असार १९, २०८२ बिहिबार July 3, 2025

एमालेमा पूर्वराष्ट्रपति भण्डारीको पुनरागमन

सदस्यता नवीकरण, ओलीकै सहयोगमा अध्यक्ष बन्ने चाहना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ र सहयोगमै पार्टी अध्यक्ष बन्ने संकेत गरेकी छन्। एमालेको सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्किएको जानकारी दिँदै भण्डारीले एमालेलाई निर्णायक शक्तिका रूपमा विकास गर्न ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको प्रशंसा गरेपछि यस्तो संकेतको आभास भएको हो।

नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रूपमा विकसित एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी नेपाललाई विश्वसामु एक समुन्नत राष्ट्रका रूपमा चिनाउन सक्ने दृढ विश्वासमा रहेकी भण्डारीले ओलीको प्रशंसामा आफ्ना शब्द खर्च गरेपछि आगामी महाधिवेशनमा ओलीकै सहमतिमा भण्डारी अध्यक्ष हुने आकलन गर्न थालिएको छ।

पूर्वराष्ट्रपति भण्डारीले मदन जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको ‘जबजका तीन दशक’ विषयक विचार गोष्ठीमा बोल्दै आफू राजनीतिमा आएको घोषणा गर्नुअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले सम्बोधन गरेका थिए। सम्बोधन सकिएलगत्तै बाहिरिएका ओलीलाई पुर्‍याउन भण्डारी बाहिरसम्म निस्किन्। त्यसबेला उनीहरूबिच केहीबेर अनौपचारिक संवाद भएको थियो। भण्डारीले आफू राजनीतिमा फर्कने उद्घोष गर्न लागेको संकेत गरेकी थिइन्। ओलीले यसलाई आफूले सामान्य रूपमा लिएको बताएका थिए।

ओलीको सम्बोधनपछि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरेका थिए। त्यसक्रममा उनले भण्डारीको जिम्मेवारी पार्टीमा सल्लाहपछि निर्धारण गरिने बताएका थिए। यसले गर्दा भण्डारीको राजनीतिक यात्रालाई अब ओलीले नै अगाडि बढाउनुपर्छ भन्ने आशय उपाध्यक्ष पोखरेलले प्रकट गरेका थिए।

त्यसपछि आफ्नो धारणा राखेकी भण्डारीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको प्रशंसा गरेकी थिइन्। ‘यस संस्थालाई एउटा प्रतिष्ठित सामाजिक संस्थाका रूपमा र पवित्र उद्देश्य लिएको अविचलित अभियानकर्ताका रूपमा विकास गराउन महत्त्वपूर्ण भूमिका खेल्नुहुने जननेता मदन भण्डारीका सहयोद्धा केपी शर्मा ओलीसहित नेकपा एमालेका नेता तथा कार्यकर्ताको योगदानको म सराहना गर्छु,’ सम्बोधनका क्रममा भण्डारीले भनिन्।

नेकपा एमाले र जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तबाट नै देशले हिंसा र अशान्तिको बाटोबाट मुक्ति पाएको दाबी गर्दै उनले अहिलेको आर्थिक समृद्धिको मार्ग र यसको सफलताको आधार मदन भण्डारीको विरासत भएको बताइन्। ‘अहिले नेकपा एमालेका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेपाली जनताको साझा संकल्पका रूपमा रहेको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानलाई सुदृढ पार्न दत्तचित्त बनेर लागिरहनुभएको छ। म यसमा खुसी व्यक्त गर्दै यस अभियानको सफलताका निम्ति शुभकामना दिन चाहन्छु,’ भण्डारीले भनिन्।

उनले यसो भनिरहँदा हलमा उपस्थित नेता–कार्यकर्ताले भण्डारीको प्रशंसा गरेका थिए। भण्डारीको समर्थनमा उनीहरूले नाराबाजीसमेत गरेका थिए। भण्डारीले आफू राजनीतिमा फर्केको उद्घोष गरिरहँदा कार्यक्रम स्थलमा रहेका समर्थकहरूले ताली बजाएर स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले भण्डारीले भन्दा अघि नै सम्बोधन गरेका थिए। त्यसक्रममा ओलीले एमालेलाई कुनै पनि तŒवले विभाजन गर्न नसक्ने उद्घोष गरे। उनले एमालेमा एकता कायम रहेको बताएका थिए। एमालेलाई दिउँसै टर्च बालेर खोज्नुपर्ने बनाइदिन्छु भन्नेहरूको हालत देखिसकिएको उनको भनाइ थियो। उनले आफू फाउन्डेसनको कार्यक्रममा नआउने र भाँड्ने भन्ने समाचारतर्फ लक्षित गर्दै भने, ‘म र विद्या भण्डारी आउने कार्यक्रम भाँडिन्न, आस नगरे हुन्छ ।’

आफू र पूर्वराष्ट्रपति विद्या भण्डारी सहभागी कार्यक्रम कसैले भाँड्न खोजेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले एमाले कार्यकर्ताले त्यस्तो प्रयासलाई सम्भव हुन नदिएको स्पष्ट पारे।

