असार २४, २०८२ मंगलबार July 8, 2025

जनाधार जोगाउन नसके २०८४ को चुनावमा कांग्रेस कमजोर हुने डा. महतको दाबी

पार्टीभित्र आन्तरिक विवाद, कमजोर सदस्यता व्यवस्थापन र प्रदेश संरचनामा तत्काल सुधार गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसको जनाधार खस्किँदै गएकोप्रति प्रवक्ता डा. प्रकाशशरण महतले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

पार्टीको केन्द्रीय समितिको बैठकमा सोमबार बोल्दै डा. महतले कांग्रेसको ऐतिहासिक परम्परा, धर्म, संस्कृति र मूल विचारमा आधारित मतदाता वर्ग संरक्षण गर्न नसके आगामी २०८४ को निर्वाचनमा पार्टी कमजोर हुने स्पष्ट संकेत दिएका हुन्।

“हाम्रो पार्टी पुरानो भए पनि जनविश्वास घट्दै छ,” उनले भने, “नयाँ पार्टीहरूको उदय, सामाजिक सञ्जालमा बढ्दो आन्तरिक आक्रमण र जनतामा देखिएको असन्तोषले कांग्रेसको परम्परागत जनाधार कमजोर बन्दै गएको छ।”

उनले कांग्रेसको धार्मिक र सांस्कृतिक मूल्य–मान्यता स्पष्ट गर्न आवश्यक रहेको बताउँदै पार्टीको “राइट टु द सेन्टर” पहिचानलाई बलियो बनाउनु पर्नेमा जोड दिए। “हामी हिन्दू, बौद्ध, किराँत तथा प्रकृति पुजक जनताको प्रतिनिधि हौं,” भन्दै उनले कम्युनिस्ट पार्टीहरू जस्तो धर्म अस्वीकार गर्ने बाटो कांग्रेसले लिनु नहुने बताए।

बैठकमा महतले सक्रिय सदस्यता व्यवस्थापनमा पनि गम्भीर त्रुटि देखिएको उल्लेख गरे। उनका अनुसार परम्परागत नेताहरूको हितका लागि घर–परिवारका सदस्यलाई मात्र प्राथमिकता दिइएको छ, जसका कारण “साँचो कार्यकर्ता छुटिरहेका छन्।”

डा. महतले महिला संगठनलाई गाउँस्तरसम्म सशक्त बनाउनुपर्नेमा पनि जोड दिए। “गाउँघरमा महिला नै प्रमुख शक्ति हुन्,” भन्दै उनले महिला नेतृत्वको विकासमार्फत कांग्रेसको वास्तविक जनाधार निर्माण गर्न सकिने बताए।

सरकारमा रहेका कांग्रेस मन्त्रीहरूको कार्यसम्पादनबारे उनले भने, “हाम्रा मन्त्रीहरूको प्रदर्शन अरू दलका भन्दा उत्कृष्ट देखिनुपर्छ, तबमात्र जनतामा कांग्रेसको पहिचान बलियो हुन्छ।”

त्यस्तै, प्रदेश सरकारको सन्दर्भमा उनले नेतृत्वको कमजोरी रहेको उल्लेख गर्दै “सिनियर नेताको अभाव र अराजकता” का कारण प्रदेश संरचनाप्रति जनविश्वास गुम्ने खतरा रहेको चेतावनी पनि दिए।

अन्तमा, महतले पार्टीको सांगठनिक संरचना, कार्यशैली तथा आर्थिक अनुशासनमा “व्यापक सुधार” आवश्यक रहेको सुझाव दिए। उनले कांग्रेसलाई जनताको विश्वास पुनः जित्ने गरी पुनर्संरचना गर्न अब ढिलो गर्न नहुने बताए।- मछिन्द्र आचार्य

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया