श्रावण १०, २०८३ आइतबार July 26, 2026

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

यसरी खरिद गर्दा सहकारीले किसानलाई बजार भाउभन्दा प्रतिक्विन्टल रु तीन सय बढी मूल्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टीकापुर, (कैलाली) । करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी गाउँपालिका–४ मुनुवास्थित बिजवृद्धि कृषि सहकारीले यस वर्ष सय हेक्टरमा धानको बीउखेती गरेको छ । सहकारीमा आबद्ध जानकी गाउँपालिकाका वडा नं ४ र ७ का करिब सय बढी किसानले धानको बीउखेती गरेका छन् ।

उत्पादनका दृष्टिकोणले उर्वर जमिन र सिँचाइको राम्रो प्रबन्ध भएका कारण किसान धान बीउ उत्पादनमा लागेका हुन् । गत वर्ष सहकारीले तीन हजार ५०० क्विन्टल धानको बीउ उत्पादन गरेको थियो । यसैगरी गहुँ तीन हजार क्विन्टल, तोरी ६० क्विन्टल र मकैको बीउ १२ क्विन्टल किसानबाट खरिद गरिएको सहकारीले जनाएको छ ।

यसरी खरिद गर्दा सहकारीले किसानलाई बजार भाउभन्दा प्रतिक्विन्टल रु तीन सय बढी मूल्य दिने गरेको छ । सुरुमा ४५ जना किसानबाट सुरु गरिएको सहकारीले पछिल्लो समय बीउ उत्पादनमा ठूलो योगदान दिँदै आएको छ । यहाँ उत्पादन भएको बीउ कैलालीका विभिन्न पालिकामा बिक्री हुने गरेको छ । यसबाहेक बर्दिया, बाँके, सुर्खेत, दाङ, कञ्चनपुर, दैलेख, सर्लाही, सप्तरी, सिराहाका किसानले लैजाने गरेका छन् ।

एकपटक बीउ लैजाने किसानले अर्कोपटक खोजीखोजी आउने गरेको सहकारीका पूर्वअध्यक्ष कमलबहादुर कठरियाले बताउनुभयो । “सुुरुआतको दिनमा बीउ उत्पादनमा धेरैलाई चासो थिएन, अहिले धेरै किसान बीउ उत्पादनमा लागेका छन्”, उहाँले भन्नुभयो, “हामीले बीउ उत्पादन गर्दा मेहेनत गरयौँ, अहिले बीउको माग धेरै छ ।”

रानी जमरा कुलरिया सिँचाइ आयोजना आएपछि कृषि कार्यक्रममार्फत सहकारीलाई ठूलो सहयोग भएको भन्दै कठरियाले बीउ गे्रडिङ र भण्डारणको समस्या छैन भन्नुभयो । सहकारीले गत वर्ष सय हेक्टरमा धान बीउखेती गरेको थियो भने एक सय १५ हेक्टरमा गहुँको बीउ उत्पादन गरेको थियो । दश हेक्टरमा तोरीको बीउ, दुई हेक्टरमा मकै र करिब एक हेक्टरमा मसुरोको बीउखेती गरिएको थियो ।

विसं २०५७ बाट समूहमार्फत तरकारी खेती गर्दै आएको समूहलाई २०६२ सालमा सहकारीमा विस्तार गरी बीउ उत्पादन थालेको हो । किसानको सक्रियताले विभिन्न सङ्घसंस्थाको सहयोगमा बीउ उत्पादनमा लागेको सहकारीलाई रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले ठूलो साथ दियो । सहकारीका विजय बडायकले स्थानीय जातका बीउ प्रयोग गर्दै आएका किसानलाई उत्पादन बढी लिन फाइदा होस् भनी सहकारीमार्फत बीउ उत्पादन थालेको बताउनुभयो ।