‘म आउने कार्यक्रम भाँडिन्छ? विद्या भण्डारी आउने कार्यक्रम भाँडिन्छ?’ मदन भण्डारीको जन्म जयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले भने। यस्तो विश्लेषण हुनुका पछाडि सञ्चारमाध्यमको पनि भूमिका रहेको उनले बताए। ओलीले मदन जयन्तीको कार्यक्रममा विद्या भण्डारीले बम पड्काउनुहुन्छ भनेर केही मानिसले भ्रम पालेको बताउँदै त्यस्तो भ्रम भ्रममै सीमित हुने बताए।

एमाले आजैदेखि फुट्ने भो भनेर केहीले प्रचार गरिरहेको बताउँदै ओलीले भने, ‘केही हुनेवाला छैन। भ्रम नपाले हुन्छ ।’ त्यसपछि स्पेन प्रस्थान गर्न साँझ ५ बजे विमानस्थल पुग्नुपर्ने भन्दै ओलीले सम्बोधन सकाएका थिए ।

सम्बोधनकै क्रममा ओलीले भण्डारी र उनका समर्थकहरलाई लक्षित गर्दै स्वार्थी समूहलाई पार्टीको महाधिवेशन लागेको पनि बताएका थिए। एमाले अध्यक्ष ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थी तत्त्वहरूलाई महाधिवेशन लागेको भनेर विद्या लक्षित टिप्पणी गरेका थिए। ‘हामी अर्जुनदृष्टिका साथ मिसन २०८४ को अभियानमा छौं। हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो। यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन। हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेको छैन, केही स्वार्थीहरूलाई मात्रै लागेको हो। हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन,’ ओलीले भने। उनले त्यतिबेला यसको हिसाबकिताब हुने भनेर तर्साएका पनि थिए।

भण्डारीको ध्यान विधान महाधिवेशनमा

पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको र सक्रिय राजनीतिमा आएको उद्घोषपछि सबै नेता–कार्यकर्ताको ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको छ। एमालेमा कार्यकारी कमिटीका लागि ७० वर्षे उमेर हद र कार्यकारी पदमा लगातार दुई कार्यकालसम्म मात्र रहन पाउने सीमासम्बन्धी विषय पेचिलो बन्दै गएको छ । एमालेको आसन्न विधान महाधिवेशनमा यिनै दुई विषय बहसको केन्द्रमा हुने देखिएको छ।

मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा भण्डारीले यही विषय उल्लेख नगरे पनि वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी जीवनको लोकतान्त्रीकरण जबजको मुख्य आत्मा भएकाले तलमाथि गर्न नमिल्ने बताएपछि यो पेचिलो रहेको देखिएको हो। ‘दसौं महाधिवेशन र त्यसअघिको विधान अधिवेशनले छलफल गरेर पारित गरेका दस्ताबेज हामीसँगै छन्। महाधिवेशनले पारित गरेको कार्यकाल, उमेरका पनि कुरा छन्, नियन्त्रण र सन्तुलनका कुरा पनि राख्यौं। त्यो कुनै झोंकमा राखिएको थिएन, त्यो सुविचारित ढंगले तीन दशकदेखिको बहसपछि राखिएको थियो। त्यसलाई तलमाथि गर्ने कुरा स्वीकार्य हुँदैन,’ पोखरेलले भने।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले प्रधानमन्त्री ओलीले जबजलाई विकास निर्माणमा मात्र व्याख्या गरेको बताए। जबजको खोजी पार्टीभित्र र आन्तरिक लोकतन्त्रको सन्दर्भमा खोजिनुपर्नेमा उनले जोड दिए। उनले विगतमा ओलीकै नेतृत्वमा एमालेमा लोकतान्त्रीकरणको विचार पारित भएकोसमेत स्मरण गराए। पोखरेलले विधान महाधिवेशनको बेलामा पार्टीको लोकतान्त्रीकरणबारे बोल्न पाउँदैनस् भन्न नमिल्ने बताउँदै पार्टी नेतृत्वबाट आएका अभिव्यक्तिमा समेत असन्तुष्टि जनाए।

लगातार दोस्रो पटक एमाले अध्यक्ष बनेका केपी शर्मा ओलीको उमेर ७० वर्ष कटिसकेको छ। विधानमा रहेको ७० वर्षे उमेर हदको प्रावधान अहिले निलम्बित छ। विधान महाधिवेशनले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था कायमै राखे ओली तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न पाउँदैनन्। तर उनलाई बाटो खुला गर्न विधान संशोधन गरिने अनुमान गरिए पनि भण्डारीको आगमनसँगै यो क्रम बन्द हुने संकेत देखा परेको छ। एमालेको एक पक्षले भण्डारीलाई आगामी महाधिवेशनबाटै पार्टी अध्यक्षमा अघि सार्न खोजिरहेको छ। ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान राख्नुपर्ने पक्षमा उनीहरू छन्। दुईमध्ये एक प्रावधान मात्रै कायम भए पनि ओली अध्यक्ष हुन पाउँदैनन् । ओली भने विधान महाधिवेशनमा उमेर हदको व्यवस्था हटाउने र कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी रहन पाउने प्रावधानप्रति मौन छन्। एमालेले यही भदौ अन्तिम साता विधान महाधिवेश गर्ने मिति तय गरिसकेको छ। त्यसका लागि केन्द्रीय कमिटीको बैठकसमेत बोलाइसकिएको छ। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया