जलेश्वर, २२ असारः मुस्लिम समुदायले आज महोत्तरीसहित तराई–मधेसका जिल्लाका गाउँगाउँमा ताजिया (घरेलु हात हतियारसहित गरिने नाचगान) खेलेर मोहर्रम पर्व मनाइरहेका छन् ।
मुस्लिम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीहरुले प्रत्येक वर्ष बनाउँदै मनाउँदै आएका छन् ।
यस अवसरमा महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–६ स्थित खैरा चोकमा एक विशेष प्रकारको मेला लाग्ने गर्दछ । मेलामा जलेश्वर नगरपालिकाका १२ वटै वडाबाट ताजिया लिएर युवा, वयस्क, महिला र वृद्धवृद्धा जम्मा हुनेछन् । यहाँ आज जलेश्वर बाहिरका पनि दर्जन बढी ताजिया जम्मा हुनेछन् भने उनीहरुका ताजियालाई एकआपसमा मिलन गराई मोहर्रम पर्व मनाउने कार्यक्रम रहेको जलेश्वर नगरपालिका–६ का जिवछ मोमिनले जानकारी दिनुभयो ।
महर्रमका अवसमा मुस्लिम समुदायका युवा तथा वयस्क ताजियाको चारैतिर विभिन्न घरेलु हतियार (फर्सा, तरबार, लठ्ठी) लगायत लिएर खेल, तामासा गर्ने र हजरत इमाम हुसैन तथा हजरत इमाम हसनको नाउँमा नारा जुलुस गर्ने चलन रहेको जलेश्वर नगरपालिका–८ का रसिद राइनले बताउनुभयो ।
यस्तै, मुस्लिम महिला तथा युवतीले नयाँनयाँ वस्त्र र आभूषण लगाएर विभिन्न गाउँटोलबाट ताजिया जम्मा हुने र अबेर साँझसम्म गीत तथा नाच गर्ने परम्परा रहेको जलेश्वर–१२ कि मुस्लिम महिला रजिया खातुनले बताउनुभयो ।
महोत्तरीको जलेश्वरसहित आज गौशाला, औरही, मटिहानी, पिपरा, लोहारपट्टी, सम्सी, सोनमालगायत १५ वटै पालिकामा मोहर्रम पर्वका अवसरमा विभिन्न खेल, तामासा र ताजिया खेलिन्छ भने तराई–मधेसका सबैजसो जिल्लामा मुस्लिम समुदायले विभिन्न कार्यक्रमसहित मोहर्रम पर्व मनाउँछन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया