असार २८, २०८२ शनिबार July 12, 2025

विराटनगरमा एक कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः कोरोना भाइरस संक्रमित एक पुरुषको आइतबार रातिनिधन भएको छ। विराटनगरस्थित कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका-८ का एक ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

मृतकका परिवारको एक जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’मा उनको स्वाब भदौ ४ गते बिहीबार परीक्षणका लागि कोसी अस्पतालको प्रयोगशालामा लगेको थियो ।

अवकाश प्राप्त शिक्षक रहेका पुरुषको स्वाब संकलन गरेको चार दिनका दिन आइतबार दिउँसो ३ बजे ‘पोजेटिभ’ रिपोर्ट आयो । दिउँसो पोजेटिभ रिपोर्ट आएका पुरुषलाई स्वास्थ्यमा थप समस्या आएपछि साँझ ६ बजेतिर उपचारका लागि कोभिड अस्पताल लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ।

मृतक पुरुषलाई श्वासप्रश्वासमा एक्कासी समस्या भएपछि अस्पताल लगिएको थियो। ‘उपचारका लागि ल्याउँदा अवस्था गम्भीर बनिसकेको थियो,’ डाक्टर दीपक सिग्देलले भने, ‘धेरै प्रयास गरे पनि बचाउन सकिएन।’

मृतकका परिवारमा दुुई वर्षीया नाबालिकासहित तीन जनामा यसअघि कोरोना संक्रमण पुष्टि भइसकेको छ। मृतककी श्रीमती, २५ वर्षीया बुहारी र दुई वर्षीया नातिनीमा संक्रमण देखिएको हो। स्वास्थ्य अवस्था सामान्य रहेका तीनै जना अहिले ‘होम आइसोलेसन’मा बसेका छन्।

कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा संक्रमितको मृत्यु हुनेको संख्या दुई पुगेको छ। यी दुवै जना मृतक विराटनगर घर भएका हुन्। हालसम्म विराटनगरका ८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया