र १२ जना बालबालिका थिए। यस अवधिमा करेन्ट लागेर एक सय तीन जना घाइते भएका थिए।

मधेसमा भएका अधिकांश घटना मृतकको लापरबाहीकै कारण हुने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ। धेरैजसो स्थानमा विद्युत्का तार तलैसम्म लत्रेको हुन्छ तर प्राधिकरणले व्यवस्थित गर्दैन। स्थानीय तह, प्रशासन, विद्युत् प्राधिकरणलगायत सरोकारवाला निकायबाट विद्युत्बाट कसरी सुरक्षित रहने भन्ने विषयमा अहिलेसम्म ग्रामीण भेगमा कार्यक्रम नगरिएको प्रहरी अधिकारीहरू बताउँछन्।

विद्युत् प्राधिकरण मधेस प्रदेश प्रमुख यादव ग्रामीण तथा सहरी क्षेत्रका किसान र आम सेवाग्राहीलाई विद्युतको उपयोगबारे सचेतना दिनैपर्ने आवश्यकता औंल्याउँछन्। ‘यस कार्यमा हामी सबै चुकेकै हौं,’ उनले नागरिकसँग भने, ‘सबै सरोकारबालाको संयुक्त प्रयासबाट सर्वसाधारणको ज्यान जोगाउनुपर्छ। सबै मिलेर सचेतना फैलाउन सके यो डरलाग्दो ग्राफ कम गर्न सकिन्छ।’

प्राधिकरणको लापरबाही र सेवाग्राहीकै कमजोरीका कारण करेन्ट लागेर सर्वसाधारणको मृत्यु हुने क्रम बढिरहेको छ। अधिकांश घटना चापाकल र खेतमा जडान गरिएको मोटरमा विद्युत् सर्ट हुने गरेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरण मिर्चैया शाखाका प्रमुख मनोज शर्माले खेत हुनेले सिफारिस लिएर आएको खण्डमा खेतमा मिटर जडान गरिदिने बताए। ‘उहाँहरूलाई सचेतनाको पाठ पढाउने, सिकाउने अभ्यास हामीकहाँ छैन,’ उनले भने, ‘अब उहाँहरू मोटरमा तार जोड्दा लापरबाही गर्नुहुन्छ। कसैले हुकिङ गर्दा करेन्ट लागेर ज्यान गुमाउनुहुन्छ।’

त्यस्ता व्यक्तिहरूको रेकर्ड आफूहरूकहाँ नआइपुग्ने उनले बताए। मधेसमा सुक्खा मौसमभन्दा बर्खामा बढी करेन्ट लागेर मृत्युका घटना हुने गरेको पाइन्छ। बर्खामा जमिन पनि भिज्ने हुँदा खतरा बढी हुन्छ।

हुकिङ गरेर मोटर चलाउने, नांगो तार जमिनमा ओछ्याउने, मोटर खुला ठाउँमा राख्ने, तार ओछ्याउँदा काटिएको छ/छैन जाँचपडताल नगर्ने जस्ता कारणले दुर्घटना हुने गरेको प्राधिकरण मधेस प्रदेश प्रमख यादव बताउँछन्। ‘यसमा सबभन्दा बढ्ता प्रभावकारी हुने भनेकै जागरुकता फैलाउनु हो,’ उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधिमार्फत घरघरमा विद्युत्को सुरक्षित प्रयोगबारे जागरुकता फैलाउन सकिन्छ।’

जागरुकता र सावधानी नै दुर्घटना न्यूनीकरणको प्रभावकारी साधन हुने उनको भनाइ छ।

नियम मान्ने हो भने सिँचाइ मिटरका लागि सुरक्षित घर बनाउनैपर्छ, जसमा मोटर, मिटर र अन्य विद्युतीय उपकरण सुरक्षित राख्नुपर्छ तर मधेसमा पूर्ण रूपमा नियम पालना भएको पाइँदैन। नियम पालना गराउने हो भने अधिकांश किसान सिँचाइबाट वञ्चित हुने देखेर व्यावहारिकतामा मिटर वितरण गरिएको प्राधिकरणका अधिकारी बताउँछन्। घरदेखि खेतसम्म विद्युत् फैलिएको छ तर यसको सुरक्षित प्रयोगबारे जानकारी फैलाइएको छैन। सुरक्षित विद्युत् प्रयोगबारे जानकारी व्यापक बनाउनुपर्ने आवश्यकता छ।

खेतीपातीको समयमा विद्युतीय मोटरमार्फत सिँचाइ गर्नेहरूको संख्या बढेसँगै सोको सुरक्षित प्रयोगबारे सचेतना अभावमा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या पनि मधेसमा बढ्दो छ। विद्युतीय मोटरको जडान, तारको व्यवस्थापन उचित ढंगबाट नहुनु, सुरक्षाका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिनु मृत्युवरण गर्नेको संख्या बढ्नुको मुख्य कारण रहेको प्राधिकरण मधेस प्रदेश प्रमुख यादव बताउँछन्।

झन्झटिलो क्षतिपूर्ति प्रणाली

प्राधिकरणको लापरबाहीले मृत्यु भएको खण्डमा पीडितको निवेदन दर्तापछि प्राधिकरणले छानबिन समिति गठन गर्छ। जिल्ला प्रशासन र स्थानीय तहका प्रतिनिधिसहितको समितिले घरमा पुगेर वास्तविक पत्ता लगाउँछ। प्राधिकरणको लापरबाही हो भन्ने यकिन भएपछि मात्र पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था रहेको प्राधिकरण मधेस प्रदेश कार्यालयले जनाएको छ। पोल ढलेर, तार झरेर वा हेलचेक्रयाइँले मानिसको ज्यान गएको अवस्थामा भने प्राधिकरणले क्षतिपूर्ति दिने प्रावधान छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया