असार २१, २०८२ शनिबार July 5, 2025

आस्थाको केन्द्र सखडेश्वरी भगवती

शक्रदेव सिंह राजाको नाम अपभ्रंश भएर नै यस ठाउँको नाम सखडा भएको लोक कथन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पू र्वपश्चिम राजमार्गको रूपनीबाट १० किलोमिटर दक्षिणमा राजविराज बजार छ। राजविराजबाट १० किलोमिटर दक्षिणमा प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिर (सखडा भगवती मन्दिर) छ।

प्राचीन एवं भव्य सखडा भगवती मन्दिर हाल छिन्नमस्ता गाउँपालिकामा अवस्थित छ। नेपाली शैलीमा निर्मित यस मन्दिरभित्र दायाँदेखि बायाँसम्म लहरै शिर छोपिएका पाँचवटा मूर्ति छन्। ती मूर्तिलाई भैरवी, चामुण्डा, छिन्नमस्ता, दक्षिणकाली र मर्हिषमर्दिनी भनिन्छ। छिन्नमस्ता भगवतीको शिर काटिएकाले यस भगवतीलाई छिन्नमस्ता भनिएको हो।

इ.स. १३१० मा नेपालको मध्यपूर्वी तराई क्षेत्रको भूभागसमेत गाभिएको तिरहुत राज्य, जसको राजधानी हालको बाराको सिमरौनगढमा पथ्र्यो। त्यहाँका कर्नाटकवंशी राजा नान्यदेवका पाँचौं पुस्ताका राजा शक्रदेव सिंहले आफ्ना छोरा कुमार हरिसिंहदेवलाई राजप्रतिनिधि बनाई आफू जीवनको शेष भाग बिताउनका लागि सप्तरी आई सखडा (हाल भगतवी मन्दिर) रहेको ठाउँमा आफ्नो कुलदेवीका रूपमा भगवतीको स्थापना गरी पूजा गरेर बसेका थिए।

यिनै शक्रदेव सिंह राजाको नाम अपभ्रंश भएर नै यस ठाउँको नाम सखडा भएको लोक कथन छ। यिनै राजाले आफ्ना कुलदेवीका रूपमा शक्रेश्वरीको स्थापना गरेका थिए। जसलाई हाल छिन्नमस्ता भगवतीको नामले पुकारिन्छ। यिनै राजाले यस देवीको स्थापना गरेर मन्दिर निर्माण गरेका थिए।

यस मन्दिरको पुनर्निर्माण भने भारतका तत्कालीन मन्त्री ललितनारायण मिश्रले गरेका थिए। अहिलेको मन्दिरको निर्माण राजा वीरेन्द्रको पहलमा २०४४ सालमा नेपाली शैलीमा गरिएको थियो।

भवानीको शिर काटिएको सम्बन्धमा भनिन्छ, १३८५ सालमा गयासुद्दिन तुगलक र १४०६ सालमा सुल्तान समसुद्दिन मुसलमान समूहले आक्रमण गरी सिम्रौनगढका विभिन्न देवदेवीका मन्दिर तोडफोड गरे। सखडा गाउँको यस भगवतीको मन्दिर पनि तोडफोड गरी मूर्ति त्यहीं नजिकै रहेको पोखरीमा फालिदिए। पछि शिर काटिएको अवस्थाको भगवतीको मूर्ति पोखरीमा नै फेला पारी स्थानीयले शिरविहीन रूपमै मूर्ति स्थापना गरी मन्दिर बनाएको कुरा मधेस आमसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष एवं मैथिली साहित्यकार श्यामसुन्दर यादव बताउँछन्।

भगवतीको पाउको तल राँगो र त्यसको शिरको आकार देखिएको कारणबाटै यिनलाई मर्हिषमर्दिनी पनि भनिएको हो भने यिनको शिर काटिन गएका कारणले छिन्नमस्ता पनि भनिन्छ। साथै यी भगवती सखडा गाउँमा रहेको कारणले सखडेश्वरी या खण्डेश्वरी पनि भनिन्छ भनेर मन्दिरका पीठाधीश महाकान्त ठाकुर बताउँछन्।