सहकारीका व्यवस्थापक गोविन्दराज रावतका अनुसार सहकारीसँग हाल चास सय आठ मेट्रिक टन भण्डारण क्षमताका गोदाम रहेको छ । सहकारीले धेरै बालीका बीउ उत्पादन गर्दै आएको र विभिन्न जिल्लामा पठाउने गरिएको छ । सहकारीको सहयोगमा यहाँका किसानले धान, गहुँ, मकै, मसुरो, तोरी, मासलगायत बालीका बीउ उत्पादन गर्ने गरेका छन् । सिँचाइ आयोजनाले भण्डारण भवन, विभिन्न मेसिन र ग्रेडिङ मेसिन उपलब्ध गराएपछि सहयोग भएको छ ।

किसान लविता कठरियाले तीन बिघा जमिनमा धान तथा गहुँको बीउ उत्पादन गर्दै आउनुभएको बताउनुभयो । विगतमा खेती गर्दा खासै उत्पादन नलिने किसानले सहकारीमै बीउ र मल पाउनुका साथै सहकारीले नै उत्पादन किनिदिने भएपछि खेती गर्न हौसला मिलेको उहाँको भनाइ छ ।

विगतमा मुनुवाका किसान घरकै भकारीमा भण्डारण गरिएको बीउ प्रयोग गर्थे भने कतिपय किसान बीउका लागि अन्यत्र भौतारिन बाध्य थिए । गाउँमै ग्रेडिङ गरिएको गुणस्तरीय बीउ पाउन थालेपछि उनीहरूको सहकारीप्रति आकर्षण बढ्दै गएको छ । उसो सहकारीले आफ्ना सदस्यलाई बीउलगायत अन्य सहुलियत दिँदै आएको छ ।

सहकारीको सदस्य बन्न बीउ उत्पादन गर्ने किसान हुनैपर्ने नियम छ । पैतालीस जना किसानले सुरु गरेको मुनुवा बिजवृद्धि सहकारीमा हाल एक सय नौ जना सेयरसदस्य छन् । सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि उत्पादन वृद्धिका लागि किसान तथा सहकारीलाई सघाइरहेको छ ।

आयोजनाका प्रमुख भरत कँडेलले मुनुवा बिजवृद्धि कृषि सहकारी संस्था बीउ उत्पादनमा अग्रणी संस्थाका रूपमा काम गरिरहेको र आयोजनाको यस्ता संस्थालाई सधैँ साथ रहने बताउनुभयो । “सहकारीले बीउ उत्पादनमा खेलेको भूमिका सराहनीय छ, बिजवृद्धिमा राम्रो काम गरेको छ”, उहाँले भन्नुभयो, “समयअनुसार किसानलाई अझै आधुनिकीकरण बनाउनमा हाम्रो प्रयास हुन्छ । हामीले सहकारीमार्फत किसानलाई लाभ होस् भनी सहकारीलाई आवश्यक प्रविधि, भण्डारणका लागि भवन निर्माणमा सघाएका छौंँ, यो सहयोग निरन्तर हुन्छ ।”

सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइको सहयोगमा टीकापुर र जानकीका दर्जनबढी सहकारीले बीउ उत्पादनको काम गरिरहेका छन् । किसानले उत्पादन गरेको बीउ सहकारीमार्फत बिक्री वितरण गर्ने गरिएको छ । बीजवृद्धिले बीउ उत्पादनमा सफलता पाएपछि यस क्षेत्रका अन्य सहकारीले पनि बीउ उत्पादनमा चासो दिन थालेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान
२०८३ श्रावण १०, आइतबार
मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
२०८३ श्रावण १०, आइतबार
बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
२०८३ श्रावण १०, आइतबार
पार्टी एकता सहमतिउन्मुख : सभापति थापा
२०८३ श्रावण १०, आइतबार
एपिएफ स्कूलका लेखा अधिकृत गुरुङ र व्यवसायी लामा न्यायिक हिरासतमा
२०८३ श्रावण १०, आइतबार
प्रश्नपत्र चुहावटः यसरी सम्भव भयो २४ घण्टाभित्रै आरोपित पक्राउ
२०८३ श्रावण १०, आइतबार
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
२०८३ श्रावण १०, आइतबार