पीठाधीश ठाकुरका अनुसार यस मन्दिरमा विजयादशमीमा ठुलो मेला लाग्नुका साथै हजारौं बोका, राँगा, परेवा, कुखुराहरूको बलि पनि दिइन्छ। यहाँको अनौठो कुरा के छ भने यहाँ दिएका बलिको रगतमा झिँगा आदि किरा बसेको पाइँदैन। त्यसैले यी देवीलाई साक्षात् देवी मानी भक्तजनहरूले पूजाअर्चना गर्छन्। पहिला यस मन्दिरमा तान्त्रिक विधिअनुसार पूजा गरिन्थ्यो भने हाल आएर हिन्दु परम्पराअनुरूप नै पूजाअर्चना गर्ने चलन छ।

पछिल्लो समय सप्तरीको छिन्नमस्ता भगवती मन्दिर पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित सो स्थानमा बिहानदेखि रातिसम्म भिड लागेको हुन्छ। नेपालीहरू मात्रै नभई भारतीयहरू पनि ठुलो संख्यामा त्यहाँ पूजा गर्न गर्छन्।

राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठुलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता प्रमुख शक्तिपीठमध्ये एक हो। अन्य बेलामा समेत भिड लाग्ने यस मन्दिरमा बडा दसैंको समयमा ठुलो उत्सव नै हुने गरेको मन्दिरका पीठाधीश ठाकुरले बताए। उनका अनुसार यस मन्दिरमा भाकल पूरा भएपछि खसी र बोका चढाउने परम्परा छ।

प्यागोडा शैलीमा निर्मित यो मन्दिरमा आसीन भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी र सखडा माता भनेर पूजाअर्चना तथा भाकल गरिन्छ। सखडेश्वरीको मस्तक अर्थात् शिर नभएका कारण भक्तजनले यी भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गरिने साहित्यकार यादवले बताए।

ऐतिहासिक पक्ष

तत्कालीन राजा शक्रसिंह आफ्ना भाइ भारदारको दबाबका कारण छोरा कुमार हरिसिंह देवलाई राजकाज सुम्पेर बाँकी जीवन बिताउन सप्तरीको सखडा क्षेत्रमा गएका थिए। त्यतिबेला सो क्षेत्र घना जंगलले भरिएको थियो। राजा शक्र सिंहलाई भगवतीले सपनामा आएर भनिन्, ‘तिमी जुन स्थानमा बसिरहेका छौ, त्यहाँ त्रिशूल गाडिएको भेटिनेछ र त्यहाँ अरू मूर्ति पनि छेउछाउमा पाउनेछौ। ती मूूर्तिको पूजाआजा गरेर बस, तिम्रो भलो हुनेछ।’

राजा शक्र सिंहले देवी भगवतीले सपनामा दिएको निर्देशनअनुसार त्रिशूल गाडिएको क्षेत्रमा माताको मूर्ति, जलाशय अर्थात् हालको शान्ति सागरको किनारमा मूर्तिहरू फेला पारेको किंवदन्ती छ। सोही स्थानमा भगवतीको मूर्ति स्थापना गरेर पूजाआजा गर्न थालेको छिन्नमस्ता सखडेश्वरीका महन्त ठाकुरले बताए।

बलि प्रदान गर्दा निस्केको रगतमा झिँगा नबस्ने, रगत लुगामा लागे पनि दाग नलाग्ने, पोखरीको पानीमा रगत मिसिँदा रातो नहुने, बलि प्रदान गर्ने नाममा राखिएका बोकालाई केही नहुने, बलिका लागि बोका किन्नुअघि कुकुर वा स्यालले टोकेको छ भने मन्दिर पुग्दा नपुग्दै बाटोमै मर्ने यस मन्दिरका विशेषता भएको पुजारीहरू बताउँछन्। उनका अनुसार बलि प्रदान गरेको खसीबाट निस्केको रगत सोही पोखरीमा नबगाएमा अनिष्ट हुने, जुठो वा अपवित्र पूजा सामग्री चढाउन नहुनेजस्ता जनविश्वास र आस्था छन्।

एघारौं शताब्दीको अन्त्यतिर भारतको कलकत्ताका शासक गयासुद्दिन तुगलकको मुसलमानी समूहले सप्तकोशी किनारको बाटो हुँदै सखडा पीठ पनि ध्वस्त गर्‍यो। मन्दिर ध्वस्त गर्ने क्रममा उनीहरूले त्यहाँका मूर्तिहरू तोडफोड गरी जलाशयमा फ्याँकिदिए। मन्दिरको मूर्ति तोडफोड गरेर अगाडि बढ्ने क्रममा सखडादेखि १५ किमि पश्चिम–उत्तरस्थित सप्तरीकै मानराजा गाविसको गढीका मूर्तिहरूसमेत तोडफोड गरे।

सोही आक्रमणपछि सखडा क्षेत्र पुनः जंगलमा परिणत भएको अनुमान गरिन्छ। मन्दिरको पूर्वपट्टि घना झाडी थियो, जसलाई अहिले पञ्चमुखी नागबाटिका र केवलावन भनेर चिनिन्छ। यस स्थानमा समय समयमा पञ्चमुखी नागदेवताले दर्शन दिने गरेको स्थानीय भक्तजनहरू बताउँछन्।

मन्दिर र मूर्तिको ऐतिहासिक कुरा गर्दा करिब एक सय २५ वर्षअघि सखडाको भगवती मन्दिर भग्नाशेष अवस्थामा थियो। जसलाई स्थानीय च्याखुरी नानिर चुनीलाल ठाकुरले सफा गरी भिक्षाटनबाट सङ्कलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए। सो मन्दिर १९९० सालको भूकम्पमा फेरि भत्किन पुग्यो। त्यस बेलाका मन्दिरका पुजारी अनिरुद्ध ठाकुरले चन्दा सङ्कलन गरी ग्रामीण समाजको सहयोगले टिनको छाना भएको मन्दिर बनाए।

२०२८ सालमा जीर्ण मन्दिरलाई तत्कालीन भारतीय रेलमन्त्री ललितनारायण मिश्रको सहयोगमा पक्की मन्दिर भवनका साथै तीनकोठे धर्मशाला पनि बनाइयो। त्यसपछि २०४४ सालमा तत्कालीन राजा वीरेन्द्र भगवतीको दर्शनार्थ जाँदा पाँच लाख रूपैयाँ चन्दा दिए। सो रकमबाट तत्कालीन सगरमाथा अञ्चलका अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले भगवतीको प्यागोडा शैलीको भव्य र सुन्दर मन्दिरको निर्माण गराएका हुन्।

मन्दिरभित्र मूल देवीका रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ। उक्त मूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुंगामा कुँदिएको छ। मूल मूर्तिको देब्रेपट्टि दक्षिणकाली, महर्षमर्दिनी, दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति छ। ती मूर्तिलाई पञ्चभगिनी पनि भनिन्छ।

पूजा समितिले वर्षका चारवटै नवरात्रमा ५६ प्रकारका परिकार बनाई मध्यरातमा पूजा गर्दै आएको छ। पूजा गर्दा केही बिघ्नबाधा उत्पन्न हुन थालेपछि भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिएको छ।

१९८४ मा सप्तरीको तिलाठी निवासी ज्योतिषी यदुनन्दन मिश्रले अष्टधातुले बनेको एउटा घन्टी सखडा मन्दिरमा चढाएका थिए। उक्त घन्टीमा शक्रेश्वरी एकपटक र महिषमर्दिनी दुई पटक लेखिएको छ। यसबाट स्पष्ट हुन्छ कि शक्रसिंहले आफ्ना इष्टदेवी भगवती स्थापना गरेका थिए। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार